काठमाडौं । देशका विभिन्न भागमा देखिएको खराब मौसमका कारण बुधबार दिउँसोदेखि हवाई सेवा प्रभावित बनेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार विशेषगरी आन्तरिक उडानहरूमा असर परेको छ। हाल सिमरा, पोखरा, विराटनगर र भैरहवातर्फका उडानहरू ढिलाइ भएका छन्।

ad

विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमकै कारण अन्तर्राष्ट्रिय उडानहरू पनि पूर्ण रूपमा सहज हुन सकेका छैनन्। केही जहाजहरू अवतरणका लागि अनुमति नपाएर आकाशमै होल्डमा राखिएको जनाइएको छ।

मौसममा सुधार आएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै तर्फका उडानहरू क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको विमानस्थलले जनाएको छ।