काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट पार्टी गठन गरेर आफूलाई कम्युनिस्ट राजनीतिमा शक्ति–केन्द्रका रूपमा उभ्याउन खोजिरहेका छन्। उनले गत मंसिरमा विभिन्न १० कम्युनिस्ट घटकहरूलाई एकतामा ल्याएर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए। जसको संयोजक स्वयं प्रचण्ड बने। 

यो एकताले कम्युनिस्ट संगठनलाई एक सशक्त रूप दिएको छ। यसले अर्को ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले) लाई समेत चुनौती दिएको छ। विशेषतः जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक परिस्थले नेपालका कम्युनिस्ट नेताहरूलाई प्रतिस्पर्धाको मैदानमा उभ्याएको छ। यही प्रतिस्पर्धाको केन्द्रमा फेरि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नै पुगेका छन्।

ad

प्रचण्ड र ओलीका आ–आफ्नै योजना

भदौ २३ र २४ का जेनजी आन्दोलनले मुलुकको शासकीय नेतृत्वमा नयाँ पुस्ता, सुशासन र पारदर्शिताको माग उठायो। आन्दोलनले ओली र प्रचण्डजस्ता ‘टेस्टेड’ नेताहरूको बहिर्गमन नै चाहेको संदेश दिएको थियो। तर आन्दोलनकै समयमा सत्ता बाहिर रहेका प्रचण्डलाई भने आफू अझै विकल्प बन्न सक्ने आत्मविश्वास मिलेको छ। उता ओली भने जेनजी आन्दोलनले आफूलाई ठूलो असर नपारेको सन्देश दिँदै राजनीतिक भूमिकालाई निरन्तरता दिन खोजिरहेका छन्। त्यसैले उनी आन्दोलनलाई त्यति गम्भीर रूपमा नलिएको देखिन्छ।

ओली पुनः पार्टी र सत्ताको नेतृत्वमा फर्किन खोजिरहेका छन्। यही कारण दुवै नेता युवापुस्ताको समर्थन जुटाएर नेतृत्वमा पुनरागमन गर्न लागिपरेका छन्। प्रचण्डले शनिबार मात्रै जेनजी समूहलाई पार्टीमा समावेश गराए—नेपाली कम्युनिस्ट पार्टीले एकैदिन एक हजारभन्दा धेरै जेनजी युवालाई प्रवेश गराएको दाबी छ। सो अवसरमा प्रचण्डले आगामी दिनमा पार्टीमा जेनजीको सहभागिता अझ बढाउने घोषणा गरे।

उता एमाले अध्यक्ष ओली पनि युवापुस्तालाई आकर्षित गर्ने रणनीतिमा छन्। आन्दोलनलाई षड्यन्त्र भने पनि उनले युवाको सक्रियता बढाउने उद्देश्यले ‘नेशनल भोलिन्टियर फोर्स’ घोषणा गरिसकेका छन्। मुख्यतः यो बललाई पार्टीको संगठनात्मक सुरक्षा र परिचालनका लागि प्रयोग गर्ने उनको संकेत बुझिन्छ।

यति हुँदा हुँदै दुवै नेतामाथि ‘अब राजनीतिक बिदा लिनुपर्छ’ भन्ने दवाव बढ्दो छ। तर दुवैले जबरजस्ती नेतृत्वमा टिकिरहन खोज्दा शक्ति सञ्चयको प्रतिस्पर्धा झनै तीव्र भएको छ। अर्को महत्वपूर्ण भिन्नता भनेको—दुवैले आगामी निर्वाचनबारे लिएको अडान हो। ओली संसद् विघटन असंवैधानिक भएको दाबी गर्दै निर्वाचनमा जाने पक्षमा छैनन्। उनले वर्तमान सरकारविरुद्ध संवैधानिक प्रश्न उठाउँदै संसद् पुनस्र्थापनाका लागि मुद्दासमेत दर्ता गराएका छन्।

ओलीले पछिल्ला अभिव्यक्तिमा सरकारको संवैधानिक वैधतामै प्रश्न उठाइरहेका छन् र आफू ‘निर्वाचनमा नजाने’ अडानमा उभिएका छन्। तर प्रचण्ड भने निर्वाचनको तयारीमै चुकेका छैनन्। उनले आउने निर्वाचनबाट जनमत हासिल गरी शक्तिशाली दलको रूपमा उदाउँदै सत्ता नेतृत्व सम्हाल्ने लक्ष्य बनाएका छन्।

उता ओलीको लक्ष्य भने फरक छ—जेनजी आन्दोलनले दिएका सन्देशलाई ‘असफल’ साबित गर्दै संसद् पुनस्र्थापना गराउने र आफ्नो कदम नै सही भएको देखाउने। यही कारणले उनी र प्रचण्ड फेरि फरक–फरक बाटोमा उभिएर दुई मुख्य प्रतिस्पर्धी बनेका छन्।