
काठमाडौं । नेपाली वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासअन्त्यको वित्तीय विवरणले बैंकिङ क्षेत्रमा देखिएको गम्भीर संरचनागत समस्या उजागर गरेको छ। समग्र खुद नाफा १९.३० प्रतिशतले बढेर ४९ अर्ब २१ करोड रुपैयाँ पुगे पनि त्यसको ठूलो हिस्सा लगानीकर्तालाई वितरण गर्न नमिल्ने अवस्थामा रहेको देखिएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले यस वर्ष उल्लेख्य वृद्धि गरेका हुन्। तर, कुल नाफामध्ये जम्मा ११ अर्ब ६३ करोड रुपैयाँ मात्र वितरणयोग्य नाफाका रूपमा रहेको तथ्यांकले कागजी नाफा र वास्तविक नगद प्रवाहबीच गहिरो अन्तर रहेको देखाउँछ। यो अन्तर झण्डै ३७ अर्ब ६० करोड रुपैयाँको छ।
वित्तीय विवरणअनुसार प्रभु बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, हिमालयन बैंक र सिटिजन्स बैंक इन्टरनेसनलको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ। उनीहरूले नाफा आर्जन गरे पनि विभिन्न कारणले उक्त नाफा सेयरधनीलाई बाँड्न मिल्ने अवस्थामा छैन। यसमध्ये केही बैंकहरू अझै सञ्चित घाटामा रहेका छन्, जसले गर्दा उनीहरूको वर्तमान नाफा पहिलेको घाटा पूर्ति गर्नमै खर्चिनुपर्ने बाध्यता छ।
बैंकहरूको यस्तो अवस्थाको प्रमुख कारण उठ्न बाँकी ब्याज आम्दानी हो। अन्तर्राष्ट्रिय लेखांकन प्रणालीअनुसार बैंकहरूले पाकेको ब्याजलाई आम्दानीमा देखाउन पाउँछन्, जसले नाफा बढेको देखिन्छ। तर त्यो रकम नगद रूपमा असुल नभएसम्म लाभांश वितरण गर्न पाइँदैन। त्यस्तै नेपाल राष्ट्र बैंकको नियमनअनुसार विभिन्न जगेडा कोषमा अनिवार्य रकम छुट्याउनुपर्ने प्रावधानले पनि वितरणयोग्य नाफा घटाउँछ। साथै निष्क्रिय कर्जा बढ्दा सम्भावित नोक्सानीका लागि ठूलो प्रावधान राख्नुपर्दा नाफाको ठूलो हिस्सा थुनिन्छ।
सञ्चित घाटाको हिसाबले एनआईसी एशिया बैंक सबैभन्दा कमजोर अवस्थामा देखिएको छ, जसको घाटा १३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। त्यसपछि हिमालयन बैंक १० अर्ब ४६ करोड रुपैयाँ घाटासहित दोस्रो स्थानमा छ। प्रभु बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक पनि अर्बौं रुपैयाँ सञ्चित घाटामा छन्। कुमारी बैंकले नाफामा उल्लेखनीय वृद्धि गरे पनि विगतको घाटा पूर्ति गर्न नसक्दा अझै सञ्चित घाटामै रहेको छ।
यता नबिल बैंक वितरणयोग्य नाफामा अगाडि देखिएको छ, जसको रकम करिब ३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक र नेपाल बैंक पनि तुलनात्मक रूपमा सन्तुलित अवस्थामा छन्। लाभांश क्षमताको आधारमा एभरेष्ट बैंक ३९.३४ प्रतिशतका साथ अग्रस्थानमा रहँदा नबिल बैंक र सिद्धार्थ बैंकले पनि आकर्षक प्रतिफल दिने सम्भावना देखाएका छन्।
समग्रमा बैंकिङ क्षेत्रमा नाफा वृद्धि भए पनि त्यसको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ। उठ्न बाँकी ब्याज, बढ्दो निष्क्रिय कर्जा र नियामकीय दबाबका कारण कागजमा देखिएको नाफा वास्तविक रूपमा लगानीकर्तासम्म नपुग्ने अवस्था बनेको छ, जसले आगामी दिनमा बैंकहरूको वित्तीय स्वास्थ्य र लगानीकर्ताको विश्वास दुवैलाई चुनौती दिने संकेत गरेको छ।










Facebook Comments