
वसन्त लोहनी
भ्रष्टाचारले निसासिएको मुलुकमा
संक्रान्तिको क्रमबद्धता टुटेर पो हो कि ?
कहालीलाग्दो असन्तोषको बादल उठिरहेका
त्यसभित्र लुकेका मेघदूतहरूले
क्रान्तिलाई नै नियमित तुल्याएका छन्
अब सिंहदरबार पनि रहेन अर्कोपटकका लागि
प्रत्येक क्रान्तिले कान्ति होइन भ्रान्ति मात्र ल्यायो ।
निहित उद्देश्यको लागि दानापानी खुवाएर पालिएकाहरू
अदृश्य हातहरूले उठाइएकाहरू
हुटिट्याउँले आकाश थामेजस्तो
जनताले चिन्दै नचिनेकाले पनि
आफूलाई प्रधानमन्त्री वा सोसरहको ठान्न थाले
भ्रष्टाचारले प्रधानमन्त्रीको पदलाई नै सस्तो पारेको त होइन ?
या असन्तुलन सिर्जना गर्ने अदृश्य हातहरूले ?
काव्यिक शिल्पबाट नै हेरौँ यसलाई ।
सार्वजनिक खपतका लागि कानुनबाहेक कुरै नगर्ने
तर कानुनलाई पिलन्धरे पार्न सधैँ अगाडि
एउटा मात्र उदाहरण हेरौँ
कानुन भन्छ –
६० दिनभित्र सम्पत्ति विवरण पेस गर
दशकौँदेखि आलोपालो प्रधानमन्त्री बनेका यी
कानमा तेल हालेर बस्छन्
विधिको शासन र पारदर्शिता भने रटिरहन्छन् ।
यीमध्येमा –
कानुनसम्मत भ्रष्टाचारगर्न सक्नेको जब खोजी हुन्छ
त्यसको अग्रणी व्यक्तित्व उनी
जो कोहीले यसरी निर्धक्क भ्रष्टाचार गर्नै सक्दैन
कोही कोहीले मात्र गर्न सक्छन्
त्यो कोहीकोही मध्येको सर्वश्रेष्ठ उनी
भ्रष्टाचार गर्ने ब्लुप्रिन्ट नै बनाएर
त्यसपछि ऋणको भारी जनतालाई बोकाएर
सो अनुरूप कानुन नै संशोधन गरेर
नियम–विनियम नै अदलबदल गरिदिएर
अनि कार्यान्वयनका लागि
व्यक्ति छनौट, तैनाथ र सेटिङ मिलाएर ।
अब्बल भ्रष्टाचार गर्न सक्ने उनी नै छन्
कसैले प्रश्न ग¥यो भने,
उनी आफैँ घोषणा गर्छन्–
कानुनसम्मत छ
यो त अति नै भयो भनेर विरोध भई नै रह्यो भने
उनका मुसदण्डहरूले थर्काएर भन्छन्–
पञ्चायतदेखि प्रजातन्त्रको लागि लडेको मान्छे हो ।
के हो प्रजातन्त्रको लागि लडेको ?
के हो लोकतन्त्रको लागि जेल परेको ?
रूपान्तरणको मूल्य र मान्यता जब हिफाजत हुँदैन
के फरक भए यी डाँकुभन्दा ?
डाँकुलाई त अझै कानुनको डर हुन्छ
यी त राज्य नै म हुँ भनेर निर्भय भएका
डाँकुले पनि युद्ध लडेका हुन्छन्
डाँकु पनि २० वर्ष जेल परेका हुन्छन्
अनि किन यो गनगन, किन यो बगबग
फुत्त र लुत्त, सुस्त र चुस्त तुकबन्दी
होइन, के को लागि ?
बोलेको बोल्यै छन् कहिले नथामिनेगरी
खोला बगेकोजस्तो
झुटको पुलिन्दा खोलेको खोलै छ
सत्यलाई कति दिन ढाक्ने यसरी ?
चन्द्रमामा कालो दाग छ,
भनिन्छ भगवान् पूर्ण छैनन्
तर यिनी भगवान्भन्दा माथि जस्तो
सधैँ दोषरहित आफूलाई देखाउँछन्
अनवरत झुटो कथनको बगबग गरेर
हाहा हुहु हीही –
जसले राज्य यात्रा नै भ्रष्टाचारबाट थालनी गरे
रिकन्डिसन गाडीहरूको भुक्तानी नयाँ गाडीको गरेर
ऊ आफूलाई निखरा चोखो भन्छ
३० वर्षे लुटपछि आजकाल त भन्न थालेका छन् –
मैले भ्रष्टाचार नगर्नु नै अपराध भयो
हल्ला गरेर हुँदैन; कहाँ भ्रष्टाचार ग¥यो?, कहाँ घुस खायो ?
छोटो कुरा गरौँ –
यिनका आधा दर्जन घरहरू भ्रष्टाचार बेगर कसरी बने ?
कहाँको उत्तर जहाँ पनि छ उनको भ्रष्टाचार
यति, ओम्नी, बतास, भुसाल, जग्गा जमिन, जलहरी,
रासायनिक मल, धरहरा, हायत, जनताको बचत, मेलम्ची
जहाँ हेरे पनि छ
जति भ्रष्टाचार गरे पनि जोगिन उनले सुरक्षा कबच नै बनाए
त्यो हो – नीतिगत निर्णय
अनि त भ्रष्टाचारीले अख्तियारलाई हकार्ने दिन आयो
भोटे कुकुरजस्तो पाल्ने दिन आयो
लौन, कस्तो दिन आयो यो मुलुकमा ?
जो चोर उसको पो ठूलो स्वर
कानुन उसको, संसद् उसको, अदालत उसको
यस्तो अवस्थामा जे बोले पनि हुने,
जे गरे पनि हुने
आफ्नो अनुकूलताको कानुन बनाउन मिल्ने
नमिलेको अवस्थामा अध्यादेश छँदै छ
बाउन्न वटा संवैधानिक नियुक्ति त गर्न मिल्यो
लुटतन्त्रात्मक गणतन्त्रको उन्नयन अराजकता
भ्रष्टाचार गर्न अपराधी पाल्ने सत्ता राजनीति
सेकेन्ड ह्यान्ड गाडीको फस्र्ट ह्यान्ड बीज हुँदै
झुटै झुटभित्र वाइड बडी, न्यारो बडीको लुट
संसद्मा समेत ठाडै झुट
भुक्तानी नै नगरेको झुट
उच्चस्तरीय न्यायिक आयोगको झुट
कानुन अनुसार ट्रस्टको जग्गा दिन पाइँदैन
तर आफ्नालाई बाँड्न ऐन कानुन नै अर्को बनाइन्छ
ओम्नी हुँदै कोभिडसम्म पनि चुसेर खाए
कसैले गर्नै नसकेको आँटिलो काम गरे
गिरिबन्धुको लागि कानुनी नै अदली बदली पारे
जसको अर्जुनदृष्टि केवल सत्ता आडको भ्रष्टाचारमा
ऊ भन्छ –
मैले जीवनभर भ्रष्टाचारविरुद्ध लडेँ
यसो भन्दा दन्त मन्जन बेच्नेले
दाँत भरी मन्जन लगाएपछि
दाँतले डन्डी बंग्याएको देख्नेहरूले
बजाएको थपडीजस्तो
त्यसैमा अल्हादित भएको छ ऊ
करिब १८ किलोको एक करोड
यस्ता जलेका बन्द बोराका बोराहरू
खरानीले बोकेको राज्य लुटका कथाहरू
के हराइसके र ?
भ्रष्टाचार विरुद्ध लडेको,सुशासनको लागि लडेको
शृंखलाबद्ध यस्ता फटाहा कुराहरूले
कहिलेसम्म धान्ने चुलिएको अहंकारलाई ?
बनेको प्रोजेक्टमा भ्रष्टाचार धेरैले गरे
प्रोजेक्ट बनाए भ्रष्टाचार गर्न सक्ने उनी नै रहे
नपत्याए मुलुक भरिका भ्यु टावर हेरौँ
तर तार्किक गफ उनैको आउँछ उल्टो –
इफेल टावर के धान उमार्न बनाइएको थियो र ?
भो ! अब केही लाग्छ ?
जहाँ नंगा नाचे हजार दाउ हुन्छ
राजनीतिक दलहरू नै हो मुलुकको राजनीतिक पुँजी
तर प्राइभेट लिमिटेड कम्पनी बनेका यी
पुजी नभएर निजी बनेका
विकास र समृद्धिको एकोहरो सारंगी बजाउनको लागि
यसको परिणति–
लाखौँ लाखले मरुभूमिमा मृत्युसँग सम्झौता गरिरहेका
तीमध्ये दुई महिनामा १४२ बाकसमा फर्किएका छन्
यसरी जोहो गरेका रकम
गुल्छर्रा उडाउन बचेका यता यी
जसले यसरी अर्थतन्त्रलाई सुकुलगुण्डा पा¥यो
राज्य सम्पत्तिलाई खुलेआम उडायो
सम्पत्तिको जोहो गर्नेलाई
उ भन्छ –
मुलुकको अर्थतन्त्रलाई ध्वस्त पार्ने प्रयास भइरहेको छ
उल्टो ऊ पो मुसदण्डबाट घेरिएर आह्वान गर्छ जनतालाई–
उसको लागि आँधीबेहरी गएर आऊ
लुटेरा सरकार र लुट रोक्न चाहने सरकारबीच
तुलनात्मक फरकहरू अहिले देखिइरहेका छन्
भिजिबिलिटी नभएको गत वर्षको गफ र प्रतिप्रश्न –
कसरी थाहा पाउने यही ठाउँमा पहिरो जान्छ भनेर ?
र, अहिलेको सरकारी ढाडस र तयारी अवस्था
यसरी थाहा हुन्छ गफ र यथार्थता
तर पनि बगबगको थामिने नाम छैन
मुक्तिदाता बनेकाको लोभले
मूच्र्छित पारेको एक थान संविधान
त्यसलाई बिउँताउने सञ्जीवनी बुटीको लागि
फुचुनोहरूको पर्वत उचाल्ने कसरतमा
अदृश्य हातहरूको यो प्रयोग माथिको प्रयोग
भ्रष्टाचार सहजीकरण र यसको उत्पादन
त्यसैलाई रिएजेन्ट बनाएर गरिँएका प्रयोगहरू
त्यसबाट दशकौँदेखि निस्किरहेको परिकम्पनलाई
कहिलेसम्म धान्न सक्छ यो मुलुकले ?
निसासिएको सुस्केरा भन्छ –
होइन, कहिले सकिने होला यो ?
लोभले आफ्नो तागत सकिएपछि
दिग्भ्रमित भएर आफ्नै जिब्रो जलिरहँदा पनि
चकोरले जस्तो चन्द्रमालाई हेरिरहनु पर्ने अवस्था
खै ! अरु कसरी वर्णन गर्ने ?









Facebook Comments