
आफ्नो फाइदा नदेखि कुनै पनि देश होस् अथवा त्यहाँका संघ–संस्था, कसैले पनि कसैलाई कुनै प्रकारका सहयोग गर्दैनन् भन्ने कुरा दोहो¥याइरहन पर्दैन । त्यसलाई आधुनिक भौतिकवादको विशेषता मानिन्छ । सत्य पनि त्यही हो । दोस्रोे विश्वयुद्धपछि जब शान्ति र स्थिरतालाई निरन्तता दिने र फेरि तेस्रो विश्वयुद्धको सम्भावनालाई टार्न सकियोस् भनेर धनी तथा गरिब, उन्नत तथा पिछडिएका देशहरूबीचको असमानतालाई सन्तुलित तुल्याएर त्यो उपलब्धिलाई कायम राख्न संयुक्त राष्ट्रसंघको निर्माण भएको हो ।
प्रथम विश्वयुद्धपछि पनि त्यस्तै भएको थियो । जब सन् १९१४ देखि १९१९ सम्मको अत्यन्त क्रूर तथा विनाशकारी युद्ध रोकेर शान्ति र स्थिरता कायम राख्ने उपायको खोजी भयो, तब अमेरिकी राष्ट्रपति उडरो विल्सनले लिग अफ नेसन्सको प्रस्ताव अघि मात्र सारेनन्, त्यसको स्थापना पनि गरिछाडे । तर, त्यसका माध्यमबाट भएको युद्धविरामले स्थिर शान्तिको आकांक्षा भने पूरा गर्न सकेन । बेलायत, फ्रान्स र अस्ट्रियाजस्ता देशले जर्मनीमाथि यति कठोर सर्त थोपर्न लगाए कि त्यसले गर्दा विश्व शान्ति त कायम भएन नै, जर्मनीमा एडल्फ हिटलरको उदय भयो, जसले दोस्रो विश्वयुद्ध अनिवार्य हुन पुग्यो । उनलाई इटालीका मुसोलिनी र जापानका तोजोले साथ दिएर जुन अवस्थामा पु¥याएका थिए, त्यसलाई लिग अफ नेसन्सले रोक्न सकेको भए, विश्वको परिस्थिति बेग्लै हुने थियो । तर त्यो विश्वसंस्था आफैँले आफ्नो अस्तित्व कायम राख्न सकेन, त्यसको परिणाम यो भयो कि दोस्रोे विश्वयुद्ध कसैले रोक्न सकेन ।
दोस्रो विश्वयुद्धपछि स्थापना भएको राष्ट्रसंघलाई अनेक प्रकारका कमीकमजोरीका बाबजुद विश्व शान्तिका अतिरिक्त विश्वव्यवस्थालाई समेत स्थायित्व प्रदान गर्न र प्रभावशाली सावित तुल्याउन महत्वपूर्ण सफलता प्राप्त भएको छ । त्यसको मुख्य कारण हो, त्यसका संस्थापकहरूले त्यो विश्वसंस्थाको संस्थागत विकासका निम्ति प्रकट गरेको कटिबद्धताप्रति प्रतिबद्ध रहनु ! आफैँले निर्माण गरेका संस्थाका आदर्शप्रति आफैँ इमानदार रहन नसक्नु ठूलो कमजोरी हो, त्यसबाट विश्वसंस्था पनि चोखो रहन नसकेकाले पहिलो लिग अफ नेसन्स् असफल भएको थियो । आजको राष्ट्रसंघ सफल हुनुको पछाडिको रहस्य पनि त्यही हो ।
संयुक्त राष्ट्रसंघको घोषणापत्रको प्रभावकारी कार्यान्वयन, त्यसको शक्ति र विश्वसनीयताको आधार हो । त्यसभित्र त्यसलाई परिचालित गर्ने मुख्य तत्वचाहिँ उदार प्रजातन्त्रको मान्यतामा आधारित आस्था र विश्वास हो, जसको असीमित क्षमतालाई एक जमानाका प्रजातन्त्रविरोधी सोभियत संघ, चीन, क्युवाजस्ता कम्युनिस्ट पनि उसको सर्वोपरितालाई स्वीकार गर्थे र सहकार्यमा जुट्थे । त्यही आस्थाले मानवअधिकारसम्बन्धी घोषणा, विश्व स्वास्थ्य संगठन, शान्ति सेना, श्रम, उद्योग वाणिज्य, युनेस्कोलगायत अरू अनेक आयोगका माध्यमबाट विश्वलाई जोड्ने मात्र होइन, समन्वय र सामञ्जस्य कायम गर्ने प्रयासलाई निरन्तरता प्रदान गर्न राष्ट्रसंघ समर्थ रहेको छ ।
१९३ देश रहेको राष्ट्रसंघको सबैभन्दा ठूलो विशेषता भनेको यसको स्वीकार्यता हो । त्यस्तो स्वीकार्यता प्राप्त भएको छ– साना ठूला सबै सदस्यहरूको सामूहिक एकता र कटिबद्धताबाट । जुनसुकै संस्था, चाहे त्यो राजनीतिक, सामाजिक तथा सांस्कृतिक किन नहोस्, त्यसको दीर्घजीवनको पहिलो सर्त हुन्छ– सदस्यहरूको संस्थाप्रतिको प्रतिबद्धता र कटिबद्धता । राष्ट्रसंघ एउटै विचारधाराका सदस्यबाट निर्माण नभएकाले कतिपय विषयमा यसका सदस्यहरूबीच गम्भीर मतभेद पैदा हुनु अस्वाभाविक होइन । शीतयुद्धकालमा मात्र होइन, त्यसपछि पनि सदस्यहरूका बीचको मदभेद बढेर सदस्यता परित्याग गर्नेसम्मका धम्की आउने मात्र होइन, त्यसको मुख्यालय नै अमेरिकाबाट अर्को देशमा सार्ने माग पनि हुन्छ, तर उत्तेजनाका त्यस्ता स्वर लामो समयसम्म टिक्दैन । त्यसैले त्यो संस्था टिकेको छ ।
जब त्यसका संस्थापकहरूमै त्यसका प्रति आस्था र विश्वास हराउँछ, तब त्यसको अस्तित्व जोगाइराख्न असम्भव हुन्छ । लिग अफ नेसन्सको असफलता र राष्ट्रसंघको सफलताका पछाडि संस्थापकहरूको त्यही आस्था र विश्वासले काम गरेको तथ्यमाथि अर्को अंकमा थप प्रकाश पारिनेछ । र, फ्रान्स र नेपालमा संविधानसभाले बनाएको संविधान किन असफल भएको छ, त्यसको विवेचना हुनेछ ।









Facebook Comments