
बिनोद सिजापती
असोज २८ का दिनदेखि नेपाली कांग्रेस (नेका) केन्द्रीय कार्यसमितिको म्याराथन बैठक सञ्चालनमा छ । यस बैठकले गर्नुपर्ने एकल निर्णय १५औँ महाधिवेशनको मिति तय गर्नु हो । आगामी मंसिर महिनाभित्र सम्पन्न गर्नुपर्ने महाधिवेशनलाई एक वर्ष पछाडि धकेल्ने संवैधानिक अधिकार छ, नेका सभापतिसँग । त्यही प्रावधानको सुविधा लिँदै फागुन २१ गते सम्पन्न हुन तय गरिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन सम्पन्न गर्ने धारणा राख्दै छन्, ‘संस्थापन’ पक्षधर । उक्त निर्वाचनपूर्व नै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्ने पक्षमा छ, संस्थापन–इतर समूह ।
निर्वाचनपूर्व नयाँ नेतृत्व चयन हुनुपर्छ भन्ने माग राख्ने संस्थापन–इतरको पंक्तिमा केही संस्थापन–पक्षधर नेता समेत हुन थालेका छन् । कांग्रेसजन, दल समर्थक तथा उक्त दलप्रति सहानुभूति राख्ने सबैलाई थाहा छ-वर्तमान नेतृत्वले निरन्तरता पाएको खण्डमा निर्वाचन परिणाम दलको विपक्षमा हुनेछ भन्ने ।
खुम्चिँदै गएको ‘संस्थापन–पक्ष’ समूह भने निर्वाचनपूर्व कुनै पनि हालतमा नेतृत्व परिवर्तन गर्न हुँदैन भन्ने अडान लिँदै छ । संस्थापन–इतर पक्ष सकेसम्म महाधिवेशन, अन्यथा ‘विशेष महाधिवेशन’ गरेर भए पनि नेतृत्व परिवर्तन अनिवार्य ठान्छ । विभिन्न गुट–उपगुटमा चिरा परेको दललाई एकढिक्का तुल्याउने नारा लिएर शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए । यो उहाँको दोस्रो तथा अन्तिम कार्यकाल हो । दुवै कार्यकालमा उहाँ पार्टी सभापति हुन सफल हुनुभयो, तर नेताचाहिँ केवल संस्थापन–पक्षको मात्रै हुनुभयो । समस्त दलको नेता बन्ने सफलता उहाँलाई मिलेन अथवा अवसर प्राप्त गर्न सक्नुभएन ।
शेरबहादुर देउवा (दाइ)ले गर्व गर्ने उहाँको चारित्रिक गुण थियो, ‘ममा सबैलाई समेटेर लैजाने खुबी छ ।’ दमन ढुंगाना (दाइ)को मध्यस्थतामा उहाँ नेविसंघको सर्वसम्मत अध्यक्ष निर्वाचित हुँदा पनि ‘शेरबहादुरले सबैलाई समेटेर लैजान सक्छ’ भन्ने विश्वासले ठूलो भूमिका खेलेको थियो ।
एक वार्तालापको क्रममा उहाँले मलाई भन्नुभएको थियो-‘हेर, तैँले नेपाली नेतालाई चिनेकै छैन । यिनीहरू लोभी हुन्छन् । तिनीहरूले चाहेको कुरा म दिन सक्छु । त्यसकारण मलाई सरकार सञ्चालन गर्न कठिन हुँदैन ।’ स्मरण होस्, उहाँको नेतृत्वका सरकारले ‘जम्बो’ आकार धारण गर्नमा यिनै गुणले ठूलो भूमिका खेलेको हो ।
नेपाली कांग्रेस नेताहरूको पृष्ठभूमि प्रायः भूमिपति वर्गको छ । पहाडका ठूला किसानसँग जमिनको क्षेत्रफल मात्र ठूलो हुँदैन थियो, तिनका परिवार सदस्य तथा भान्सामा खानेहरू पनि धेरै हुन्थे । उनीहरूसँग जग्गाजमिन भए पनि पैसा भने हुँदैन थियो । समग्र देशमा सामन्ती प्रथा उन्मूलन भइसकेको छैन । सुदूरपश्चिमको समाजमा अन्यत्र भन्दा सामन्तहरूको अवशेष बढी नै छ । त्यसो त अधिकांश नेका नेताहरू आर्थिक रूपमा समाजवादी भए पनि तिनमा सामन्तको चारित्रिक गुण बाँकी थियो र छ । उनीहरूले आफ्ना समर्थकलाई केही दिएर आश्रित तुल्याउने प्रवृत्ति राख्छन् । अग्रजहरूको आचरण अध्येता शेरबहादुर दाइलाई राम्रैसँग थाहा थियो-दिन सक्दा हुने कार्यकर्ताको संख्या कति बढ्छ । तिनले देखेका थिए-दिने क्षमता भएका गिरिजाप्रसाद कोइराला दाइको तुलनामा स्रोतको अभाव भएका गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईसँग कति धेरै कार्यकर्ता थिए भन्ने ।
प्रथम जनआन्दोलनपश्चात् हो-नेका नेताहरूको जीवनशैलीमा आमूल परिवर्तन आएको । त्यही कालखण्डदेखि सबै दलका प्रमुख नेताले सत्ता–सञ्चालन गर्ने अवसर पाए । सत्तासीन हुने तथा त्यसको प्रचूर सम्भावना भएका नेतालाई देशको उदीयमान सम्भ्रान्त परिवारले आफ्नो बनायो । सामाजिक समारोहमा उनीहरूले ‘विशेष अतिथि’ हुने निम्तो पाउन थाले । त्यस्ता अवसरले तडक–भडकपूर्ण जीवनशैलीसँग परिचित हुने मौका उपलब्ध गरायो ।
कतिपय जनाधार गुमाउँदै गएका नेताले सम्भ्रान्त वर्ग तथा सत्तासीन वृत्तबीचको पुल बनेर बिचौलियाको भूमिका खेल्ने अवसर पाए । त्यसैगरी कतिपय व्यवसायीले सामीप्यमा रहेका नेताबाट फाइदा उठाउँदै पेशेवर बिचौलियामा परिणत भए । छोटो समयमा बिनालगानी धेरै आर्जन गर्ने सबैभन्दा सहज व्यवसाय बिचौलियाप्रथा नै बन्यो ।
यिनै बिचौलियाले नेताहरूलाई ठर्राबाट ‘ब्लु लेबल’ सेवन गर्ने हैसियतमा पु¥याइदिए । काठमाडौंमा डेरामा बस्नेहरूलाई अलिशान महलको मालिक बनाए । ‘प्याटेक फिलिप’ तथा ‘रोलेक्स’ घडी लगाउने स्तरमा पु¥याइदिए । प्रधानमन्त्रीको ‘बेडरुम होस् वा डाइनिङ’-बिचौलियाको उपस्थिति तथा पहुँच हुने गथ्र्यो । देशमा भ्रष्टाचार, जवाफदेहिताको अभाव तथा दण्डहीनता मौलाउन यिनै बिचौलियाको भूमिका अहम छ । राज्य सञ्चालनमा सुशासनको अनुभूति नहुनुको एक प्रमुख कारण हो-मौलाएको बिचौलियातन्त्र । बिचौलियाको चंगुलमा नपर्ने नेताको संख्या अत्यन्तै सानो छ ।
जेन–जी आन्दोलनको प्रमुख माग सुशासनको संस्थापना थियो । तिनको निशाना परेका थिए– ‘नेपो बेबी’ - अभिभावकले देश दोहनबाट आर्जेको अकुत सम्पत्ति ‘लुटको धन फुपूको श्राद्ध’ जस्तै उडाउने परिवारका सदस्य । तिनीहरूले प्रदर्शन गर्ने तडक–भडकपूर्ण जीवनशैलीले धेरैलाई निराश तुल्यायो ।
पाँचपटक प्रधानमन्त्री भएका तथा छैटौँपटक उक्त पद प्राप्त गर्ने दाउमा रहेको नेका सभापति बिचौलिया तथा सम्भ्रान्त परिवारको चंगुलबाहिर रहन सक्ने कुरै भएन । उहाँमाथि भाद्र २४ मा जेन–जी आन्दोलनकारीबाट भएको सांघातिक आक्रमण आकस्मिक मात्र होइन-कल्पनाभन्दा बाहिरको घटना थियो । आखिर उहाँको आवासमा पूर्वप्रधानमन्त्रीका निम्ति तैनाथ गरिने सुरक्षाकर्मीको बाक्लो उपस्थिति मात्र थिएन; उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले पाउने सुरक्षाकर्मीहरूको पनि उपस्थिति थियो । सधैँझैँ चाकडीदारहरूको संख्या पनि सानो थिएन । आफैँ–माथि विपत् परेका बेला, अर्थात् आक्रमणकारीहरूबाट उहाँलाई जोगाउन कोही तयार भएनन् ।
उक्त आक्रमणपश्चात् दाइलाई अब पनि आफ्नो विगतको सादगीपूर्ण जीवनशैलीको सम्झना आएको हुन सक्छ । डा. लोहिया तथा आचार्य नरेन्द्रदेवले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादको याद नभए पनि तिनलाई कृषमूर्ति जीवनशैलीसम्बन्धी दर्शन भुलिएको कुरै भएन । त्यसै कारणले हुन सक्छ-बिरक्तिएर उहाँले सक्रिय राजनीतिबाट अवकाश लिने निर्णय गर्नुभएको । आफ्ना अनुयायीलाई कार्यवाहक सभापति पदमा मनोनीत गरी समयमै महाधिवेशन गर्न निर्देशन दिँदै स्वास्थ्य उपचारार्थ सिंगापुर प्रस्थान गर्नुभएको थियो । उहाँलाई के थाहा-विगतमा आफ्नै संरक्षणमा बढेको स्वार्थसमूहलाई यो निर्णय प्रतिकूल छ भन्ने । त्यही स्वार्थ–रक्षाका निमित्त संस्थापन–पक्षधर नेता, विशेषगरी ‘छ भाइ’, उहाँलाई विश्राम लिनबाट वञ्चित गराइरहेका छन् ।
भाद्र २३ र २४ मा जेन–जी समूहले गरेको आन्दोलनले नेपालको राजनीतिक धरातलमा उथलपुथल ल्याएको छ । नेकाका दूरदर्शी नेताहरूले २७ घण्टामा राष्ट्र–राज्य नै संकटमा पुग्ने स्थिति देखे–भोगे । कतिले पैतृक सम्पत्तिमा निर्मित आवास जलेर राख भएको देख्नुप¥यो । घरबारविहीन बन्नुप¥यो । उनीहरूले यस आन्दोलनबाट तीतो पाठ सिकेका छन् । तिनले बुझेका छन्-नेकालाई बदलिँदो अवस्थाअनुरूप परिवर्तन गर्न नसके ‘न रहेका बाँस न बज्ने बाँसुरी’ अवस्था आउँछ । संस्थापन–पक्षले महाधिवेशन रोक्न गर्दै आएको आनाकानीलाई मध्यनजर गर्दै दुई महामन्त्रीको अगुवाइमा ५४ प्रतिशत केन्द्रीय सदस्यले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेका छन् ।
नेकाले नयाँ नेतृत्व चयन गरेको अवस्थामा दलले काँचुली फेर्ने छ । यस दललाई विरूप तुल्याउने पात्रहरू विस्थापित हुनेछन् । नयाँ नेतृत्वले चाहेर पनि विगतमा भ्रष्टाचार तथा राज्य–दोहन घोटालाका मुद्दा खेपिराखेका नेतालाई अगाडि सार्ने सामथ्र्य राख्दैन । नेकाको नयाँ नेतृत्व निर्वाचनमा उत्रँदा ‘सुशासन’को नारालाई प्रमुखता दिनैपर्ने हुन्छ ।
नयाँ नेतृत्वले सुशासन कायम गर्न कटिबद्ध हुनैपर्छ । दल तथा आफ्नै सुरक्षित भविष्यका निमित्त पनि सुशासनको प्रतिबद्धता अनिवार्य छ । बहुसंख्यक जेन–जी आन्दोलनकारी मध्यमार्गी लोकतन्त्रवादी छन् । तिनको छनोटमा अतिवादी-चाहे त्यो कम्युनिष्ट होस् वा पूर्वपञ्च पर्दैनन् । मध्यमार्गी लोकतन्त्रवादी एक मात्र दल नेका नै हो । त्यस कारण यदि नेकाले उम्मेदवार चयन प्रक्रियामा हाम्रा होइन, राम्रालाई प्राथमिकता दियो भने अन्य दलको तुलनामा कांग्रेस उम्मेदवारले जेन–जी समूहको रोजाइमा पर्ने सम्भावना धेरै छ । यस अर्थमा नेकाले बहुमत ल्याउने प्रशस्त सम्भावना छ । अन्यथा पनि संसद्को सबैभन्दा ठूलो दल भने निश्चित नै हुनेछ ।
सभापति शेरबहादुर देउवाको सामुन्ने दुई विकल्प छन्-पहिलो, विगतमा जस्तै मंसिरमै महाधिवेशन सम्पन्न हुन दिने; अथवा दोस्रो, विगतमा आफ्नै संरक्षणमा हुर्किएको स्वार्थ–समूहको मागअनुसार महाधिवेशनलाई एक वर्ष पछाडि धकेलिदिने । पहिलो विकल्पले उहाँले गुमाइसकेको साख पुनस्र्थापित गर्ने सम्भावना राख्छ; दोस्रोले उहाँलाई- नेकालाई प्रजा परिषद्जस्तै इतिहासमा सीमित तुल्याउने खतरा बोकेको छ ।









Facebook Comments