सबै वास्तवमा कुनै निर्णय गर्न सकिरहेका थिएनन् । राय अझै बाझिएकै थियो । आमाबाबु समेत अन्योलमा थिए । वरमिताका लागि तीनै वर आ–आफ्नो विशेषताका कारण योग्य देखिन्थे । वरमिताले त एक आज्ञाकारिणी पुत्रीझैँ मातापिताकै निर्णयलाई आफ्नो निर्णय मान्ने वचन दिइसकेकी थिई । यसको अर्थ थियो, ऊ पनि कुनैको वरमिताप्रतिको समर्पणका लागि कम मान्न सक्दिनथिई । त्यसकारण आफ्नो भारी आमाबाबुको काँधमा बिसाइदिएकी थिई । 

तीन वर पनि अब चुप लागेर प्रतीक्षा गर्न थाले । कसको भाग्यमा वरमिताजस्ती अनुपम कन्या लेखेको छ ? 

ad

यस्तो गर्दै दिन बित्यो । साँझ पर्न आँटेको थियो । चराचुरुंगी आफ्नो गुँडतर्फ समूहमा जाँदै थिए । आकाशमा सूर्यस्तको लालिमा थियो । 
त्यतिकैमा निकै टाढाबाट कुनै सन्यासी आइरहेको देखियो । क्रमशः सन्यासी निकट हुँदै गयो । 

यो त्यही सन्यासी थियो, जसले एक वरलाई सञ्जीवनी जल दिएर पठाएको थियो । सन्यासी त्यस ठाउँमा आएपछि सञ्जीवनी जल प्राप्त गर्ने वरले चिनेर सर्वप्रथम, साष्टांग दण्डवत् ग¥यो । सन्यासीको तेज देखेर सबैले श्रद्धाले शिर निहुराई प्रणाम गरे । 

बाबाले आशीर्वाद दिए– ‘तिमीहरूको कल्याण होस् ।’

वरमिताको पिताले भन्यो– ‘हे तेजस्वी सन्यासी तपाईंले कन्याण होस् भन्ने आशीर्वाद त हामीलाई दिनुभयो तर हामी त यहाँ एक अकल्याणकारी समस्यामा अल्झेका छौँ ।’
सन्यासीले हाँसेर भन्यो– ‘विश्वमा यस्तो कुनै समस्या छैन, जसको समाधान छैन ।’ सन्यासीको कुरा सुनेर सबको मनमा आशाको सञ्चार केही मात्रामा भयो । यत्रा सिद्धपुरुषले भनेको वचन खेर जाने छैन होला । यी त्यसै त बोल्दैनन् । 

वरमिताका पिताले हात जोरेर भने– ‘हे महात्मन्, हामी समस्याको एउटा ठूलो भूमरीमा परेका छौँ । हाम्रो उद्धार गरिदिनुहोस् । म आफ्नो समस्या बताउँछु ।’ 
वरमिताका पिताले बोल्नै आँट्दा सन्यासीले नबोल्ने संकेत गरे । 

अनि सन्यासीले भने– ‘मबाट कुनै समस्या तिमीहरूको लुकेको छैन । म हिमालयमा तपस्या गरेर यतातिर आउँदाआउँदै थाहा पाएँ । मैले आफ्नो दिव्यदृष्टिद्वारा तिमीहरूको के समस्या हो । यी तीनमध्ये एकजना मेरा शिष्यसमेत हुनाले यहाँ आउन मलाई कर लाग्यो । मेरो शिष्यको गुरुभक्तिले प्रसन्न भएरै मैले यिनलाई सञ्जीवनी जल दिएर पठाएको हुँ । त्यसै जलद्वारा तिमीहरूले आफ्नी अनुपम गुण भएकी पुत्रीलाई पुनः प्राप्त गर्न सक्यौ । यही जलका कारण फेरि समस्या पनि उत्पन्न भयो । त्यसकारण मैले तिमीहरूको समस्या समाधान गरिदिनुपर्छ । त्यसैका लागि म आएको हुँ ।’
सारा खुसी भए । वरमिताका पिताले भन्यो– ‘चाँडो समस्या समाधान गरिदिनुहोस् र हामीलाई यो भूमरीबाट मुक्त गरिदिनुहोस् ।’

सन्यासीले हाँस्दै भने– ‘यत्रो ठूलो समस्या, जसका लागि तिमीहरूको कति दिनको निद्रा हरण भयो, यति चाँडो समाधान खोज्दछौ ?’

आज म थकित छु । यहाँ एक रात विश्राम गर्न चाहन्छु । बेलुकी फलाहार केही जुटाइदिन्छौ भने, त्यही भोजन गर्न चाहन्छु । म तिमीहरूको हातको अन्न, समाधान दिएपछि मात्र ग्रहण गर्नेछु ।’
टोलका सबै खुसी भए । सिद्धको सेवा पनि हुने भयो, समस्याको समाधान पनि प्राप्त हुने भयो । तिनीहरूले एउटा घरलाई लिपपोत गरेर सफासुग्घर बनाए । सन्यासीका लागि शय्याको बन्दोबस्त गरिदिए । 

सन्यासीले राति फलाहार गरे । त्यसपछि केहीबेर बज्रासनमा बसेर ध्यान गरेपछि ग्रामबासीहरूले प्रेमपूर्वक बनाएको पराले ओछ्यानमा सुते । 
सन्यासी ब्रह्ममुहूर्तमा उठेर नदी किनारामा गएर योग आदि गरेर, स्नान ध्यानपछि पुनः गाउँलेसमक्ष उभिए । सबै उत्सुकतापूर्वक सन्यासीको निर्णायक वचन सुन्न थाले । सन्यासी गम्भीर वाणीमा बोल्न थाल्यो– हेर, तिमीहरू मेरो कुरा ध्यानले सुन । म शास्त्रसम्मत आधारमा बोल्दछु र त्यसविपरीत गयौ भने तिमीहरूलाई पाप लाग्नेछ । 
तीनै वर त्यागी हुन् । वरमिताका लागि तीनै वर समान योग्य छन् । तर म अन्तिम कुरा भन्दछु । 

मेरो शिष्यलाई मैले सञ्जीवनी जल दिएकाले, वरमिताले पुनर्जीवन पाएकी हो । तर सोच, पुनर्जन्म दिने व्यक्ति पितासमान हुन्छ । त्यसकारण महत्वपूर्ण कार्य गरे पनि जन्म दिने वरपिता हुनाले त्योसँग वरमिताको विवाह हुनु धर्मविपरीत हुन्छ, त्यसकारण, देख्दा महत्वपूर्ण भए पनि त्यो वर अब वरमिताको पिता बनेको छ । जुन वर आगोमा हाम फाल्यो, वरमिताका साथ, विवाह हुन सक्दैन । किनभने वरमिताका साथ त्यसको पनि पुनर्जन्म भयो । वरमितासँगै जन्मेकाले ऊ वरमिताको भ्राता भयो । उहिल्यै पनि त राजा द्रुपदले यज्ञबाट जन्मेका द्रौपदी र धृष्टधुम्नलाई दाइबहिनी नै मानेर प्रमाणित गरेका थिए । त्यसकारण भ्राता–भगिनी विवाह वर्जित हुनाले सम्भव छैन । 

अन्त्यमा त्यो वर जो वरमिताको खरानीका अघिल्तिर तपस्यारत भएर बस्यो, त्यही शास्त्रसम्मत छ । विवाहका लागि । 
यसको त्याग कम देखिएला, तर मेरो एक प्रश्नको उत्तर देओस् यो खरानीको रक्षा नगरेको भए मेरो शिष्यले सञ्जीवनी जल कहाँ छम्किन्थ्यो र वरमिता जीवित हुन्थी ? त्यसकारण यही वर शास्त्रसम्मत छ ।’

सन्यासीले सबैका आँखा उघारिदियो । यही योग्य वरसँग अन्त्यमा वरमिताको विवाह भयो । दुवै खुसीखुसी जीवन बिताउन थाले । 

समाप्त