डिल्लीबजार मूल सडकको त्यो पीपलबोट

भगवान् विष्णुको प्रतीकको रूपमा लिइने

ad

त्यसैले होला कहिलेकाहीँ पानी चढाइएको देखिन्थ्यो

विभिन्न चराचुरुंगी मिलेर बस्ने आश्रयस्थल 

ती कराइरहेका हुन्थे

तर कसले सुन्ने होहल्लाबीच त्यो आवाजलाई ?

वृक्ष वरिपरि घुमेको चौतारीमा नाङ्लो पसलहरू

आडमा दक्षिणपट्टि फर्केको वीर धारा, 

भीमशमशेरले पछि लेखाएका ‘त्रि–भीम धारा’

शिवपुरीको मुहानबाट महाराजगन्जमा जम्मा गरेको पानी 

सहरको विभिन्न ठाउँमा निर्दिष्ट समयमा वितरित 

ठिक १३१ वर्षअगाडि पाइपबाट आएको 

आजबाट ६८ वर्ष अगाडिसम्म आइरहेको थियो ।

 

यो सार्वजनिक धाराबाट उत्तर

ज्ञानेश्वर गणेश जोड्ने गल्ली 

मूल सडकजत्तिकै चल्तीको

गल्लीको अलि उकालो मुखको मुन्तिर खेत पुग्ने ओरालोमा

पूर्व फर्किएको एउटा ढुंगेधाराबाट अविरल पानी आइरहेको

बच्चाहरू च्याम्पटी घोटी रहेका देखिन्थे  

नेपालको पहिलो ढुंगेधारा करिब १४ सय वर्षअगाडि 

लिच्छवीकालको स्वर्णिम युगमा

ज्ञानेश्वरको यो कहिलेको हो थाहा छैन

तर पानी अझै आइरहेको छ ।

 

मूल सडकसरह गल्लीको करिब आधा बाटो पुग्दा 

अग्लो पर्खाल पछाडितिर बाँसको झ्याङ

त्यसले छोपेको पुरानो दरबार 

त्यहाँबाट एक ठाउँमा कुलो बनेर फोहोर पानीले गल्ली चिरेको 

त्यसैले नाघ्नुपथ्र्यो गल्लीको त्यो ठाउँलाई 

अर्कोतिरको होचोमा नील काँडाको झ्याङ

त्यो साँघुरो गल्लीमा साइकल चढ्ने मात्र होइन, 

भटभटेको पनि ओहोरदोहोर 

भुस्याहा कुकुरहरूको पनि दौडिरहेका

मानव पेटमा निर्मित विसर्जनको पर्खाइमा

त्यतिले नपुगेर खाली खुट्टा कुदिरहेका बच्चाहरू

टायर गुडाएको रेस जित्नको लागि 

 

गल्लीको एउटा थुम्कामाथिको घर

तेस्रो तल्ला दक्षिण फर्किएको लामो बार्दली

जोडिएको पूर्व फर्किएको बाँकेपरेको घरसँग

ती घरले दुईतिरबाट घेरेको घरभित्र आउने–जाने चोक 

त्यो चोकमा पश्चिम फर्किएको धारा

ठिंग उभिएको पर्खालमा 

पर्खालपछाडि आँखाजत्रो सानो फूलबारी 

आँखाको नानीजस्तो बीचमा

एउटा अजंगको थलकमल वृक्ष 

त्यसमा फुलेका मनमोहक दुइटा ठुला सेता फूलहरू । 

 

पीपलको बोटको सार्वजनिक धारा र ज्ञानेश्वरको ढुंगेधाराबीच 

त्यो एउटै मात्र निजी धारा थियो 

बिहान सूर्योदयको केही क्षणपछि एक टाइम पानी आउँथ्यो 

पानी आउने अगाडि हावाको मुस्लो टुटीबाट बजिरहेको  

त्यसपछि आवाज भारभुर हुँदै हिलो पानी

हिलो पानी आउन सकिएपछि बल्ल थेग्रिएको पानी 

अमृतसरहको त्यो पानी पिउन पाउनु नै कत्रो सौभाग्य ?

 

चोकमा मेला लागेकोजस्तो

खचाखच वरपरबाट आएका आइमाईहरूको 

पित्तलको गाग्रीको लाइन लागेको वारपार

राख्ने ठाउँ नपाएकाहरू कम्मरमा अझै बोकिरहेका 

त्यो घरको अधिकार पानीमा 

त्यसैले घरकाले क्युमा उभिनु नपर्ने 

त्यसपछि खाली भएको बेलामा मात्र लाइनको पालो

सूर्य नारायणको उज्यालोमा सबै उज्यालो देखिन्थे

जसलाई जतिसुकै चटारो परेको किन नहोस् । 

 

पूर्व फर्किएको घरको दोस्रो तलाको झ्याल

त्यसको खिइँदै गएको डन्डी दुईतिर समातेर 

रङ खुइलिइसकेको भोटो मात्र लगाएको

करिब चार वर्षको वालक झ्यालमा उभिन आउँछ

थलकमलको रुखबाट छिरेर आएको कलिलो घाम 

उसको कलिलो मुखमा घामछायाँ भएर परेको

रमीता हेरेर बालसुलभ उज्यालो मुस्कान छरिरहेको

त्यो स्वरूप कति हो कति सुन्दर देखिएको 

तर उसको सुन्दरता भन्दा धेरै बढी 

पालो पर्खेका आइमाईहरूको माया थियो 

पानी थाप्ने कुरा नै बिर्सिएर

धारालाई पछाडि पारेर उ तिरै फर्किरहेका सबै

दुवै कान तलदेखि माथिसम्म छेडेर गहना लगाएकी

अलि अग्लीचाहिँ त उसलाई पाए निलुँलाजस्तो 

हुरुक्क भएर बढ्दै गएको लहरे स्वरमा भन्थिन् – 

काचु ! काचु !! काचु !!!