काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा नागा साधुहरु नाङ्गै बस्नुलाई अश्लीलताको प्रदर्शन गरेको भन्न नमिल्ने व्याख्या गरेको छ ।

सर्वोच्चले पशुपतिभित्र नागा साधुहरूको उपस्थिति सनातन धर्म र हिन्दु धार्मिक संस्कृतिअनुकूल भएको व्याख्या गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको फैसलामा उक्त व्याख्या गरिएको हो ।

ad

अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। सर्वोच्चले २७ भदौ २०८१ मा रिट खारेज हुने फैसला सुनाएको थियो । अहिले पूर्णपाठ सार्वजनिक भएको छ।

पूर्णपाठमा भनिएको छ–‘नग्नता र अश्लीलता एकै होइनन् । नग्नता एउटा वस्त्रविहीन शारीरिक अवस्था हो। खासगरी स्तन र यौनांग आदि नछोपिएको अवस्थालाई नग्नताको रूपमा लिने गरिन्छ । ‘तर अश्लीलता यौनिक उत्तेजना ल्याउने वा सामाजिक सांस्कृतिक दृष्टिले लाजमर्दो र आपत्तिजनक अभिव्यक्ति हो । नग्नताका सबै अवस्थालाई अश्लील मान्न सकिँदैन । अश्लीलताको निर्धारण अभिव्यक्तिको सन्दर्भ, त्यसमा निहित उद्देश्य, सामाजिक स्वीकार्यता तथा कानूनी व्यवस्था आदिका आधारमा गरिनुपर्ने हुन्छ ।’


कला र संस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचारको प्रयोजनका लागि वा अन्य स्वीकार्य सामाजिक मान्यताअनुरूप यौनांग देखाउनुलाई अश्लीलताको द्योतक मान्न नसकिने सर्वोच्चको व्याख्या छ । ‘प्राचीन मन्दिरका टुँडालहरूमा कुँदिएका देवदेवीका श्रृङ्गार रसयुक्त कलात्मक चित्र वा सङ्ग्रहालयमा राखिएको नाङ्गो चित्र वा मूर्ति आदिलाई अश्लील मान्न सकिँदैन,’ फैसलामा भनिएको छ ‘अश्लील मानिनका लागि सामान्यतः सामाजिक रूपमा स्वीकार्य मान्यताविपरीत, अशोभनीय र यौनिक दृष्टिले दिग्भ्रमित बनाउने उद्देश्यले गरिएको अभिव्यक्ति वा क्रियाकलाप हुनुपर्ने हुन्छ ।’