धरती छुनेबित्तिकै कहालिएर रोएको

जानेर होइन अनजानमा रोएको

ad

आफूले छोएको धरतीमा बाँच्नका लागि

व्यासपुत्र शुकदेवले जस्तो ज्ञान प्राप्त गरेर होइन

न कृष्णको वचनबाट उनले माया त्याग गरेर नै

म त घनीभूत अँध्यारो अज्ञानताभित्र कहालिएर 

अनि मायाको बन्धनमा बाँधिएर

पहिलो मानवस्पर्श मलाई उठाउने ती दुई हातहरूको

आकाश थर्काउने रोदन मेरो

जान्दिनँ, त्यो रोदन अन्तरिक्षमा होला या नहोला 

आमाको वक्षस्थलमा निसासिएको 

जब जीवनदेही माताको दूधपान गरेँ

तब मात्र बाँचेको गहिराइमा डुब्न पुगेँ

 

२३ घण्टा बन्द हुने मेरा आँखाहरू 

आहिस्ता–आहिस्ता खुल्न थाले

खोजिरहेका अलि पर हेर्न 

केही बुझ्न त्यो सानो कोठाको सेरोफेरो 

कसैलाई चिन्न, केही हाँस्न, तर डराएर फेरि रोएँ 

रोएको सुनेर दौडिँदै आएकी जीवनदेही माता 

उनको वक्षस्थलमा लपेटिएपछि बल्ल सुरक्षा पाएँ 

 

विश्वमा सबभन्दा सुरक्षित ठाउँ आमाको गर्भ 

त्यसैले होला मारिने डरले कामेका शासकले 

गर्भको आर्किटेक्चरजस्तो सुरक्षित ठाउँ बनाए बाँच्न

त्यसपछिको सबभन्दा सुरक्षित ठाउँ आमाको काख 

तर त्यसको नक्कल त कसले गर्न सक्छ र ?

त्यहाँ त असीम संवेदनाहरूको दिव्य सुरक्षाकवच हुन्छ ।

 

बामे सर्दा चेहरामा आएको विजय हाँसो 

हिँड्न खोज्दा त्रिभुवन घुमेर लड्दाको दुखाइ

कतिपटक लडँे कति ? 

दुखेर रुँदा आमाले उठाउँदा दुखाइ फुमन्तर

पितासँगको मूकसंवादमा डरमिश्रित सुरक्षाभाव 

यस्तै–यस्तै क्रमबद्धतामा–

चोकमा खेलेको लुकामारी

बाँसको पातमा लडाएको च्याम्पटी 

गल्लीमा दौडाएको मोटरसाइकलको टायर 

स्कुल, कलेज, विश्वविद्यालयमा सिकेको अज्ञान–ज्ञान 

 

विवाहको कुतकुती, सुहागरातको मात 

जायजन्मको पर्बरिस

भरे आउने दिनको ज्ञानविहीन अनिश्चितता 

यसरी नै बिते

गन्तव्यविहीन दिनहरू वर्षौंवर्षमा जोडिएर 

बालसुलभताले हाँकेको जीवनयात्रा

ठूलो वृक्षमुनि ओत पाएको बिरुवाजस्तो

पिताको छत्रछायामा सधैँ सुरक्षित 

तर उनले छाडेपछिको असहाय अवस्थामा 

बढ्दो उमेरको उकालो यात्रा झन् गन्तव्यहीन 

 

यस्तो बालसुलभ यात्रामा हराएको अवस्था

दुर्बललाई घात गर्ने दैवी परम्परा पछ्याएर होला

हिजो सिंहसँग डराएका फ्याउराहरू 

आज त्यसको प्रतिविम्ब नै ठानेर होला

हावासँग बहेर 

हावासरह घिउ थपेर फैलाइरहेका अफवाहहरू

घात गरेर काल्पनिक हिसाब चुक्ताको आनन्द लिन

सकेसम्मको सामाजिक क्षति गरिरहेका 

तर बालसुलभताभित्रको तागत तिनलाई के थाहा ?

जसले युद्ध लडेर मृत्युलाई परास्त गर्न सक्छ 

त्यस्तो नश्वरभित्र बाँचुन्जेल तागत बाँचेको हुन्छ । 

 

तर–

जसरी लहडिँदै आएँ जीवनभर

त्यसरी नै लहडिँदै गएको छु 

न गन्तव्य

न कुनै चाहना 

तरंग बोकेर भौँतारिएको मान्छे

बालसुलभताको भेलमा बग्दै अविश्रान्त यात्रामा 

के खोजँे जिन्दगीमा त्यसको कहिले ज्ञान भएन 

के पाएँ जिन्दगीमा त्यसको त झन् ज्ञान भएन 

 

पाको उमेरमा सम्बन्धहरूको बाह्रखरी  

बल्ल केही बुझ्दै छु

कसरी सम्बन्धहरूको योग, प्रयोग र उपयोगमा हुन्छ 

गिदीभित्र बहने रसायन कतै सुक्यो भने 

तार ढिला भएको साजको बेसुराजस्तो 

हृदयका संवेदनाहरू क्षतविक्षत हुन्छन् 

अनि सम्बन्धलाई बचाउने संवेदनाहरू 

निरर्थक हुन्छन्

फगत व्यर्थ हुन्छन् ।

 

अनि म–

अज्ञात तरंग बोकेको मान्छे 

झन् लहडिँदै पो गएको छु 

यहाँ न केही पाउनु छ

न केही गुमाउनु छ

जो जहाँ उडे पनि

जति धर्ती छोडे पनि

कागभन्दा चलाख बने पनि

अन्तिम गन्तव्य त एउटै हो

आमाले कातेको यो पाँचसुते बत्ती 

दियोमा तेल नसकियुन्जेल बलिरहनेछ

कसैले लाख चाहे पनि निस्तेज पार्न सक्दैन ।