साजन देउजा 

विद्यार्थीको बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षा प्रणाली विशेषगरी विद्यालयको पाठ्यक्रमले निर्धारण गर्ने गर्दछ । प्रत्येक कक्षाको शैक्षिक उपलब्धि भनेको हरेक वर्षको अन्तिममा गरिने परीक्षाको परीक्षाफलबाट निर्धारण गरिने प्रचलन रहिआएको छ । एक विद्यार्थी जो एक वर्षसम्म विभिन्न विषयमा दख्खल राखी अध्ययन गर्दै गर्दा पाठ्यपुस्तकमा प्रयोग गरिएको भाषा र त्यसको सरल अर्थ र ठीक सूचनाले उसलाई शैक्षिक ज्ञान मात्र दिँदैन उसलाई एक सचेत र जिम्मेवार नागरिकका साथसाथै आफ्नो भविष्यको मार्ग निर्धारण गर्न समेत मद्दत पुर्‍याउँछ । एउटा विद्यार्थी एक वर्ष लगाएर एउटा कक्षा उत्तीर्ण गर्दा उसको बौद्धिक ज्ञान र नैतिक ज्ञानको क्षमता मापन गर्ने परीक्षा हुन सक्छ या सक्दैन भन्ने विषयको पनि चर्चा परिचर्चा एक विषयवस्तु बनेको छ । तर घरमा भएका अभिभावकहरू यस बारेमा कति ज्ञात राख्दछन् भन्ने विषय पनि अर्को पाटो पाटो हो ।

ad

शिक्षक भनेको त्यस्तो व्यक्तित्व हो, जसले उसको ज्ञान सजिलै मापन गर्दछ । वर्तमान परिवेशमा कुरा गर्ने हो भने शिक्षकहरूमा बडो असन्तुुष्टि बढेको छ । शिक्षकहरू अहिले बनेको पाठ्यक्रम र शैक्षिक नीतिबाट विद्यार्थीको अभिवृद्धि र स्तरोन्नति नभएको दाबी गर्छन् । निम्न माध्यमिक र माध्यमिक तह तहको पाठ्यक्रममा मेल नखाँदा एक हिसाबमा यो समस्या आइरहेको भन्ने अनुमान धेरैको रहेको छ । राम्रो शिक्षाको लागि भाषाको ज्ञान हुनु महत्वपूर्ण मानिन्छ ।  हामीहरू आफ्नो नेपाली भाषामा भन्दा अंग्रेजी भाषामा बढी महत्व दिइराखेका छौँ । जसको कारणले विद्यार्थीले आफ्नो महत्वपूर्ण समय खेल्न कुद्न भन्दा पनि किताब रटाई गर्न खर्च गर्नुपरेको छ । यो किन परेको छ भन्ने प्रश्नको उत्तर भने एकदमै सजिलो छ, हामी आफ्नो घरमा बोलीचालीमा प्रयोग हुने नेपाली भाषा किताबमा देख्न पाइरहेका छैनौँ । यसले विद्यार्थीमा एक किसिमको दूरी सिर्जना गर्दछ । जब आफूले बाल्यकालमा बोल्दै र सुन्दै आएको भाषाविपरीत पठनपाठन हुन्छ, त्यसले असमझदारी सिर्जना गर्दछ । त्यसकारण हाम्रा विद्यार्थी न नेपाली भाषामा पोख्त हुन सक्छन्, न अंग्रेजी भाषामा । यसकारण दुई भाषाको मिसावटले कुनै पनि भाषाको ज्ञानलाई पूर्णता दिँदैन ।

यसले अझै जटिलता उत्पन्न गराउँछ । न हाम्रा विद्यार्थी नेपालीमा सबल हुने भए, न त अंगे्रजीमा नै । विभिन्न अध्ययनहरूले यस विषयमा अध्ययन गरेर प्रतिवेदन पेस गरे तापनि सरकार र नीति निर्माणमा रहेका बुद्धिजीवीबाट पाठ्यक्रम सुदृढ गराउने प्रयास नभएर परीक्षाको नतिजा मापन गर्ने सिस्टम नै परिमार्जन गरियो । ग्रेडिङ प्रणालीले कक्षा उत्तीर्ण गर्ने बाटो खुले पनि ज्ञानको ज्योति फैलाउने ढोका भने पूर्णरूपमा बन्द गरिदियो ।

कुनै भाषामा राम्रो ज्ञान हुन सरदर एकदेखि दुई वर्ष काफी हुन्छ । उदाहरणका लागि अहिले विदेश जाने विद्यार्थीलाई भाषाको अनुभवको कुरा गर्ने हो भने कुनै पनि देशको भाषा एक वर्षमा सिकेर रोजगारी हासिल गरेर स्थापित भएको कुराहरू सुन्न र देख्न सकिन्छ । चाहे जापानिज भाषा होस्, कोरियन भाषा होस् या जर्मनी भाषा होस् । यहाँ सामान्य आधारभूत भाषा सिकेर गएपश्चात् आफू अध्ययन गर्ने विश्वविद्यालयमा एक वर्ष थप अध्ययन गर्दा सजिलै भाषा जान्न सकिने उदाहरण हामीसँग छ । अब नेपाली भाषामा पूर्ण रूपमा किताब पढ्दा सजिलो बनाउने हो भने गाह्रो मानेको विज्ञान विषय पनि विद्यार्थीले सजिलै बुझ्न सक्छन् ।

पहिलेका एसएलसी पास गरेका मानिसहरूको क्षमता र अहिले स्नातक उत्तीर्ण गरेका व्यक्तिहरूको शैक्षिक योग्यतालाई तुलना गर्ने हो भने पहिलेका एसएलसी पास व्यक्ति नै हावी हुने भएका छन् । अंग्रेजीमा कमजोर होलान्, तर अहिलेको भन्दा केही बढी दख्खल पुराना पुस्ताले राख्दछन् । नेपाली भाषामा अध्ययन गर्दा उनीहरूले किताबका अक्षर राम्रोसँग आफ्नो दिमागमा राखेकाले त्यो व्यावहारिकतामा उतार्न पनि सहज भएको होला । नेपालमा रहेका विश्वविद्यालयहरूमा स्नातक पढ्ने सामाग्री र पाठ्यक्रम नेपालीमा उपलब्ध छैन । मानविकीशास्त्रहरूमा केही किताब छापे पनि इन्जिनियरिङ, मेडिकल साइन्सतर्फ अंग्रेजीमा नै पठनपाठन हुन्छ । विद्यालयस्तरबाटै यदि नेपाली भाषालाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउने हो भने हामी शतप्रतिशत नतिजा ल्याउन सक्दछौँ । अहिले नेपाली विषय एउटा मात्र अनिवार्य विषय बनाउनुको नतिजा कस्तो रहेको छ भन्ने कुरा जगजाहेर नै छ ।

नेपाली भाषालाई हामीले संरक्षण गर्नुको साटो हाम्रो समाजबाट यसलाई विस्थापित गर्ने शैक्षिक नीतिले देशका भविष्य मानिएका विद्यार्थीहरूलाई कमजोर त तुल्याएकै छ यसले उनीहरूको समेत ज्ञानको स्तर शून्यतर्फ जाँदै छ । हामी सय प्रतिशत रिजल्ट निकाल्ने होडबाजीमा दश प्रतिशत रिजल्टको प्रतिफल हासिल गर्दै छौँ । यो भयानक बन्दै गइरहेको अवस्थामा अब सुधार गर्न बाँकी रहेको समय अविलम्ब गरिएन भने यो झन् डरलाग्दो र कहालीलाग्दो अवस्थामा पुग्नबाट हामीले रोक्न सक्दैनौँ । 

अभिभावकको मनोविज्ञान 

अभिभावकको मनोविज्ञानमा पनि परिवर्तन आउन अत्यावश्यक छ । हाम्रा बच्चाहरूलाई सानै उमेरमा अंग्रेजी बोल्न सिकाउँदा आफ्नो हैसियत बढेको अनुभूति गर्दै छौँ, त्यो अत्यन्तै हास्यास्पद छ । यसले बच्चाको मानसिकतामा समेत असर गर्ने गर्दछ । जसरी सरी भन्ने अंग्रेजी शब्दले माफी भन्ने शब्दलाई विस्थापित गरेजस्तै अर्धचेत विस्थापित गर्दछ । हामी अभिभावकले आफ्नो बच्चालाई पूर्णरूपमा नेपाली भाषा सिकाउन सकेका छैनौँ । अंग्रेजी बोल्दैमा आफ्नो सामाजिक स्तर उच्च रहेको प्रमाणित हुँदैन, यसले सामाजिक इज्जतको गलत भाष्य प्रस्तुत गरिरहेको छ । प्रस्ट नेपालीमा बोल्न सक्नु, लेख्न सक्नु र पढ्न सक्नु भनेको कुनै पनि विषयमा पोख्त हुनु सावित हुनुपर्नेमा आधा नेपाली बुझ्नु र आधा अंग्रेजी बुझ्नेले कुनै पनि विषयमा पोख्त नहुनु हुन्छ । नेपालमा विकसित भएको खुला शैक्षिक नीतिले शैक्षिक बजार त स्थान गर्‍यो, जसले प्राइभेट बोर्डिङ स्कुल त जन्मायो तर प्राइभेट स्कुललाई अंग्रेजी पढ्ने इन्टिच्यूटको रूपमा अगाडि सार्दै यसले ज्ञानको भण्डारमा अर्ध ज्ञानको भागबन्डा मच्चायो । 

आखिर किन अंग्रेजी भाषा पढाइन्छ बोर्डिङ स्कुलमा भन्ने प्रश्नले मलाई सधैँ पिरोलिरहन्छ । त्यस संस्थामा त हामीले भाषा कोर्स गर्नेभन्दा पनि उच्चस्तरीय ल्याब, उच्चस्तरीय कक्षाकोठा र सुविधाको अनुभूति गर्नलाई विकास गरिएको हुनुपर्ने हो । सरकारी स्कुलमा नभएका स्रोतसाधन त्यहाँ उपलब्ध हुनुपर्ने हो, तर हाम्रा प्राइभेट स्कुल अत्याधुनिक भौतिक पूर्वाधारमा होइन, अंग्रेजी पाठ्यक्रमको एउटा इन्टिच्युटको रूपमा मात्र विकसित भए । यसो भन्दै गर्दा र लेख्दै गर्दा प्राइभेट विद्यालयले कुनै पनि योगदान गरेको छैन र होइन भन्नु अर्थ होइन । साथसाथै सबैले यस्तो कार्यक्रममा मात्र जोड दिए भनेको होइन । धेरै प्राइभेट स्कुल छन्, जहाँको विद्यार्थी राम्रोसँग नेपाली लेख्न पढ्न सक्छन् र देशमा विभिन्न किसिमले योगदान गरिरहेका छन् । कुरा महँगो र सस्तोको पनि होइन, आफ्नो गच्छेले धान्दछ भने आफ्नो स्तरको विद्यालयमा पढाउने स्वतन्त्रता सबैमा छ तर आफ्नो बच्चाले एउटा सरकारी विद्यालयमा पाउने जति सेवासुविधा नपाउँदा समेत प्राइभेटमा विद्यार्थी भर्ना गराउन कत्तिको उपयुक्त होला ? एउटा बच्चा पनि बोर्डिङमा हाल्न नसक्ने हो भने के इज्जत हुन्छ भन्ने मनोविज्ञान अभिभावकमा परेको छ ।

तर हामीले कुनस्तरको शिक्षा उसलाई दिइराखेका छौँ भन्ने आकलन हामी छैन । सरकारी तथा सामुदायिक विद्यालयबाट पनि राम्रो नतिजा आइरहेको छ तर पछिल्लो समय विद्यार्थीको अभाव र शिक्षकको अभावले सामुदायिक विद्यालय खस्कँदै गइरहेको छ । अभिभावकको मानसिकता यतिसम्म खराब भइसकेको यदि कुनै प्राइभेट स्कुलमा सस्तो फी छ भने त्यहाँको शिक्षा राम्रो छैन भन्नेसम्मको सोच विकास भइसकेको छ । हाम्रो समाजले अहिले महँगो शुल्क भएका विद्यालय ठीक र सस्तो शुल्क भएका विद्यालय बेठीक भनेर तुलना गर्न थालिसकेको छ । वास्तविकतामा यो पटक्कै  मेल खाँदैन । अत्यन्तै नाम चलेका र महँगा स्कुलका विद्यार्थीलाई एकपटक नेपालीमा एउटा निवेदन लेख्नुभन्दा कलम चलाउन नसक्ने किस्सासम्मको उदाहरण हामीसँग सजिलै उपलब्ध हुन्छ । अझ कतिलाई त कखरासम्म भन्न आउँदैन । जब बोलीचालीदेखि व्यावहारिकतासम्म प्रयोग हुने भाषालाई हामी महत्व दिँदैनौँ भने आयातीत भाषामा निर्भर गर्नु कत्तिको बुद्धिमानी हुन्छ ? भाषाको प्रयोग र पाठ्यक्रमको विकासलाई मूलभूत एजेण्डा बनाएर अगाडि सार्ने हो भने स्कुलदेखि विश्वविद्यालयसम्म नेपाली भाषा प्राथमिकतामा राख्ने समय कहिले आउँछ भन्ने प्रश्नको जवाफ केही समयमै आउनेछ । अब केही समयमा नेपाली भाषाको पूर्ण ज्ञान भएका शिक्षक मात्र होइन, अभिभावकसम्म नहुने समय आउन धेरै कुर्नु पर्दैन । 

समाजमा सिर्जना गरेको गलत भाष्य र अंग्रेजी मोह त्यागी सबल युवाको परिकल्पना गर्न हामीले आफ्नो भाषालाई प्राथमिकतामा राख्न अत्यन्तै जरुरी छ । छिमेकी राष्ट्र जसले आफ्नो भाषालाई महत्व दिइराखेको छ, उसले कुन स्तरमा आर्थिक र सामाजिक उन्नतिको फड्को मारेको छ चीनमा आफ्नै भाषामा पठ्नपाठन हुन्छ बरु चीनले भाषाको असमझदारीलाई चिर्न अत्याधुनिक ट्रान्सलेट गर्न सक्ने डिभाइसको आविष्कार गर्‍यो जसबाट वार्ता गर्ने अर्को भाषीको वाक्य तुरुन्त चिनियाँ भाषामा परिणत गर्दछ । एउटा दोभाषेको प्रयोगमा पूर्ण रूपमा आफ्ना वार्तालाप अगाडि बढाउन सक्ने कुरालाई राष्ट्रिय शैक्षिक प्रणाली नै जीर्ण बनाउने काम हामीबाट भइराखेको छ । हामीमा स्वदेशीपन र राष्ट्रियताभन्दा विदेशीपन र पश्चिमा रहनसहनको मोह बढाउने प्रचलनले भविष्यका कर्णधार विद्यार्थी, युवा संक्रमित छन् । हामी सम्पूर्ण नागरिकदेखि नीति निर्माणकर्ता र सम्पूर्ण सरोकारवालाहरूले यस विषयमा गम्भीर निर्णय गर्नुपर्ने अवस्था आइसकेको र यसलाई राष्ट्रियस्तरको छलफलको विषय बनाउनु अहिलेको आवश्यकता हो भने शैक्षिक क्षेत्रको एक ठूलो चुनौती पनि हो ।