बसन्त लोहनी

अमनचयनसँग मिलेर बसेका हामी

ad

हेर्दाहेर्दै कहाँ आइपुग्यौँ

लुटतन्त्रको भुमरीमा परेको मुलुक

कम्पासविनाको जहाज बन्यो

यस्तो अवस्थामा ल्याइपु¥याए यिनीहरूले

राज्य अब कर्मचारीलाई तलब बाँड्न नसक्ने भयो

तलब खुवाउन ऋण खोजिरहेको

करिब ३० खर्ब त पुगिनै सक्यो

 

‘विकास र समृद्धि’को गफमा

जति आफ्नो पेट भर्न थाले

त्यति दरार बढ्दै गयो

झन् भारी थप्दै गए आफ्नो आमोद–प्रमोद खर्चको

अहिले मुलुकको अर्थतन्त्र बिरामी सेतो हात्तीजस्तो

न कसैको नियन्त्रणमा

न सानोतिनो औषधिमुलोले ठिक हुने अवस्थामा

जहाँ अप्रत्यक्ष राज्य चलाउने बिचौलिया

प्रत्यक्ष ठप्पा हान्ने यी स्वघोषित स्वनामधन्य

त्यहाँ अहिले जे भएको छ हुने नै यस्तै हो ।

 

राष्ट्र बैंकसँग विदेशी मुद्रा भरिभराउ

करिब ३० खर्ब २० महिनाको आयातलाई पुग्ने

वस्तु र सेवाको निर्यात बढेर होइन

फगत तन्नेरीको ज्यान निर्यात गराएर बढेको

यसबाट महिनाको दुई खर्बसम्म विदेशी मुद्रा आएपछि

मुलुक हाँक्ने आलाकाँचा अर्थशास्त्री

यसलाई नै अर्थतन्त्रको ठूलो विजय ठान्छन्

त्यसैले भन्छन् – मुलुकको ऋण के हो र ?

भनेको बेलामा जम्मै तिर्न सकिन्छ

विद्वत्–मूर्खताको यो हदलाई

ज्ञान र विज्ञानले वर्णन गर्न सक्दैन ।

 

घोकेको सूत्र भट्ट्याउँदै मुलुक हाँक्ने अर्थशास्त्री भन्थे–

वाणिज्य बैंकसँग डिपोजिट बढेपछि

लगानी बेहिसाब बढ्छ

वाणिज्य बैंकहरूसँग नोट अटाई–नअटाई छ अहिले

७५ खर्ब पुगिसक्यो निक्षेप

खै त लगानी बढेको ?

निक्षेप बढ्दै जाँदै लगानी झन घट्दै गएको किन ?

 

निक्षेप बढ्ने

तर न लगानी बढ्ने, न रोजगारी

मुलुक त फगत विदेशीको मन्डी बनेको

उपभोग्य वस्तुको आयात बेहिसाब बढ्दै गएको

उपनिवेशवादी शोषणको स्वरूप

मुलुकलाई यस्तो ‘शोषण–मन्डी’ बनाएका

भएका उद्योग कारखाना पनि बन्द गराएर

यसबाट आएको सरकारी आम्दानीमा

लुट गर्दै आएका राजनीतिका मठाधीशहरू

अझै पनि ‘समृद्धि’को गफ किन गरिरहेका ?

जबकि सब कुराहरू उदांगो नै भइसकेका छन् ।

 

हिजो आन्दोलनको बलमा सरकार बन्दा

सबैले टीका लगाएका

निर्वाचित त कोही थिएनन्

निर्वाचित प्रधानमन्त्री को थिए र ?

आज आन्दोलनको बलमा सरकार बन्दा

भयानक दमन गरेर बच्चाबच्ची मार्नेहरू

यस्तो सरकार बन्नै सक्दैन भनेर किन बरबराइरहेका ?

करिब बीस वर्षअगाडि आफू बस्न पाउँदा

त्यो सरकार संवैधानिक

अहिले आफू बहिर्गमनमा परेपछि चाहिँ

यो सरकार किन असंवैधानिक ?

 

मेगालोमेनियाको सिकार बनेकाको ‘भगौडे बहिर्गमन’ पश्चात्

अलिकति मात्र भ्रष्टाचारका पोका खुल्दा त्रसित यी ?

ताल न सुरसँग गरिरहेका विषवमन

आफ्नो डर छोप्न प्रत्यागमनको डर देखाएर

आफूले गर्दा सब ठिक,

मानव अधिकारको हनन बिल्कुलै नभएको

अरूले गर्दा सबै बेठिक, यत्रो होहल्ला यो

अझै ‘म्युजिकल चेयर’को खेलमा

आफ्नो आगमनको चमन खोजिरहेका

यी वृद्धाश्रममा पुग्नुपर्नेहरू

आफ्नो घरमा रहने करोडौँ करोड रुपैयाँ

केही ठूलो कुरो होइन भन्छन्

मानौँ उनीहरूको घरको रुखमा नोट फल्छ

बिस्कुनसरह सुकाइएका मात्र हुन्

ए आफूले आफैँलाई स्वनामधन्य भन्नेहरू हो !

अझै कति ‘जुवा–घर’को खेलो गर्छौ

हामीलाई सधैँझैँ बुद्धु बनाएर ।