
काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरे पनि पीडित बचतकर्ताहरूले न्याय पाउनुको साटो उल्टै अन्याय खेप्नुपरेको छ। करिब ७ अर्ब रुपैयाँ ठगी भएको भनिएको यस संस्थाका मुख्य योजनाकार भरत महर्जनलाई मात्र प्रतिवादी बनाएर मुद्दा चलाइँदा अन्य सञ्चालकहरू भने खुलेआम घुमिरहेका छन्।
सहकारी विभाग र वाग्मती प्रदेश सहकारी मन्त्रालयको फितलो कदमका कारण तात्कालीन सञ्चालकहरू हेमराज दाहाल, विनोद आचार्य, विकास महर्जन, सुनिल डंगोल, दिलीप डंगोल र रमेश महर्जनमाथि कारबाही हुन सकेको छैन। सञ्चालक मध्येकी स्वच्छन्दा मानन्धर हालै फरार भएकी छिन् भने अन्य सञ्चालकहरू पनि सम्पत्ति कुम्ल्याएर भाग्ने दाउमा रहेको स्रोतको दाबी छ।
ललितपुर जिल्ला अदालतमा दायर गरिएको मुद्दामा ७ अर्बको घोटालालाई घटाएर जम्मा ४ अर्ब मात्र विगो दाबी गरिएको छ, जसले सरकारी संयन्त्रमाथिनै प्रश्न खडा गरेको छ।
सम्पत्ति रोक्का गरिए पनि सहकारीको पैसाबाट खोलिएका सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल, एसियन कलेज, शंकरापुर कलेज र सुमेरु मार्टमा अझै पनि तिनै सञ्चालकहरूको नियन्त्रण छ। यी संस्थाहरूबाट हुने मासिक करोडौं आम्दानी सञ्चालकहरूले बाँडफाँड गरिरहेका छन्। बैंकबाट थप ऋण निकाल्ने र यी संस्थाहरू सुटुक्क बिक्री गर्ने मोलमोलाई समेत भइरहेको पाइएको छ।
सञ्चालकहरूले नेपालमा रहेको सम्पत्ति जोगाउन र विदेश लैजान विभिन्न जालझेल गरिरहेका छन्: नेपालमा सम्पत्ति रोक्का भएपछि हुन्डीमार्फत विदेश पैसा पठाउने र क्रिप्टोमा लगानी गर्ने क्रम बढेको छ। सम्पत्ति जोगाउन श्रीमतीसँग कागजमा सम्बन्धविच्छेद गर्ने र छोराछोरीलाई विदेश पठाउने काम तीव्र पारिएको छ।
ललितपुरको एकान्तकुनामा एउटा घरै भाडामा लिएर सञ्चालकहरूले 'सेटिंग' मिलाउने गरेको र त्यहाँ संघर्ष समितिका नाममा भोजभतेर हुने गरेको स्थानीयको गुनासो छ।
सञ्चालकहरूले ठूला राजनीतिक दल र नेताहरूलाई चन्दा दिएर संरक्षण पाएको आरोप लागेको छ। सञ्चालक हेमराज दाहाल प्रभावशाली नेताहरूको नजिक भएर हिँड्ने गरेको र पीडितहरू जाँदा "हाम्रो सेटिङ छ, जे सक्छौ गर" भन्दै धम्काउने गरेको बचतकर्ताहरूको गुनासो छ।
बचतकर्ताको अर्बौँ रकम डुबेको तर सुमेरुसँग पर्याप्त सम्पत्ति हुँदाहुँदै पनि सञ्चालकहरूले ब्रह्मलुट गरिरहेका छन्। पीडितहरूले तत्काल सबै सञ्चालक र तिनका परिवारलाई पक्राउ गरी, ती संस्थाहरूको सूक्ष्म छानबिन गरेर आफ्नो रकम फिर्ता दिलाउन सरकारसँग माग गरेका छन्।










Facebook Comments