काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार पार्टी नेतृत्वलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्।

गुरूङले आफ्नो राजीनामा गगन थापासमक्ष पेस गरेका छन्। उनी २०७८ फागुन ९ गते ६ महिनाका लागि तरुण दलको अध्यक्षमा मनोनीत भएका थिए।

ad

राजीनामासम्बन्धी पत्रमा गुरूङले संगठनको भावी यात्रालाई सहज बनाउन आफूले पद त्याग गर्ने निर्णय लिएको उल्लेख गरेका छन्। उनले आफ्नो नेतृत्वमा गठन भएको केन्द्रीय समितिले तोकिएको समयसीमाभित्र पाँचौं महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि पछिल्लो राजनीतिक परिस्थितिका कारण प्रक्रिया अघि बढाउन कठिन भएको बताएका छन्।

उनले देशको बदलिँदो राजनीतिक सन्दर्भमा संगठनलाई थप प्रभावकारी र गतिशील बनाउने आवश्यकता औंल्याउँदै नयाँ नेतृत्वमार्फत संगठनलाई पार्टीको सिद्धान्त र योजनाअनुसार अघि बढाउन मार्ग प्रशस्त गर्न खोजेको जनाएका छन्।

गुरूङले लोकतन्त्र सुदृढीकरण र पार्टी सुदृढीकरणका लागि तरुण दललाई अझ सक्षम बनाउने जिम्मेवारी वर्तमान परिस्थितिले माग गरेको निष्कर्षसमेत आफ्नो पत्रमा व्यक्त गरेका छन्।