
वसन्त लोहनी
घाउ अझै चराइरहेको छ
दुखिरहेको छ भित्रभित्रै
देखिएको भन्दा धेरै गहिरो
मेरो प्रतिरक्षा प्रणाली नै ध्वस्त भएको घाउ निको होला या नहोला,
थाहा छैन खाटा बस्ने कहिले होला ?
आज बिहानै कागहरू एकोहोरो कराइरहेका छन्
कसैलाई बोलाएको जस्तो गरेर
किन कराउँछन् यसरी मलाई झस्काएर ?
कुनै अशुभ संकेत त होइन होला
मन झन् हडबडाएको छ मेरो ।
कराइरहेका कागहरूको बोली सुनेर हो कि ?
विभिन्न प्रजातिका गिद्धहरू मेरो घर वरिपरि उडिरहेका
एक आपसलाई घुरिरहेका
अवतरण गर्ने अनुमति नपाएका हवाईजहाजजस्तो
मेरो आकाशमा चक्कर काटिरहेका ।
विरोधाभासको सम्बन्ध छ यिनको
झ्वाट्ट हेर्दा यी प्रतिस्पर्धी हुन्
तर खाने कुरामा त्यत्तिकै मिल्छन् पनि
यसरी पार्टनर बनेका छन् लुछेर खान
चुसी चुसी चुसेर खान
गहकिलो जति च्यातेर गिद्धले खाने,
रहलपहल कागले ।
चलाख काग र बलियो गिद्ध सँगसँगै
मेरो अगाडि नै उभिएका
यिनको प्रतीकात्मक सम्बन्ध
तागत चुस्दै–चुस्तै खाने
चुसेर खाएर नै सके मलाई
कमजोर हुँदै गएको म
आँधीबेहरी आयो केही क्षण
ढल्न लाग्दा मलाई सहारा दिनुपर्ने कसैले
तर दिएनन्, त्यत्तिकै हेरी बसे
अनि म ढले
जब ढले, उठ्न सकिनँ
लुछ्न थाले यिनले मलाई
यिनीहरूको सिकार बनेको म
मेरो शरीरभरि जताततै घाउहरू छन्
रक्ताम्मे भएको छु ।
हार गुहार —
उनीहरूकै एकआपसको सिग्नल मिलेन
अहिले उडेर अदृश्य भएका
तर ममाथि आँखा लगाइरहेका छन्
जब ती उडे, बल्ल आए आफ्ना भन्ने
अहिले मेरो औषधि उपचार भइरहेको छ ।
के मेरा घाउहरू निको होलान् ?
के म तंग्र्रिएर बलियो हुन सकुँला ?
रोइरहेको मेरो आत्माले भन्छ –
घरिघरि यस्तो चोट कति सहने मैले ?
फेरि यस्तो चोट अरू नलागोस् मलाई ।









Facebook Comments