काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हालैको निर्वाचनबाट बनेको दुई-तिहाइ बहुमतको सरकारलाई प्राप्त जनमतको सम्मान गर्दै संविधानको रक्षा गर्न सुझाव दिएका छन्। मंगलबार काठमाडौँमा पत्रकार तथा लेखक विपुल पोखरेलको पुस्तक ‘सङ्कल्पन’ विमोचन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

लामो समयपछि नेपालको राजनीतिमा कुनै एक दलले फेरि दुई-तिहाइ बहुमत प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै यादवले यो ऐतिहासिक अवसरलाई विगतमा जस्तै खेर जान दिन नहुने बताए। उनले वर्तमान समयलाई 'डिजिटल युग' को रूपमा व्याख्या गर्दै आएको ठूलो राजनीतिक परिवर्तनलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए।

ad

यादवले लोकतन्त्रमा आफ्नो पार्टी पराजित हुँदा मन दुख्नु स्वाभाविक भए पनि समग्र व्यवस्था र प्राप्त उपलब्धिलाई जोगाउनु सबैको दायित्व भएको उल्लेख गरे। संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षता जस्ता संविधानका मूल खम्बाको रक्षा गर्दै विधिको शासनअनुसार अगाडि बढ्न उनले निर्वाचित प्रतिनिधिहरूलाई आग्रह गरे। 'अहिले चुनिएर आएकाहरूले यो संविधानको रक्षार्थ पालना गर्दै देश बनाउनुपर्छ, यसैभित्र सबै कुरा समेटिएको छ,' यादवले भने।