काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई विवादास्पद ढंगले अघि बढाउन खोजेको आरोप लगाएका छन्। उनले सत्तारूढ दलले पूर्वनिर्धारित व्यक्तिलाई नियुक्त गर्न संवैधानिक प्रक्रिया नै कमजोर पार्ने प्रयास भइरहेको दाबी गरे।

प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति सिफारिस प्रक्रिया अघि बढाउन खोजेपछि थापाले कडा आपत्ति जनाएका हुन्। उनका अनुसार निर्णय छलफल, योग्यता र पारदर्शी प्रक्रियाबाट नभई ‘पहिल्यै तय गरिएको पात्र’लाई अनुमोदन गराउने तयारी भइरहेको छ।

ad

थापाले परिषद्भित्र सीमित सदस्यको बहुमत देखाएर निर्णय थोपर्ने प्रयास भएको आरोप लगाए। उनले प्रधानमन्त्री, सभामुख र कानुनमन्त्रीको संख्यात्मक बल प्रयोग गर्दै संवैधानिक पदमा नियुक्ति गर्न खोजिएको भन्दै यसलाई ‘खल्तीबाट झिकेर प्रधानन्यायाधीश बनाउने प्रयास’को संज्ञा दिए।

यससँगै उनले सरकारले संवैधानिक परिषद्माथि नियन्त्रण जमाउन अध्यादेश ल्याएको पनि आरोप लगाए। अघिल्ला सरकारहरूले जस्तै अहिले पनि संवैधानिक निकायमा आफ्ना निकट व्यक्तिहरू नियुक्त गर्न ‘जालझेल’ भइरहेको उनको भनाइ छ।

थापाले यस कदमप्रति स्पष्ट असहमति जनाउँदै विषयलाई संसदमा उठाइने जानकारी दिए। उनले संवैधानिक प्रक्रिया र संस्थागत मर्यादामाथि प्रश्न उठ्ने गरी कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्।