
देशान्तर विशेष संवाददाता
काठमाडौं । डेढ महिना लामो केन्द्रीय कार्यसमितिको बैठक पटक–पटक स्थगित गरेर सर्वत्र आलोचना खेपेर आगामी पुसको २६–२८ को १५ औं केन्द्रीय महाधिवेशन फागुन २१ को चुनाव अगावै गर्ने गरी अविश्वासिलो तालिकासहित भएको निर्णयलाई विशेष महाधिवेशन पक्षधरले संशयले दृष्टिले स्वीकारेको अवस्थामा पार्टीका प्रवक्ताले नै यो महाधिवेशन अहिलेको तालिकामा हुने सम्भावना छैन भनेर सार्वजनिकरुपमै बोलेपछि पुनः कांग्रेसमा यो विषयलाई लिएर विवाद बल्झिने सम्भावना बढेको छ । अत्याधिक चिसो हुने पुसको अन्तमा हिमाली र पहाडी जिल्लामा १ दिनको अन्तरमा अधिवेशन सम्पन्न हुने कुरामा सबैले शंका गरेका छन् भने सबै तहमा सर्वसम्मत प्रतिनिधि चयन भएमा हुन सक्छ भन्नेहरुको पनि कांग्रेसमा कमी छैन । त्यसैले ‘टाइट सेड्युल’ विशेष महाधिवेशन रोक्नलाई संस्थापन पक्षले ल्याएको र सबै पक्ष आफ्नो अडानलाई देखाउन सहमत भएको अर्थमा पनि कांग्रेस भित्र लिइएको चर्चा छ ।
सात दशकको इतिहास बोकेको दलको यो महत्वपूर्ण महाधिवेशनको मिति घोषणाले ‘सच्चिने अवसर’ को ढोका खोलेको दाबी गरिए पनि, सँगसँगै केन्द्रीय समितिको समयावधि माघ मसान्तसम्म थप गर्ने निर्णयले विशेष महाधिवेशन पक्षधर नेता तथा कार्यकर्ताहरूमा गहिरो शङ्का र अविश्वास पैदा गरेको छ । ‘महाधिवेशन पुसमै गर्ने तर, केन्द्रीय समितिसहित सबै पार्टी कमिटीहरुको म्याद माघ मसान्तसम्म किन थपियो ? यसले थप सशंकित बनाएको छ ।’ एक विशेष महाधिवेशन पक्षधर कांग्रेसका नेताले देशान्तरलाई बताए । यस्तै, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नै पुसमा महाधिवेशन हुन नसक्ने अभिव्यक्ति दिएपछि यसलाई संस्थापन पक्षबाट फेरि जालझेल हुने धेरैले बुझेका छन् ।
महाधिवेशन कार्यतालिकामा समावेश गरिएको अधिवेशनमा समयको ग्यापबारे महामन्त्री थापाले समेत केन्द्रीय समितिको बैठकमा लिखित अतिरिक्त प्रस्तावमार्फत प्रश्न उठाएर महाधिवेशन तोकेकै समयमा हुने शंका व्यक्त गरेका छन् । उनले लिखित अतिरिक्त प्रस्तावमा नियमित महाधिवेशन जुनसुकै हालतमा हुनुपर्नेमा जोड दिंदै यदि कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वतः विशेष महाधिवेशन हुने उल्लेख गरेका छन् । ‘कथम्कदाचित पुस महिनाभित्र कार्यतालिकाबमोजिम १५औँ अधिवेशन कुनै कारण वा नियतले नहुने देखिन आएमा हामीले पुसको अन्तसम्म कुरिराख्नु पर्दैन, पुस महिनाको उपयुक्त समयमै निर्णय गरेर विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्दछ, उनले प्रस्तावमा लेखेका छन् ।
गत सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यही मङ्सिर २३ गते समयावधि सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्यादसमेत दुई महिना थप गर्ने निर्णय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार यही मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिनेछ । मङ्सिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फाराम पठाइनेछ ।
आगामी पुस १५ गतेभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गरी पुस १६ गते गाउँ/नगर वडा अधिवेशन, पुस १७ गते गाउँ/नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २२ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २३ र २४ गते सातै प्रदेश अधिवेशनका गरिने तालिकामा उल्लेख छ ।
महाधिवेशनबारे शंका उपशंका व्याप्त रहेकै अवस्थामा आगामी नेतृत्वका लागि कांग्रेसमा दौडधूप शुरु भईसकेको छ । वर्तमान सभापति शेरबहादुर देउवाले अब महाधिवेशन उठन नपाउने वैधानिक प्रावधान भएकाले आफ्नो उत्तराधिकारी चयन गर्न गृहकार्य जारी राखेकै अवस्थामा भावी नेतृत्वका लागि संस्थापन र इतर पक्षको दौड शुरु भएको छ । कांग्रेस महामन्त्री गगन थापाले आफू १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार भएको घोषणा गरिसकेका छन् । उनले हिजो पनि सर्लाहीको सदरमुकाम मलंगवामा पत्रकारहरुसँग कुराकानी गर्दै आफू नयाँ नीति र नयाँ सन्देशका साथ सभापतिमा उठ्ने र चाँडै नै देश दौडाहामा निस्कने बताए । १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा लडेर हारेका डा. शेखर कोइराला पनि सभापति उठ्न केही महिना अगाडिदेखि नै देश दौडाहा गरिरहेका छन् ।
विशेष पक्षधरको खबरदारी
पार्टीको महाधिवेशन चुनावपछि कि चुनावअघि भन्ने विषयमा लामो समयसम्मको विवादपछि गत सोमबारको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको नियमित महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने सर्वसम्मत निर्णय गरे पनि विशेष महाधिवेशन पक्षधरहरुले अझै थुप्रै आशंकाहरु कायम रहेको दावी गर्दै महाधिवेशन सुनिश्चितताका लागि निरन्तर खबरदारी गरिरहेका छन् । नियमित महाधिवेशनको मिति घोषणा भएको अवस्थामा कुनै पनि वहानामा महाधिवेशन सार्ने वा टार्ने खेल भए स्वीकार्य नहुने चेतावनी उनीहरुले दिएका छन् ।
उनीहरुले बैठक लम्ब्याउँदै डेढ महिना खेर फालेर गरिएको घोषणा विशेष महाधिवेशनको माग निस्तेज पार्न गरिएको त होइन ? भन्ने आशंका गरेका छन् । पुस २६–२८ को महाधिवेशन मितिपूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्यतालिका प्रथम दृष्टिमै अव्यावहारिक र अवैज्ञानिक देखिएको निष्कर्ष निकाल्दै विशेष महाधिवेशन पक्षधरले तोकिएको समयमा नियमित नभए विशेष महाधिवेशन हुने प्रष्ट अडान समेत दोहो¥याएका छन् ।
‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ । त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि वहाना वा अवस्थामा अधिवेशनका शृंखलाहरू अवरुद्ध गरिएमा वा भएमा असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधानबमोजिम पूर्णरूपमा कार्यान्वयन योग्य छ’, अपिलमा उल्लेख छ । कांग्रेसका झण्डै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको पक्षमा असोज २९ गते नै हस्ताक्षर बुझाएका छन् । कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गरेमा ३ महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रावधान रहेको छ ।
कांग्रेसमा नयाँ क्रियाशील अभियान
पार्टीको १४ औं महाधिवेशनमा शतप्रतिशत क्रियाशील सदस्यता थप गरेको कांग्रेसले १५ औं महाधिवेशनका लागि बढीभन्दा बढी क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गर्दै १८ बर्षदेखि ३० बर्षसम्म उमेरका युवाहरुलाई प्रमुख प्राथमिकता दिंदै क्रियाशील सदस्यता वितरण अभियान शुरु गरेको छ । प्रतिनिधिसभाको क्षेत्रलाई केन्द्रले १४ औं महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम उपलब्ध गराएको छ ।
केन्द्रीय कार्यसमिति बैठकबाट पारित भएको कार्यतालिकाअनुसार मंसिर २० भित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिएकोे छ ।
प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि मंसिर २४ सम्म निर्धारण गरिएको छ ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पुस ८ भित्र नयाँ क्रियाशील सदस्यताको काम सम्पन्न गरिसक्नुपर्ने निर्णय कांग्रेसले गरेको छ ।
पारित कार्यतालिकाअनुसार एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरेर पुस १० भित्र केन्द्रमा पठाउने अवधि तोकिएको छ ।
यस्तै दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरेर ११ पुसभित्र जिल्ला र केन्द्रमा पठाउने अवधि तोकिएको छ ।
कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी निर्णय गर्ने र निर्णयअनुसारको सूची प्रकाशित गरेर केन्द्रमा पठाउनेपर्ने अवधि पुस १२ सम्म तोकेको छ ।
पुस १४भित्र प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबनि समितिमा क्रियाशील सदस्यता नयाँ र नवीकरणसम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गरी सदस्यताको नयाँ र नवीकरणको अनितम सूची तयार गरेर केन्द्रीय सभापति÷कार्यवाहक सभापतिलाई बुझाउने अवधि निर्धारण भएको छ ।
केन्द्रीय कार्यालयले केन्द्रीय सभापति÷कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अन्तिम अवधि पुस १४ तोकिएको छ ।
क्रियाशील सदस्यता वितरणमा कांग्रेसले वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिम, अल्पसंख्यक, अपाङ्गताको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक÷समावेशी प्रतिनिधित्वलाई ध्यान दिने पनि निर्णय गरेको छ ।
नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिएर वितरण गर्नुपर्ने र समाजमा विभिन्न पेशागत वुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने कांग्रेसको निर्णयमा उल्लेख छ ।
कांग्रेसले सदस्यहरूको संख्या वृद्धिका लागि निर्वाचनको समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न भएका व्यक्तिहरू, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तक्र्रिया लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक र अन्य रचनात्मक कार्यक्रममा सक्रियतापूर्वक सहभागी भएका र पार्टी वा भ्रातृ संगठनको माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा सक्रियलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक प्रबन्ध गरेको छ ।
राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रुपमा पार्टीको क्रियाशील सदस्यता उपलब्ध गराउने लक्ष्य कांग्रेसको छ ।
कांग्रेसको उम्मेदवार छान्ने उचित मापदण्ड
नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड बनाउँदै पार्टीका प्रदेश, जिल्ला, क्षेत्रीय कार्यसमितिहरुमा परिपत्र गरेको छ । गत सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मातहतका कार्यालयलाई गरेको परिपत्रमा उम्मेदवार बन्न १० सर्त पालना गर्नुपर्ने उल्लेख छ । परिपत्रमा कुनै पनि प्रकृतिका विसंगतिमा दोषी ठहर भएका व्यक्तिहरुलाई उम्मेदवार सिफारिस नगर्न भनिएको छ ।
परिपत्रको बुँदा नम्बर ३ मा ‘उम्मेदवारको नाम सिफारिस गर्दा अनिवार्य रूपमा विशेष ध्यान दिनुपर्ने थप विषयहरू’ शीर्षकमा राखिएको शर्तको पहिलो नम्बरमा ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्ने,’ उल्लेख गरिएको छ ।
विधानको त्यो धारामा उम्मेदवार हुन चाहिने योग्यता सम्बन्धी विषय उल्लेख छ । उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख छ तर, कुनै राजनीतिक दल नेपाली कांग्रेसमा समाहित वा एकीकरण भएकोमा वा अन्य राजनीतिक दलमा काम गरी नेपाली कांग्रेसमा प्रवेश गरेको व्यक्तिको हकमा केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुने उल्लेख छ ।
त्यस्तै कांग्रेसद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलनमा सक्रिय रूपले भाग लिएको, निर्वाचनमा कांग्रेसका उम्मेदवारको पक्षमा सक्रियतापूर्वक काम गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको, समाजमा विकास निर्माण, रचनात्मक तथा सामाजिक कार्यमा क्रियाशील रहेको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने पनि विधानमा उल्लेख छ ।
कांग्रेसले परिपत्रको दोस्रो बुँदामा जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार नबनाउने बताएको छ ।
२०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन नपाउने पनि परिपत्रमा उल्लेख गरिएको छ ।
परिपत्रमा चौथो सर्तका रूपमा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख गरिएको छ । तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न नपाउने पनि परिपत्रमा लेखिएको छ । प्रत्येक सिटका लागि ३÷३ जनाको नाम सिफारिस गर्न परिपत्रमार्फत मातहतका कार्यालयलाई निर्देशन दिइएको छ ।
यस्तै परिपत्रमा प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागिमात्र सिफारिस गर्न भनिएको छ ।
प्रतिनिधि सभा सदस्य पदको उम्मेवारका लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपि पेस गर्नु पर्नेसमेत परिपत्रमा उल्लेख छ । कांग्रेसले परिपत्रमा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख गरेको छ ।
यसअघि पार्टीको सिफारिसमा विभिन्न जिम्मेवारीमा पुगेका र जिम्मेवारीमा पुगेबापत पार्टीलाई लेवी नबुझाएकालाई उम्मेदवार नबनाउने पनि परिपत्रमा कांग्रेसले उल्लेख गरेको छ । परिपत्रमा भनिएको छ–‘पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरुले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।’









Facebook Comments