डा. ध्रुवचन्द्र गौतम

बरमिताका लागि एकै दिन तीन बर जन्ती लिएर आए । यो थाहा पाएर बरमिता चिता बनाएर, आगो लगाएर चितामा हाम फाली । त्यो देखेपछि एक बरले त तत्काल चितामा हामफाल्यो र जल्यो ।

ad

दोस्रो बरले चिताकै अघिल्तिर समाधि गरेर बस्ने निर्णय गर्‍यो । तेस्रोे बरले जंगलमा तपस्या गर्छु भन्यो । एकदिन आफ्नो कुटीभित्र उसले एक सन्यासीलाई बसेको देख्यो ।  
त्यो सन्यस्त जोगीको अनुहारमा एउटा तेज थियो ।

बरमिताको तेस्रो बर, जसको नाउँ बटुकेन्द्र थियो उसले भन्यो– ‘महात्मा, म बुझ्दछु तपाईं एक सिधा व्यक्ति हुनुहुन्छ । कुनै प्रयोजनले यता आउनुभएकाले यस क्षेत्रमा भेट भयो । मेरो कुटी तपाईंजस्ता महात्माद्वारा पदार्पण गरिएकाले धन्य भएको छ । अब मलाई आज्ञा होस्, म तपाईंको के सेवा गरूँ ?’

सन्यासीले मुसुक्क हाँस्दै भन्यो, ‘म हिमालय पर्वतबाट तपस्या सम्पन्न गरेर विभिन्न पहाड–पर्वतको भ्रमण गर्दै यहाँ आएको छु ।

अब तिमी अनुमति दिन्छौ भने म केही दिन यहाँ विश्राम गर्न चाहन्छु ।

बटुकेन्द्रले भन्यो– ‘हे पुण्यात्मा तपाईं जति मन लाग्छ त्यति दिन यहाँ विश्राम गर्न सक्नुहुन्छ । म तपाईं कसरी प्रसन्न हुनुहुन्छ, त्यो उपाय गरी तपाईंको विश्राम अवधि यो कुटीमा बढीभन्दा बढी होस् भन्ने चाहना राख्छु ।’

साधुले भन्यो – ‘वत्स त्यो त तिम्रो सेवामा निर्भर गर्दछ ।’

यो वाक्यलाई तेजस्वी सन्यासीको आज्ञा र संकेत भनेर बटुकेन्द्र प्राणदयाले सन्यासीको सेवा गर्न थाल्यो ।

ऊ जोगीका लागि वनका ताजा फलफूल टिपेर ल्याउँथ्यो । गाई दुहेर त्यसका विभिन्न परिकार बनाएर सन्यासीलाई अर्पण गर्दथ्यो । सुत्ने बेलामा साधुको खुट्टा मिच्थ्यो ।
साधु निदाएपछि मात्र आफू सुत्न जान्थ्यो ।

एकदिन साधुले भन्यो यो पोखरी देख्दछौ ?

बटुकेन्द्रले हात जोडेर भन्यो देख्दै छु भगवन् !

सन्यासीले भन्यो– ‘यो साधारण पोखरी होइन । जंगलका बीचमा हुनाले मनुष्य यदाकदा मात्र यहाँ आउँछन् । यस पोखरीको नाउँ चम्पा सरोवर । यो सत्य युगमै निर्मित पोखरी हो  ।

तिमी मेरो एउटा काम गरिदिन्छौ ?

‘आज्ञा होस् गुरुदेव,’ बटुकेन्द्रले भन्यो विनम्र भएर ।’

साधुले भन्यो –‘यस पोखरीको तलमा जानुपर्छ पहिले । त्यहाँ एउटा शंख छ । त्यो दिव्य शंख हो । त्यो पाएपछि म तिमीसित अत्यन्त प्रसन्न हुन्छु ।’

आफ्नो गुरुका लागि यो काम गर्न बटुकेन्द्र सहर्ष राजी भयो । ऊ तत्काल कौपिन धारण गरेर पोखरीमा हाम फाल्यो ।

उसले आफ्नो सासलाई प्राणायामद्वारा स्टाम्मित गरेको थियो । कतिपय हिंस्रक जलचर पनि थिए त्यहाँ । तर गुरुको आशीर्वादले हो वा पोखरीको महात्म्यले हो, कुनैले उनीमाथि आक्रमण गरेन ।

उनले पोखरीको तलमा पुगेर चारैतिर हेरे ।

धेरै बेरपछि एउटा झारमुन्तिर दिव्य शंख टल्किरहेको देखियो । बटुकेन्द्र प्रसन्न भएर त्यो शंख हातमा लिएर माथि आए ।

त्यो शंख गुरुका हातमा दिँदै भने –‘गुरु गुरुदेव, आशा छ मेरो यो सेवाले तपाईं प्रसन्न हुनुभयो ।’

गुरुले मुसुक्क हाँस्दै भने, ‘प्रसन्न मात्र होइन म अति प्रसन्न छु । यो शंख ल्याएर तिमीले मेरो आत्मालाई शान्ति प्रदान गरेका छौ । यो दिव्य शंख हो, यो पाएपछि ममा कतिपय दिव्य शक्तिहरू आउनेछन् । त्यसकारण यस्तो काम गरेर तिमीले मलाई यति प्रसन्नता प्रदान गरेका छौ, त्यो अवर्णनीय छ । तर म तिम्रो यो सेवा खेर जान दिन्न । एकछिन पर्ख ।’

गुरु भित्र गएर आफ्नो एक नयाँ कमण्डलु लिएर आए र भने– ‘यो कमण्डलुमा सञ्जीवनी बुटीको रस छ । यो त्यही सञ्जीवनी हो जुन लक्ष्मणको प्राण बचाउन हनुमानले ल्याएका थिए । मैले पनि त्यो बुटी ल्याएर त्यसको रस निकालेर यस जलमा मिसाइदिएको छु । तिमी यो जल जुन निष्प्राण जीवमाथि छर्कन्छौ त्यो जीवित हुनेछ ।
जाऊ वत्स तिमीलाई मेरो आशीर्वाद छ । तर विचार गर्नू यो कमण्डलु अन्य कुनै प्राणी अथवा मनुष्यले नछोओस् । यो त्यसैबखत अरूले पनि स्पर्श गर्न सक्छ, जब यसको विधिवत् कुनै पवित्र स्थलमा स्थापित गरिन्छ ।

बटुकेन्द्रका लागि त्यो त दिव्य जल एक दिव्य वरदान नै थियो । ऊ साधुको चरणमा दण्डवत् गरेर उसको आशीर्वाद लिएर हिँड्यो । त्यहाँबाट हिँडेर जान कठिन थियो ।
तर मनमा उत्साहपूर्ण हुनाले ऊ भोक प्यास केही नभनी सात दिन सात रात लगाएर हिँड्यो ।

बाढी–पहिरो हिंस्रक जन्तुहरूको आक्रमणबाट जोगिँदै आठौँ दिन बिहान सूर्योदयको बेलामा त्यहाँ पुग्यो जहाँ बरमिता भस्म भएकी थिइन् ।

त्यहाँ पुग्दा दोस्रो वर देखियो । ऊ त्यसैगरी तपस्यारत थियो । उसका सामु अब बरमिताको चिताको खरानीको थुप्रो मात्र थियो ।

बटुकेन्द्र अर्थात् तेस्रो बरले उक्त आमन्त्रित सञ्जीवनी बुटीको रस गुरुले सिकाएको मन्त्र उच्चारण गर्दै बरमिताको खरानीको थुप्रो माथि छम्कियो ।

त्यहाँ धेरै मानिस जम्मा भइसकेका थिए । जल छम्किनासाथ साराले देख्दादेख्दै त्यो खरानीको थुप्रोबाट उही स्वरूप बरमिता जीवित भएर प्रकट भई । 
बाँकी पछि...