गुरुराज घिमिरे

पार्टीको विधानले दिएको अधिकार प्रयोग गरेर हामीले जुन विशेष महाधिवेशन सम्पन्न गर्‍यौँ, त्यसलाई कसैले ‘विभाजनको कारक’ भन्छ भने त्यो सरासर गलत हो । मेरो नजरमा यो महाधिवेशनले कांग्रेसलाई झन् एकताबद्ध र जीवन्त बनाएको छ । यथास्थितिमा रमाएर बस्नु भनेको पार्टीलाई मरणोन्मुख बनाउनु हो । त्यसैले हामीले ‘जेन्जी’ विद्रोहले मागेको नयाँ म्यान्डेट र बदलिँदो देशको आवश्यकतालाई बुझेर नेतृत्व परिवर्तनको मुद्दा उठाएका हौँ ।

ad

कतिपयले यसलाई युवापुस्ताले कसैको इशारामा कांग्रेस तहसनहस पार्न गरेको ‘ग्रान्ड डिजाइन’ भनेर आरोपित गरे । तर, हामी ४० वर्षदेखि लोकतान्त्रिक आन्दोलनमा रगत–पसिना बगाएका मान्छे हौँ । २०४६ र २०६२÷६३ का निर्णायक आन्दोलनका साक्षी र सहभागी हामी कसैको रिमोट कन्ट्रोलबाट चल्ने कुरा कल्पना बाहिरको हो ।

असोज ६ गते विशेष महाधिवेशनको अभियान सुरु गर्दा हामीसँग सीमित साथीहरू मात्र हुनुहुन्थ्यो । ठूला नेताहरू लुकेर बसेका बेला हामीले जनताको तिखो आक्रोश सामना गर्‍यौँ । त्यतिबेला हामीले एउटा कुरा निसंकोच स्वीकार गर्‍यौँ- पार्टी नेतृत्वले सरकारमा जाँदा कमजोरी गरेको छ । त्यही कमजोरी सुधार्न र पार्टीलाई नयाँ ऊर्जा दिन विशेष महाधिवेशनको माग गर्दै दर्ता गरिएको निवेदनमा ‘रोल नम्बर १’मा हस्ताक्षर गर्ने पहिलो व्यक्ति म नै थिएँ । यो कुनै व्यक्तिगत लाभका लागि नभई पार्टी बचाउने हुटहुटी थियो ।

शेरबहादुर देउवा पक्षले यसलाई ‘असंवैधानिक’ भन्दै निर्वाचन आयोगसम्म पुग्यो । तर, हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नजिर र सर्वोच्चका फैसलाहरूका साथ आफ्नो तर्क पेस गर्‍यौँ । आयोगले हाम्रो प्रमाण र विधानसम्मत अभ्यासलाई बुझेर ‘फास्ट ट्रयाक’मा निर्णय दियो । निर्वाचन आयोगको यो फैसलाले पुष्टि गरेको छ कि कांग्रेस अब नयाँ ढंगले अघि बढ्नु आजको आवश्यकता हो ।

हामीले अन्तिमसम्म पनि सहमतिको प्रयास नगरेका होइनौँ । म आफैँ वार्ता टोलीमा थिएँ । हामीले आठ बुँदामध्ये सात बुँदामा सहमति जुटाइसकेका थियौँ । हाम्रो एउटै मुख्य अडान थियो, ‘आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जाऔँ ।’ हामीले कुनै व्यक्तिको नाम तोक्न दबाब दिएका थिएनौँ, केवल एउटा सैद्धान्तिक सहमति मागेका थियौँ । तर, देउवा पक्ष प्रधानमन्त्रीको लोभ त्याग्न तयार भएन ।

हामीले उहाँको सम्मानजनक बिदाइ चाहन्थ्यौँ । उहाँले कार्यभार सुम्पिएर अभिभावक बनोस् भन्ने हाम्रो चाहना थियो । तर, उता वार्तामा अल्मल्याउने र यता हाम्रा साथीहरूलाई कारबाही गर्ने रणनीति बुझेपछि हामी अघि बढ्न बाध्य भयौँ । ५०–५५ वर्ष पार्टीमा बिताएका पुराना नेताहरूले आँखाभरि आँसु पारेर ‘नझुक, कांग्रेसलाई पुनर्जागरण देऊ’ भनिरहँदा हामी पछि हट्न सक्ने अवस्था थिएन ।

अब हाम्रो रणनीति स्पष्ट छ । शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइरालादेखि सबै पुराना नेताहरू हाम्रा स्तम्भ हुन् । उहाँहरूको अनुभव पार्टीका लागि अपरिहार्य छ । उहाँहरू अब सक्रिय राजनीतिभन्दा पनि ‘अभिभावक र संरक्षक’को भूमिकामा रहनुपर्छ भन्ने हाम्रो चाहना हो ।

कांग्रेस कसैको निजी घर वा सानो समूहको मातहतमा रहने संस्था होइन । यो १० लाख क्रियाशील सदस्य र २५ लाख मतदाताको साझा घर हो । हामी यो घरलाई फेरि बलियो बनाउनेछौँ । निर्वाचन आयोगको आधिकारिकतासँगै अब हामी शेरबहादुर दाइलगायत सबै नेताहरूलाई भेटेर यो धरातलीय यथार्थलाई स्वीकार गर्न र पार्टी निर्माणमा हातेमालो गर्न आग्रह गर्नेछौँ । कांग्रेस अब फुट्दैन, झन् सुदृढ भएर अगाडि बढ्छ ।

हामीले कुनै भागबन्डा मागेका थिएनौँ । हामी कति लचिलो, विनम्र र व्यावहारिक थियौँ भन्ने कुरा समयले बताउनेछ । तर, विडम्बना ! वार्ताको टेबुलमा उहाँहरू प्रधानमन्त्रीको उम्मेदवार तोक्न राजी हुनुभएन । अन्ततः हामीले परिणामका लागि विशेष महाधिवेशनको बाटो रोज्यौँ । अब गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक र संस्थागत नेतृत्व हो । निर्वाचन आयोगले हाम्रो विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरिसकेपछि अब यो अन्योल समाप्त भएको छ ।

अहिले हामी निर्वाचनको सँघारमा छौँ । १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्नु र समानुपातिक सूचीलाई व्यवस्थित गर्नु हाम्रा सामुन्नेका मुख्य चुनौती हुन् । म स्पष्ट पार्न चाहन्छु- अब टिकट वितरणमा कुनै पूर्वाग्रहको चस्मा लगाइने छैन । व्यक्तिको योग्यता, लोकप्रियता र उसको सम्भावनालाई हेरेर न्यायोचित रूपमा टिकट वितरण गरिनेछ ।

हिजोका दिनमा पार्टीभित्र जसरी विभेद गरियो, जसरी पक्षपातको संस्कृति हुर्काइयो, त्यसको अन्त्य नै हाम्रो पहिलो संकल्प हो । म आफैँ पनि विभेदको एउटा प्रतिनिधि पात्र हुँ । अबका दिनमा देशैभरिका साथीहरूले अन्यायको महसुस गर्नुपर्ने छैन । समानुपातिकको हकमा, यदि कानुनी रूपमा तलमाथि गर्ने ठाउँ बाँकी छ भने हामी त्यहाँ पनि न्याय गर्नेछौँ ।

शेरबहादुर देउवा पक्षले अदालत जाने कुरा गर्नुभएको छ । जान पाउनु उहाँहरूको अधिकार हो, तर त्यसले कांग्रेसलाई बलियो बनाउँदैन । आज निर्वाचन आयोगको निर्णयपछि देशभरका साथीहरूमा उत्साह छ । विशेष महाधिवेशनमा नआएका साथीहरूले पनि फोन गरेर भन्नुभएको छ- ‘हामी अब संस्थागत कांग्रेसमै छौँ ।’

मेरो अनुमानमा ९० प्रतिशत साथीहरू अहिलेको नेतृत्वको पक्षमा गोलबद्ध भइसक्नुभएको छ । जो केही प्रतिशत साथीहरू बाँकी हुनुहुन्छ, उहाँहरूलाई पनि हामी निषेध गर्दैनौँ । हामी उहाँहरूलाई सम्मानजनक स्थान दिन्छौँ । शेरबहादुर दाइ ८२ वर्षको हुनुभयो, उहाँको सक्रियताको आफ्नै सीमा छ । ‘जेन्जी’ विद्रोहको भावना र नयाँ पुस्ताको चाहना अनुसार कांग्रेस अब गगन थापाकै नेतृत्वमा एक ढिक्का भएर अघि बढ्छ । शेखर कोइरालाजस्ता आदरणीय नेताहरू, जसको पुस्ताले यो पार्टी बनायो, उहाँहरू अन्यत्र जाने कल्पना पनि गर्न सकिँदैन । यो उहाँहरूकै घर हो ।

नेपाली कांग्रेसको आफ्नो छुट्टै वैभव र स्वाभिमान छ । बीपी कोइरालाको समयमा राजा महेन्द्रले समेत ‘कांग्रेसलाई म अलग्गैबाट चिन्छु’ भन्थे । तर पछिल्लो समय कांग्रेसको त्यो मौलिक पहिचान हराउन थालेको थियो । माओवादी, एमाले वा राप्रपा को हो भन्ने छुट्टाउनै नसकिने गरी कांग्रेसको अस्तित्व लुप्त हुन लागेको थियो ।

त्यसैले, हामी कांग्रेसलाई कांग्रेसजस्तो बनाउन चाहन्छौँ । हाम्रो डिक्सनरीमा अहिले ‘घोषित गठबन्धन’को मुद्दा छैन । हामी आफ्नै वैचारिक र दार्शनिक धरातलमा उभिएर एक्लै चुनावमा जान चाहन्छौँ । विचार नमिल्ने दलहरूसँग सत्ताका लागि मात्र गरिने गठबन्धनलाई हामीले प्रोत्साहन नगर्ने निर्णय महासमितिबाटै गरिसकेका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य शक्तिहरूसँग चुनावी तालमेलबारे अहिले कुनै छलफल भएको छैन ।

हामी निर्वाचन आयोगमा घण्टौँ बस्यौँ, कानुनी र राजनीतिक लडाइँ लड्यौँ र अन्ततः सत्यको जित भयो । अब प्रश्न आधिकारिकताको मात्र होइन, प्रश्न यो पार्टीलाई कसरी ‘कांग्रेसजस्तो कांग्रेस’ बनाउने भन्ने हो । कांग्रेसलाई व्यक्तिगत सत्ता स्वार्थ र अप्राकृतिक गठबन्धनको चक्रव्युहबाट बाहिर निकाल्नु नै हाम्रो पहिलो संकल्प हो । 

अहिले राष्ट्रिय राजनीतिमा चुनावका बेला जोसँग पनि मिल्ने एउटा गलत ‘भाष्य’ खडा गरिएको छ । हामी स्पष्ट छौँ- चुनाव जित्नकै लागि जसरी पनि तालमेल गर्ने कुराले पार्टीको वैचारिक धरातल भत्काउँछ । कांग्रेस आफ्नै पहिचानमा उभिनुपर्छ । हामीले पहिले नै घोषणा गरिसकेका छौँ कि कम्युनिस्टहरूसँगको अप्राकृतिक सहकार्यले पार्टीको शाख गिराएको छ । अबको हाम्रो मापदण्ड सत्ताकेन्द्रित होइन, नीति केन्द्रित हुनेछ । हामी एक्लै निर्वाचनमा जान तयार छौँ ।

हामीले गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका छौँ । उहाँसँग केवल उमेर मात्र होइन, देश बनाउने एउटा पूर्ण ‘रोडम्याप’ र योजनाको प्याकेज छ । बीपी कोइरालाले १५ वर्षमा नेपालीलाई आफ्नोजस्तै आर्थिक स्तरमा पुर्‍याउने सपना देख्नुभएको थियो । आजका युवाहरूको सपना भनेको स्वदेशमै उद्यम गर्ने र रोजगारी पाउने वातावरण हो ।

भ्रष्टाचारको अन्त्य, सुशासन र युवा पलायनको पीडालाई सम्बोधन गर्नु नै गगन थापाको नेतृत्वको मुख्य एजेन्डा हो । राजनीति अब जात्रा हुनुहुँदैन, यो त डेलिभरी दिने माध्यम हुनुपर्छ । विगतमा टिकट किन्ने वा पैसाको चलखेल हुने आरोपहरू लाग्ने गर्थे । तर अबको कांग्रेसमा पैसाको कुनै स्थान हुने छैन । हामीले एउटा कडा मापदण्ड बनाएका छौँ- पार्टीमा योगदान दिएका, क्षमतावान् र लोकप्रिय नेताहरूले नै प्राथमिकता पाउनेछन् । न कुनै उद्योगपतिले पैसाका भरमा टिकट पाउँछ, न त नातावादले ठाउँ पाउँछ । हामी राजनीतिलाई कुलीनतन्त्रबाट मुक्त गराएर पुनः लोकतान्त्रिक चरित्रमा फर्काउनेछौँ ।

धेरैलाई लाग्न सक्छ, यो आकस्मिक परिवर्तन हो । तर अहिलेको केन्द्रीय नेतृत्वमा जुन टिम छ, हामी २५ वर्षदेखि सँगै काम गर्दै आएका छौँ । विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल र म, हामीले नेविसंघदेखि नै एकअर्काको क्षमता र भावनालाई बुझेका छौँ ।

२५ वर्षअघि विश्वप्रकाशजी सभापति हुँदा गगनजी उपसभापति र म सहमहामन्त्री थियौँ । २३ वर्षअघि म सभापति हुँदा प्रदीपजी उपसभापति र गगनजी महामन्त्री हुनुहुन्थ्यो । यो पुरानो सम्बन्ध र सेन्टिमेन्टले आजको केन्द्रीय समितिलाई बलियो र गतिशील बनाएको छ । ६२–६३ को जनआन्दोलनमा सडकमा सँगै होमिएको यो टोली अहिले पार्टीको मूल जिम्मेवारीमा छ ।

हामी शेरबहादुर देउवालगायत पुराना नेताहरूको ६ दशक लामो संघर्षप्रति नतमस्तक छौँ । उहाँहरूको योगदानको कुनै विकल्प छैन । तर समय परिवर्तनशील छ । ८२ वर्षको उमेरमा उहाँले पार्टीलाई जुन ढंगले चलाउनुभयो, त्यसमा केही कमीकमजोरी पक्कै भए । हामीले चाहेको केवल यति हो- निर्णय प्रक्रिया पारदर्शी होस्, विधानको पालना होस् र क्षमताको उचित मूल्यांकन होस् । उहाँहरू हाम्रा आदरणीय अभिभावक हुनुहुन्छ र रहनुहुनेछ । हामीले बीपी, गणेशमान र किसुनजीका आदर्शहरूलाई भुलेका छैनौँ । तर ती आदर्शहरूलाई आजको सन्दर्भमा पुनव्र्याख्या गर्दै अघि बढ्नुपर्छ । कांग्रेस अब भावनामा मात्र होइन, एक्सनमा देखिनेछ । यो केवल नेतृत्वको फेरबदल मात्र होइन, यो त एउटा युगको सुरुवात हो । हाम्रो एक मात्र उद्देश्य भनेको कांग्रेसलाई जनताको भरोसा र विश्वासको पार्टी बनाउनु हो । हामी कसैलाई पन्छाउन वा थिच्न आएका होइनौँ । लोकतन्त्र र संविधान रक्षाको यो महाअभियानमा सबै पुराना र नयाँ साथीहरूलाई गोलबद्ध हुन म अपिल गर्दछु । अबको कांग्रेस ‘न्यायोचित कांग्रेस’ हुनेछ ।

(घिमिरे नेपाली कांग्रेसका महामन्त्री हुन् ।)