वसन्त लोहनी

एउटा विद्वान् कहाँ केही भिडभाड देखेँ,

ad

सोधेँ, ‘यो के हो भनेर ?’

एकजनाले भने, ‘हामी सर कहाँ नै आउँछौँ ।’

फेरि प्रश्न गरेँ, ‘किन ?’

उनले जवाफ दिए, ‘कसैले गर्ने केही होइन ।’

म केवल हेरिरहेँ ।

उनले अरू थपे, ‘तर दुःख मात्र दिन्छन् ।’

अझ जिल्ल परेर हेरिरहेँ ।

उनले प्रस्ट्याए, ‘सरले थेसिस नहेरीकनै सही गरिदिनुहुन्छ ।’

 

यो भयो सरहद वारिको कथा—

नितान्त चोखो कथा,

जहाँ कुनै खरिद–बिक्री छैन ।

सरहद पारीको कथा झन् बेग्लै—

सब्जी मन्डी, मसला मन्डी, दाल मन्डी, हीरा मन्डीजस्तै

ठाउँ–ठाउँमा विद्वत् मन्डी नै खुलेका,

जुन स्तरको पनि विनिमय गर्न पाइने

यसले यता सरकारी कार्यालयमा समस्या नै पारेको

ठूला अधिकृतहरू विद्वत् मन्डीका विनिमय–प्रमाणपत्र बोकेर

झन् झन् ठुलो हुँदै राजकाज गरिरहेका

कति हटाइए, कति आफैँ छोडेर गए, कति थपिँदै छन्—

खै ! यसको के लेखाजोखा ?

फेरि सरहद वारिको कथा—

महापण्डित बन्न कर्मकाण्ड पूरा गर्ने झन्झट 

थेसिसको त समस्या नै रहेनछ

जति विश्वविद्यालयलाई पिलन्धरे पारे,

त्यति अचाक्ली कर्मकाण्ड बढेको

आलोकाँचो निबन्ध–पीएचडीहरू

उम्रिरहेका,

अनवरत उम्रिरहेका

त्यसपछि विद्वताको शिखर बनेर

ज्ञानको वर्षा गरिरहेका ।

 

डाक्टर साहबको सम्बोधन—

युट्युबर क्यामेराको अगाडि ङिचिक्क हाँसेर

अरूलाई जति सक्दो होच्याएर बोल्दाको आनन्द !

त्यति मात्र कहाँ हो र ?

जति होच्याउन सक्यो,

त्यति आफ्नो कद बढिरहेको महसुस हुने ।

 

आकासिएको चंगा जस्तो—

आकासिएको अहं–प्रदत्त ज्ञान ।

नामको अगाडि ‘डाक्टर’ लागेपछिको

विद्वताको वर्षा

कति ज्ञान कति ? महापण्डित बनेको महाज्ञान

लामो जागिर खाएर निवृत्त हुने बेला

पार्टी–कोटामा टिपेक्स–प्रदत्त प्राध्यापक लागेकाको त

भुइँमा खुट्टै नभएर उडिरहेका

त्यसैले होला, सबैलाई तल देख्ने,

सबै सानो भन्दा सानो

आफू कति अग्लो, कति ?

 

अहिले चल्तीमा छ विद्वताको यो नयाँ ब्रान्ड—

अनि पो यस्ताको विद्वत् चुरीफुरी छ यहाँ ।