तिलक प्रकाश

६० र ४०को कुरा गर्नुभन्दा पहिले २०५९ देखि २०६४ सम्मको नेपाली कांग्रेसको इतिहासलाई संस्मरण गर्नु उपयुक्त हुन्छ । के साँच्चिकै त्यसबेला नेपाली कांग्रेस संस्थापन पक्ष र नेपाली कांग्रेस (प्रजातान्त्रिक) अन्तरमनले मिलेकै हो ? जहाँ ६० र ४० प्रतिशतको कुरा आयो । त्यहाँ एउटा रेखा देखा पर्न थाल्दछ । उक्त लक्ष्मणरेखाले पूर्व र पश्चिम छुट्याएकै हुन्छ । भेडा–भेडासँग बाख्रा–बाख्रासँग भनेजस्तै । च्यातिएको कपडा सिउन सकिन्छ, मन फाटेको सिउन सकिँदैन । 

ad

विगत तीन दशकदेखि पुराना नेताहरूले भागबन्डाको सिद्धान्त अनपाएर नेपाललाई रसातलमा पुुर्‍याएको कसलाई थाहा छैन ? सम्पूर्ण नेपाली भुक्तभोगी छन् । यही नेताहरूको अकर्मण्यताले जेनजी आन्दोलनको सूत्रपात भएका हुन् । जेनजीहरूकै विश्वासमा बालेन्द्र शाह आज नेपालको प्रधानमन्त्रीको कुर्सीमा छन् । गएको तीन दशकदेखि पुराना नेताहरूले मनोगत देशमा नातावाद, कृपावाद, परिवारवाद, भ्रष्टाचार र बिचौलियाहरूलाई अनाधिकार प्रोत्साहन दिएर गणतन्त्रात्मक लोकतन्त्रको धज्जी उडाएको थियो । आज दुई महिना भएको छैन बालेन्द्र सरकारले ती विसंगतिका पर्खालहरू भत्काउँदै छन् । बालेन्द्र सरकारले जे गर्‍यो ठीक गर्‍यो भन्न खोजेको होइन । दुइटा अलोकप्रिय काम पनि गरेका छन् । सुुकुम्वासी समस्या ठूलो समस्या हो । नराम्रो समस्या हो । हो, सुकुम्वासीको नाममा हुकुमवासीहरूले धेरै जग्गा हडपेर बिल्डिङ बनाएर बसेका छन् । वास्तविक सुकुम्वासी र नक्कली सुकुम्वासी छुट्याएर नक्कलीलाई दण्डसजाय र वास्तविक सुकुम्वासीलाई वैकल्पिक घरजग्गाको व्यवस्था मिलाउनुपथ्र्यो । तिनीहरूको घर भत्काउनुभन्दा पहिले र अर्को सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश वरीयताको आधारमा हुनुपथ्र्यो । प्रधानमन्त्री विवादमा मुछिनु ठीक भएन । 

अब फेरि नेपाली कांग्रेसको मिलनविन्दुतिर लाग्छु । वैधानिक र न्यायिक हिसाबले नेपाली कांग्रेसमा अब कुनै समस्या छैन । किनभने ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित निवेदन दिए पुग्नेमा ५४ प्रतिशतले लिखित निवेदन दिएर विशेष महाधिवेशन गरे । महाधिवेशनले गगनकुमार थापा सभापति र उपसभापतिमा विश्वप्रकाश शर्मा सर्वसम्मतिले चयन गरिसके । कुरा सकियो । पूर्वसभापति शेरबहादुर देउवाजी र उनका समर्थकहरू सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न जानुभयो । विगत फागुन २१ गते भएको आमनिर्वाचन नजिकिँदै थियो । देउवा पक्षकाले निर्वाचन आयोगमा पनि विशेष महाधिवेशन हामी मान्दैनौँ । १४औँ महाधिवेशनपछिका केन्द्रीय कार्यसमितिका बहुसंख्यक सदस्य तथा सभापति, कार्यवाहक सभापति हामीसँगै रहेकाले नेपाली कांग्रेसको आधिकारिकता हामीपट्टि सुरक्षित छन् भनेर निवेदन दिए । तर निर्वाचन आयोगले नियम र विधानअनुसार विशेष महाधिवेशन पक्षका सभापति गगनकुमार थापा पक्षलाई आधिकारिक नेपाली कांग्रेसको मान्यता दियो । त्यस्तै, सर्वोच्च अदालतले पनि विशेष महाधिवेशन पक्षका सभापति गगनकुमार थापा पक्षलाई नै मान्यता दियो । अन्ततोगत्वा निर्वाचन नजिकिँदै थियो । चुनाव लड्नैपर्छ । देउवा पक्षधरले अब अर्को रणनीति सुझाए । टिकटको लागि संस्थापनसँग मिलेको अभिनय गर्नुपर्‍यो । बढीसे बढी साथीहरूले टिकट पाउनुपर्‍यो । निरुपाय देउवा पक्षका स्वनामधन्य सेनाहरू संस्थापन पक्षको कार्यक्रमहरूमा सहभागी हुन थाले । तर देशमा पुराना पार्टीका नेताहरूले सोचेविपरित हावाहुरी चल्न थाल्यो । कल्पनै नगरेको परिणाम भोग्नुपर्‍यो नेताहरूले । राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक जित हासिल गर्‍यो । 

हिजो टिकट पाउने देउवा पक्ष र शेखर पक्षका सेनामेनाहरू संस्थापनमा आएकाहरूले चुनाव हारेपछि फेरि भन्न थाले– ‘हामी विशेष महाधिवेशनलाई मान्दैनौँ ।’ कस्तो केटाकेटी कुरो । लाजै नभएका । वीरबलले अगाडि सारेको केटो जस्तो । अकबर हार मान्छ केटोको जीवनमा  । 

(प्रजातन्त्र सेनानी तिलकप्रकाश भक्तपुर कांग्रेसका पूर्व सभापति पनि हुन् ।)