
वसन्त लोहनी
बाँदरले गाई दुह्यो भन्दा अचम्म सुनिँदै
टुटेफुटेका गमलाहरू फूल फुलाउँछु भन्छन्
झल्लुहरूले भताभुंग पारेको हाम्रो यो बगैँचामा
सुरम्य मनोहर पारेर नमुना देखाउँछु भन्छन्
यही बाँकी थियो सुन्न जो हामी सुनिरहेका छौँ
उम्दा जोकर बनेका यी लबरपाँडेको कुरा
हावामा उडिरहेका विदूषकहरू
दुई चार थपडी खाएपछि विभ्रमित हुँदा रहेछन्
अनि आफ्नै विभ्रम बेच्न–
सिँगान बगाउँदै नाङ्ले पसल थाप्दा
डुंगुरका डुंगुर बिक्दो रहेछ
त्यस्तो पसल बेहद चलेर चकाचक हुँदा
गाउँगाउँमा भ्रम–विभ्रम बेच्ने पसल–चेन खुलिरहेका
विभिन्न बैंकका स्मार्ट कार्ड जस्तै विभिन्न विभ्रम मार्टहरू
‘बाजेको सेकुवा’ हुँदाहुँदा एउटा ब्रान्ड बनिसक्यो
चेन बनेर अमेरिकासम्म पुगिसक्यो
विभ्रमित–भ्रम बेच्नेहरूको लागि त्यो के हो र ?
बाजेहरूले खोलेको भ्रम बेच्ने नाङ्लो पसल
ठूला–ठूला डिपार्टमेन्टल स्टोर बनिसकेका छन्
त्यसका चेन सबैतिर फैलिरहेका छन्
यस क्रममा पसल खुल्ने बन्द हुने भइरहेका छन्
कोही बल्लबल्ल चलेका छन् परिवार पाल्न
कुनै बेला ब्रिटिस राजको ताज कलकत्ता
त्यसको पनि ताज ह्वाइटवे लेडला कम्पनीको डिपार्टमेन्टल स्टोर
त्यो राज बन्द हुनुअगाडि नै
त्यो ताज बनेको स्टोर बन्द भइसकेको ।
काठमाडौंको ‘भद्रकाली स्टोर’को त्यही हालत ।
जीवन मरणको क्रम जस्तै पसलहरू खुल्ने बन्द हुने भइरहेका
यदि चल्यो भने–
विभ्रमित–भ्रम बेच्ने पसल सबभन्दा ठूलो व्यापार
अपारको व्यापार भएर जो लबरपाँडे पनि खोल्ने
यी लबरपाँडेहरूलाई पनि किन दोष दिने ?
विभ्रमित–भ्रम सकेसम्म किन्ने त हामी नै हौँ ।









Facebook Comments