काठमाडौं । शीर्ष राजनीतिक नेताहरू सक्किने कि, सच्चिने भन्ने बहस सुरु भएको झण्डै आधा दशक भयो, यसको मूल कारण नेकपा माओवादी केन्द्र मूलधारको राजनीतिमा आएदेखि ‘म्युजिकल चेयर’ खेलझैँ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका शीर्ष नेताहरू अर्थात् पार्टीका मुखियाहरू नै आलोपालो प्रधानमन्त्री बनिरहने, तर मुलुकमा कुशासन, भ्रष्टाचार बेथिति बढ्दै जाने, अर्कोतर्फ जनअपेक्षाअनुसारका कुनै कार्य नहुने, मुलुकमा तिनै नेताहरूको संरक्षणमा बिचौलियाहरूको बोलवाला बढ्दै जाने, यसैबीचमा कैयौँ काण्ड रचयिता बिचौलियाहरू नव धनाढ्यको रूपमा स्थापित हुँदै जाने, हरेक नियुक्ति र सरुवामा पैसाको चलखेल बढ्दै जाने र नेताहरू आफन्त र नातावाद कृपावादमा मात्र लिप्त हुँदा देशको आर्थिक अवस्था भने झन्झन् विकराल बन्दै जाँदा यिनै पार्टीमा रहेका केही निष्कलंक युवा नेताहरूले अब सक्किने कि सच्चिने भन्ने बहस चलाएको निकै भयो ।

तर, यसलाई नेताहरूले सुनेर पनि नसुनेझैँ नजरअन्दाज गर्नाले सुशासन र भ्रष्टाचार निर्मूल गर्ने नाराका साथ सडकमा ओर्लिएका जेन–जी (युवाहरू)ले करिब २७ घण्टामै उनीहरूको दम्भ, अंहकार, हठलाई धुलिसात पारिदिएका छन् । मुलुकले जनधनको यति ठूलो क्षति बेहोर्दा पनि उनीहरूमा सच्चिने लक्षण देखिएको छैन । यदि अझै पनि नसच्चिए आफूसहित उनीहरूले पार्टीलाई समेत सती लिएर जाने सम्भावना बढ्दै छ । 

ad

सात दशकभन्दा अघिदेखि नेपालको राजनीतिलाई अग्रगामी मार्गमा डोहोर्‍याउन भूमिका खेलेका कांग्रेस–कम्युष्टिहरू अहिले अस्तित्व जोगाउनका निम्ति रक्षात्मक अवस्थामा पुगेका छन् । 
यी दलभित्र आन्तरिक शक्ति संघर्ष जारी रहेकै बेला भदौ २३ मा भएको जेन–जी आन्दोलनले आगोमा घिउ थपेजस्तो भएको छ । सबैजसो दलका नेतृत्व तहमा भएका नेताहरूको कमजोरीका कारण युवाहरूमा बढेको आक्रोश आन्दोलनका रूपमा विस्फोट भएको भन्दै दोस्रो/तेस्रो पुस्ताका नेताहरूले पहिलो पुस्ताका नेताहरूलाई पद छाड्न दबाब दिइरहेका छन् । कार्यकर्तामाझ निराशा र असन्तोष फैलिएको छ । त्यही असन्तोषकै कारण केही युवापुस्ताका सदस्य दल परित्याग गर्दै स्वतन्त्र आन्दोलन वा नयाँ संगठनतर्फ आकर्षित भइरहेका छन् ।

नेपाली कांग्रेसमा परम्परादेखि नै गुटबन्दी देखिँदै आएको छ । जेन–जी आन्दोलनपछि पार्टीभित्र त्यसको असर झन् बढेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आन्दोलनका क्रममा सांघातिक हमला बेहोर्नुपरेको छ । अहिले उनी उपचाररत छन् । तर, पटकपटक मुलुकको प्रधानमन्त्री भइसक्दा पनि युवाहरूको माग सम्बोधन गर्न नसकेका कारण जेन–जी आन्दोलन उग्र बनेको र प्रदर्शनकारीले उनलाई तारो बनाएको विश्लेषण हुने गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसले नयाँ पुस्तालाई सम्बोधन गर्ने स्पष्ट नीति ल्याउन नसकेको भन्दै नेतृत्वलाई दबाब दिँदै आएका थिए । 

युवापुस्ताले कांग्रेसलाई अझै अवसर दिन सकिने तर्क गरे पनि नेतृत्व तहले त्यसलाई बेवास्ता गर्ने परिपाटीका कारण पार्टीभित्रै विद्रोहको सम्भावना देखिएको छ । देउवा पक्षका नेताहरू पुरानो ढर्रामा चल्न खोज्दै छन् भने सुधार गरेर जानुपर्ने माग राख्दै आएको समूहले खुला रूपमै चुनौती दिइरहेको छ ।

नेकपा एमालेभित्र पनि जेन–जी आन्दोलनलाई लिएर ठूलो बहस भइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले  उक्त आन्दोलनलाई ‘अराजकता’को उपज भन्दै आलोचना गरे पनि पछिल्लो पुस्ताका नेताहरूले आन्दोलनको मर्मलाई बुझेर पार्टीलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । 

ओलीपश्चात् नेतृत्व कसले लिने भन्ने बहस झन् चर्किएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा पुनरागमन हुन दिने कि नदिने भन्ने बहस झनै सतहमा आएको छ । युवा पुस्ताले नेतृत्व हस्तान्तारणका लागि दबाब बढाउने देखिएको छ । ओलीकै पेलाइका कारण माधव नेपाल पक्ष छुट्टिएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।  उक्त पार्टीले पनि एमालेको विकल्पका रूपमा आफूलाई उभ्याउन सकेन । हिजो नेपाल पक्षमा रहेर काम गरेका युवा नेताहरूले एमालेको नेतृत्व परिवर्तनका निम्ति दबाब बढाइरहेका छन् । 

नेकपा (माओवादी केन्द्र)का लागि पनि जेन–जी आन्दोलन थप चुनौती बन्यो । दश वर्षे जनयुद्धमार्फत आएको यो दल परिवर्तनकारी शक्ति मानिएको थियो । तर हाल पार्टीको संगठनात्मक संरचना कमजोर हुँदै गएको छ । प्रचण्डको नेतृत्वप्रति आन्तरिक असन्तोष खुलेरै बाहिर आउन थालेको छ । उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई अध्यक्ष पदबाट राजीनामा दिन आग्रह गरिसकेका छन् । 

युवापुस्ता माओवादीलाई ‘क्रान्तिकारी दल होइन, सत्तामा बसेर भागबन्डा गर्ने दल’ भनेर आलोचना गर्छन् । माओवादीका केही नेता र कार्यकर्ताले आन्दोलनमा प्रत्यक्ष सहभागिता जनाएपछि पार्टीभित्र आत्ममन्थन सुरु भएको छ । 

जेन–जी आन्दोलनले देखाएको मुख्य पक्ष भनेको नयाँ पुस्ता र पुराना दलबीचको विश्वासको दूरी हो । पुराना दलहरूलाई पुरानै ढर्राबाट आफ्नो अस्तित्व टीकाइराख्न सहज छैन । देशव्यापी संरचना, ठूला संगठन र लामो राजनीतिक अनुभव उनीहरूको पुँजी हो । यही आधारमा कतिपय विश्लेषकले पुराना दल पूर्ण रूपमा समाप्त नहुने, तर नयाँ पुस्ताको दबाबले सुधारमा धकेलिने अनुमान गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका मत फरक–फरक छन् । एकथरीले जेन–जी आन्दोलनले पुराना दलको मूल जरा नै काटिदिएको दाबी गर्छन् । उनीहरूको बुझाइमा अब नयाँ राजनीतिक शक्तिलाई ठाउँ दिने बाटो खुलिसकेको छ । अर्काथरी विश्लेषकहरू भने दलहरू आफैँलाई पुनः परिभाषित गर्दै, युवा पुस्तालाई जिम्मेवारी दिने र आन्तरिक सुधार गर्ने हो भने अझै लामो समयसम्म प्रासंगिक रहन सक्ने बताउँछन् ।

कांग्रेसभित्र नेतृत्व पुस्ता परिवर्तन भए मात्र दल पुनर्जीवित हुनसक्ने अनुमान गरिएको छ । एमालेमा ओलीको उत्तराधिकारीको स्पष्ट नेतृत्व आउन सके भने संगठनलाई फेरि ताजगी दिन सक्ने सम्भावना छ । माओवादी केन्द्र भने गहिरो संकटमा छ, यहाँ नेतृत्व मात्र नभई संगठन र विचारको पुनर्निर्माण आवश्यक देखिन्छ ।

जेन–जी आन्दोलनले पुराना दललाई अस्तित्व संकटमा पारेको निर्विवाद छ । तर नेपालजस्तो समाजमा गहिरो संगठनात्मक संरचना भएको दल सजिलै सकिँदैनन् । तर, प्रश्न के हो भने, यी दलहरू पुरानै ढर्रामा चलिरहन्छन् कि नयाँ पुस्ताको मागअनुसार सच्चिन्छन् ? त्यसमै उनीहरूको भविष्य निर्भर हुनेछ ।

युवापुस्तासँग संवाद नगरेसम्म, पारदर्शिता र जवाफदेहितामा प्रगति नगरेसम्म यी दलको भविष्य अन्धकारमय देखिन्छ । त्यसैले, जेन–जी आन्दोलनले पुराना दललाई ‘सच्चिने कि सकिने’ दुई विकल्प मात्रै छोडिदिएको छ ।