भक्तपुर – भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कविर राणाले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन आयोगको आचारसंहिता र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम उनले जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा उक्त विवरण पेस गरेका हुन् ।

राणाले बुझाएको विवरण अनुसार निर्वाचन अवधिभर कुल १५ लाख ६ हजार ६ सय ५८ रुपैयाँ खर्च भएको देखिएको छ। खास खर्च छपाइ, ब्यानर र फ्लेक्समा भएको छ । त्यसका लागि ४ लाख २३ हजार ९ सय ५८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । त्यसैगरी, सामाजिक सञ्जाल, बुस्टिङ र भिडियो निर्माणमा ३ लाख ३५ हजार तथा सवारी साधन भाडा र इन्धनमा ३ लाख १८ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

ad

यसैगरी घरदैलो कार्यक्रम र खानामा १ लाख ५२ हजार रुपैयाँ, कार्यालय सञ्चालन तथा स्टेशनरीमा १ लाख १ हजार रुपैयाँ, साउन्ड सिस्टममा  १ लाख रुपैयाँ, मनोनयन दर्तामा १० हजार रुपैयाँ र मतदाता नामावलीका लागि २५ हजार खर्च हुँदा ४१ हजार ७ सय रुपैयाँ फ्लेक्स र झन्डामा खर्च भएको छ ।

उम्मेदवार राणाले खर्च विवरण प्रमाणित गर्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा आइतबार बुझाएका हुन् । निर्वाचन आयोगले तोकेको सीमाभित्रै रहेर पारदर्शी रूपमा खर्च विवरण बुझाइएको राणाले बताए ।