
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेले निवर्तमान गृहमन्त्रीसुधन गुरुङमाथि छिट्टै छानबिन प्रक्रिया अघि बढ्ने बताएका छन्।
बुधबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले सरकारले ल्याएका अध्यादेशहरू सुधारमुखी उद्देश्यका साथ सिफारिस गरिएको स्पष्ट पारे। उनका अनुसार ती अध्यादेश कसैलाई लक्षित गरेर नभई जनअपेक्षा सम्बोधन र प्रणाली सुधारका लागि ल्याइएका हुन्।
उनले विगतमा भएको दलीयकरण र विवादास्पद नियुक्तिलाई सच्याउँदै योग्य व्यक्तिलाई अवसर दिने लक्ष्यसहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अघि बढाइएको बताए। जनताले दिएको जनादेशअनुसार छिटो काम गर्नुपर्ने दबाबका कारण पनि सरकारले अध्यादेशमार्फत प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ।
लामिछानेले जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती व्यवस्थापनबारे सरकार संवेदनशील रहेको उल्लेख गर्दै सुकुम्बासीलाई विस्थापित गर्दा घरबारविहीन नबनाइने बताए। प्रभावित नागरिकको उचित पुनर्स्थापनाको जिम्मेवारी सरकारले लिने उनले स्पष्ट पारे।
साथै, रास्वपाले सार्वजनिक गरेको १०० दिने कार्ययोजना अनुसार प्रतिबद्धता कार्यान्वयनतर्फ काम भइरहेको जानकारी दिँदै उनले सरकार जनअपेक्षा पूरा गर्न केन्द्रित रहेको बताएका छन्।










Facebook Comments