धरान । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पार्टीको मूल राजनीतिक दर्शन ‘हर्कवाद’ भएको औपचारिक घोषणा गरेका छन् ।

मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत साम्पाङले पार्टीको अवधारणापत्र र एजेन्डा सार्वजनिक गर्दै प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्र मानव समाज उन्नत, सुरक्षित र दीगो बन्न सक्ने बताए । उनका अनुसार कुनै पनि समाजमा देखिने अभाव, गरिबी, विभेद र द्वन्द्वको मूल समाधान 'अनिवार्य श्रम र श्रमदान' हो, र यही दर्शन ‘हर्कवाद’को केन्द्रबिन्दु हो ।

ad

अध्यक्ष साम्पाङले विकास र समृद्धिको आधार श्रम नै रहेको बताउँदै शक्ति, पहुँच र पैसाको आडमा हुने असमान विकास वितरण अन्त्य गर्न श्रम–केन्द्रित राष्ट्र निर्माण आवश्यक भएको ठहर गरे । उनका अनुसार श्रममा आधारित विकास नै न्यायपूर्ण र टिकाउ हुने भएकाले सबै नागरिकलाई अनिवार्य रूपमा श्रमदानमा जोडिनुपर्नेछ । उनले भने, 'श्रमबाट मात्र अभाव र गरिबीको अन्त्य सम्भव छ । यही सिद्धान्तले मात्र द्वन्द्व, अन्याय र असमानता हटाउन सक्छ । यही ‘हर्कवाद’ हो ।'

पार्टीले शासन व्यवस्थामा ठूलो संरचनागत परिवर्तनको प्रस्ताव अघि सारेको छ, जसअनुसार नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति व्यवस्था लागू हुनुपर्ने बताइएको छ । राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र एउटै व्यक्ति २ कार्यकालभन्दा बढी पुनःनिर्वाचित हुन नपाउने व्यवस्था घोषणापत्रमा समावेश गरिएको छ । राजनीतिक स्थिरता र कार्यकारी क्षमताको वृद्धि गर्न यस्तो व्यवस्था आवश्यक रहेको साम्पाङको तर्क छ ।

व्यवस्थापिका संरचनामा पनि पार्टीले नयाँ मोडेल प्रस्ताव गरेको छ । संघीय तहमा दुई सदन रहने—राष्ट्रिय सभा सबै प्रदेशको समान प्रतिनिधित्वसहित हुने र प्रतिनिधि सभा जनसंख्याका आधारमा पूर्ण समानुपातिक प्रणालीमा गठन हुने बताइएको छ । प्रदेशमा भने एक सदनात्मक विधायिकी संरचना रहने पार्टीको धारणा छ ।

साम्पाङले काठमाडौं–केन्द्रित वा ठूला सहरी क्षेत्रमा मात्र विकास केन्द्रित हुने प्रवृत्तिलाई अन्त्य गरी गाउँ–केन्द्रित विकास मोडेल अपनाउनुपर्नेमा जोड दिए । प्रत्येक नागरिक श्रमदानमार्फत स्थानीय विकासमा प्रत्यक्ष रूपमा सहभागी हुने व्यवस्था गर्दा विकासको स्वामित्व जनताकै हातमा रहने र भ्रष्टाचार, राजनीतिक प्रभाव तथा पहुँचका कारण विकास असमान नहुने उनको तर्क छ । जनशक्ति, विशेष गरी जेन–जीलाई उत्पादन, निर्माण र आविष्कारमा लगाउनुपर्ने उनले उल्लेख गरे ।

शिक्षा क्षेत्रमा पनि श्रम संस्कृति पार्टीले ठूलो परिवर्तनको प्रस्ताव अघि सारेको छ । जीवनपयोगी सीप–आधारित शिक्षा अनिवार्य गर्ने, हप्तामा तीन दिन मात्र कक्षा सञ्चालन गर्ने, किताबको संख्या र पाठ्यभार घटाउने जस्ता उपायले विद्यार्थीलाई व्यवहारिक ज्ञानमा उन्मुख गराउने साम्पाङको भनाइ छ । शिक्षा–व्यवस्था पुस्तकमुखी होइन, सीप र जीवन उपयोगितामुखी हुनुपर्ने पार्टीको धारणा छ ।

अर्थतन्त्रका विषयमा साम्पाङले निर्वाहमुखी अर्थतन्त्रभन्दा निर्यातमुखी मोडेललाई प्राथमिकता दिनुपर्नेतर्फ ध्यान दिए । आर्थिक विकासलाई केन्द्रमा राखेर मात्र भौतिक विकास योजना तयार गर्ने, पाँच वर्षमा विकासको गति स्पष्ट देखिने र दस वर्षमा लक्ष्य प्राप्त हुने राष्ट्रिय कार्यक्रम लागू गर्ने पार्टीको योजना सार्वजनिक गरिएको छ । उनका अनुसार प्राकृतिक स्रोतसाधन, श्रमशक्ति र स्थानीय उत्पादन क्षमताको अधिकतम प्रयोग गरी नेपाललाई निर्यातमुखी अर्थतन्त्रतर्फ लैजान सकिन्छ ।

साम्पाङका अनुसार हर्कवादको उद्देश्य केवल राजनीतिक परिवर्तन होइन, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा न्यायपूर्ण र श्रम–केन्द्रित राष्ट्र निर्माण हो । श्रम, प्रकृति, प्रविधि र संस्कृतिको संयोजनले मात्र दीगो, समान र स्वतन्त्र समाज निर्माण हुन्छ भन्ने विश्वास उनले व्यक्त गरे । पार्टीद्वारा सार्वजनिक गरिएको अवधारणापत्रले देशमा विद्यमान असमानता, पहुँचवादी विकास, पुस्तामाथिको शिक्षा–दवाव, आयातनिर्भर अर्थतन्त्र र विकासको असन्तुलित संरचनालाई सम्बोधन गर्ने दाबी गरेको छ ।