
चितामा हामफालेकी वरमिता अग्निको लप्काभित्र हुरहुर्ती बल्न थालिन् । चारैतिर हाहाकार मच्चियो । माता–पिता तथा अन्य विवाहमा सामेल हुन आएका सारा चिता अघिल्तिर उभिए । माता–पिता छाती पिटी रुन थाले ।
दाइहरू पनि रोदन गर्न थाले, आफ्नो भुलमा पश्चाताप गर्दै ती रोइरहेका थिए ।
माता–पिता त नरोकेको भए चितामै हामफाल्दा हुन् । सबैका आँखा यस्तो दृश्य देखेपछि रसाए । तीनै वर पनि आए ।
त्यस्तो भयानक दृश्य देखेर ती पनि हाहाकार गर्न थाले ।
पहिलो वरले भन्न थाल्यो– ‘मैले वरमिताको नाउँ सुनेपछि उनलाई प्रेम गर्न थालेको थिएँ । म मनमनै उनीसँग आफ्नो जीवन प्रेमपूर्वक बिताउने कल्पना गर्न थालेको थिएँ । मैले आफ्नो जीवन उनकै नाउँमा समर्पित गरेको थिएँ । ती सारा सपना जुन मैले वरमितालाई लिएर देखेको थिएँ, सब चितामा जलेर खरानी हुँदै छन् । मेरी प्रिया वरमिता उनको त्यस्तो कोमल र सुन्दर शरीर, आगोले पोलेर भस्ममा परिणत हुँदै छ । नियतिको यो कस्तो खेल हो, मैले बुझेको छैन ।’
मैले यसअघि आफ्नो जीवन संगिनीबारे कल्पना गरिनँ । कुनै स्त्रीलाई देखेर मेरो मनमा आकर्षण उत्पन्न भएन । केवल यिनै वरमितालाई सुन्नासाथ आफ्नो जीवन संगिनीको रूपमा मेरो हृदयको वरण गरेको थियो ।
जन्ती लिएर आउँदा मैले आफ्नो सुनौलो भविष्यको कति विस्तृत कल्पना गरेको थिएँ, अझ ती सबै चकनाचुर भए । क्षणभरमै । यहाँ आएर अन्य वर देखेँ मेरो मन विचलित भएन । मलाई पूर्ण विश्वास थियो, जसरी मैले वरमितालाई आफ्नी सहचरीका रूपमा वरण गरेको थिएँ । त्यसैगरी वरमिताले पनि आफ्नो पतिका रूपमा मलाई वरण गरिसकेकी छन् ।
यिनी यसरी बलिरहेकी छिन् । म उभिएर हेरिरहेको छु । धिक्कार छ, मेरो जीवनलाई । यस्तो जीवन म पनि बाँचेर के गर्नु, जुन जीवनमा मेरी प्रिया वरमिता छैनन् । त्यसकारण म पनि यसै क्षण यही चितामा हामफालेर आफ्नो प्राणप्रिया वरमितालाई अंकमाल गर्दै जलेर भस्म हुन्छु । यति भनेर प्रथम वर साँच्चिकै चितामा हामफाल्यो । देख्दा देख्दै ऊ पनि वरमितासँग चितामा बल्न थाल्यो ।
समस्त पाहुना यस्तो दृश्य देखेर हाहाकार गर्न थाले । यस्तो दृश्यको उनीहरू कसैले पनि कल्पना गरेका थिएनन् ।
देख्दादेख्दै दुवै त्यो चितामा बल्न थाले । यो तिनको दृढताका कारण थियो कि अन्य कारणले । दुवैमध्ये कसैको पनि चित्कार सुनिएन । देख्दा ती दुई प्राणीको शरीर नचिनिने आकृतिमा परिणत भयो । त्यसपछि त्यो पनि देखिन छाड्यो ।
केही समयपछि आगोको लप्का शान्त हुँदै गयो ।
त्यो चिता, जुन वरमिताले आफूलाई तयार गरेकी थिई, त्यसमा दुई प्राणी बलेर केही समयपछि क्रमशः खरानीको थुप्रोमा परिणत भयो । खरानीको थुप्रोमा एक होइन, दुई प्राणीको शरीर भस्मीभूत भएको थियो ।
त्यसपछि दोस्रो वर बोल्न थाल्यो । ऊ पनि अघिदेखि विलाप गरिरहेको थियो । दोस्रो वरले भन्यो ‘वरमिताको रूप र गुणको चर्चा दिगदिगन्तमा फिँजिएको थियो ।
त्यसकारण ऊजस्ती कन्यालाई विवाह गर्न यस धर्तीको कुन व्यक्ति उत्सुक नहोला । म आफूलाई उनको वरका रूपमा पाएपछि धन्य ठान्न थालेको थिएँ । हाम्रो घरमा धन सम्पत्तिको अभाव थिएन । मेरा पितासँग अपार स्वर्णको भण्डार थियो । हामी सबैको विचार थियो, वरमितालाई भित्र्याएपछि उनलाई पनि स्वर्ण आभूषणले शिरदेखि पाउसम्म ढाकिदिने, जसले गर्दा उनको सौन्दर्यमा झन् वृद्धि होस् । उनको शरीरमा सजिएपछि आभूषणहरू पनि धन्य मान्ने थिए ।
एकदिन मैले उनका लागि मयुरपंख निर्मित वस्त्र ल्याएको थिएँ त्यस्तो वस्त्र यस भूतलमा कसैसँग छैन ।
म दिनरात उनकै सपना देखेर बस्न थालेको थिएँ । निन्द्रामा, स्वप्न, जागृतमा, सम्झना, यिनै दुई कुरा मेरा लागि प्रमुख थिए । अन्य सारा काम गौण भएका थिए । यता आएर मैले आफ्ना सबै काम छाडिदिएको थिएँ । साँच्चै वरमिता आएपछि उनकै सल्लाहले काम गर्छु । मैले सुनेको थिएँ, उनी एक अत्यन्त बुद्धिमती स्त्री हुन् ।
अब ती सारा सपना यो विपत्तिको भेलमा क्षणभरमै बग्यो । दैवले कस्तो–कस्तो लीला रच्दो रहेछ । जसमा हामी असहाय भएर केही पनि नगर्न सक्ने हुन्छौँ । सबै खेल भाग्यले खेल्दो रहेछ । हाम्रो हातमा केही पनि हुँदो रहेनछ । त्यसकारण हामी भाग्यका सामु कति निरीह रहेछौँ ।
आज स्पष्ट रूपमा थाहा भयो । मैले मन, चित्तमा पनि सोचेको थिइन । म यस्तो भाग्य लिएर जन्मेको छु । मेरो धन सम्पत्ति अब कसका लागि ? म आफ्ना मातापिताकाको एउटै सन्तान हुँ । अब सोच्छु, वरमितालाई मैले आफ्नो सर्वश्रेष्ठ धन ठानेको थिएँ ।
अब उनी नै नभएपछि यो धन मलाई साह्रै तुच्छ लागिरहेको छ । त्यसैले अहिलेदेखि सारा धनदौलतको त्याग गर्छु । वरमितालाई गृह प्रवेश गराएर सुखी जीवन बिताउन हिँडेको म, वरमिता जलेको ठाउँमा, उनकै शरीरको खरानी अघिलतिर बसेर तपस्या गर्दछु ।
तेस्रो वर मुर्छित भएको रहेछ ।
बल्लतल्ल उसलाई चेतावस्थामा ल्याएपछि अझै केही नबुझेझैँ चारैतिर हेर्न थाल्यो ।
बाँकी अर्को अंकमा









Facebook Comments