आज २ फेब्रुअरी २०२५ अर्थात् विश्व सिमसार दिवस । वातावरणीय सन्तुलनमा मुख्य भूमिका निर्वाह गरिरहेको सिमसारले मानिसलाई जीवनयापनको स्रोत प्रदान गर्नुका साथै जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा प्रदान गरेको मात्र हुँदैन, मानव जगत्, कृषि तथा जैविक विविधताका लागि सिमसार क्षेत्रहरू अति नै आवश्यक रहेको वातावरणविद्हरूको निष्कर्ष छ । सिमसार क्षेत्रमा विसर्जन गरिएका सहरी ढल, कलकारखानाबाट उत्पादित रासायनिक पदार्थ र जथाभावी रूपमा फालिने फोहोरले त्यहाँको वातावरण र पारिस्थितिकीय प्रणालीलाई नै दुर्गन्धित र अस्वस्थ बनाएको छ । नेपालका सिमसार क्षेत्रहरू धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिले मात्र नभएर वैज्ञानिक अध्ययन र अनुसन्धानका दृष्टिले समेत अत्यन्तै उपयोगी र महत्वपूर्ण रहेका छन् । सिमसारको संरक्षण र महत्वलाई उजागर गर्न सरोकारवाला निकायहरूले शिक्षा तथा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने अहिलेको आवश्यकता हो । सिमसार क्षेत्रको जैविक विविधता तथा वन्यजन्तु संरक्षणका लागि रणनीतिक अभियान जरुरी छ । सरकारका तर्फबाट बृहत कार्यक्रम अगाडि बढाई समन्वयात्मक हिसाबमा काम हुन सकेमा सिमसार क्षेत्रको संरक्षण र विकासमा उपलब्धि हासिल हुनेमा दुई मत हुन सक्दैन ।

जहाँ जमिन लुक्दैन, जहाँ पानी सुक्दैन र रसिलो जमिन भएको क्षेत्र सिमसारको जैविक विविधताको संरक्षण, पर्यटन प्रवद्र्धन, आर्थिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले महत्व निकै छ । जलवायु, भौगोलिक अवस्थिति, भूगर्भ र जलपरिचालनलगायत भौतिक तथा रसायनिक प्रक्रियाले सिमसारमा वनस्पति, चराचुरुंगी र जनावरको उच्चतम विविधता पाइन्छ ।
सिमसारले जमिनको पानीलाई सञ्चय गर्ने र जमिनको पानीलाई शुद्ध तथा पानीको वहावलाई निरन्तरता दिने गर्छ । पानीका प्रमुख स्रोतहरू ताल, हिमताल, दह, नदीताल, मूल एवम् भूमिगत पानीहरू स्वच्छ र जीवन्त राख्ने काम पनि सिमसारले गर्छ । पानीमा भएका दूषित र फोहोर पदार्थहरू शोषेर लिने र सफा पानी बनाउनमा सिमसार क्षेत्रहरूले महत्वपूर्ण भूमिका निभाउने भएको हुँदा सिमसार क्षेत्रलाई पृथ्वीको मृगौला पनि भनिन्छ । सिमसारले थुप्रै जीवजन्तु र वनस्पतिलाई अनुकूल वासस्थान प्रदान गर्नुका अतिरिक्त बोटविरुवाको प्रजातिको संरक्षण गर्छ भने यसले बाढी पहिरो नियन्त्रणमा समेत सघाउ पु¥याउँछ । त्यसैले भनिन्छ नै, पाँच प्रतिशत जमिनमा सिमसार छ भने पचास प्रतिशतभन्दा बढी पहिरो नियन्त्रण गर्छ ।

ad


नेपालको सन्दर्भमा नेपालको कूल क्षेत्रफलमध्ये झन्डै दुई दशमलव ६ प्रतिशत क्षेत्र सिमसार क्षेत्रमा पर्दछ । तराईका समथर भूभागदेखि हिमालको उच्च पहाडी भूभागसम्म सिमसार क्षेत्रहरू छन् । एक अध्ययन अनुसार नेपालमा साना ठूला गरी एक हजार सिमसार क्षेत्र छन् । नेपालमा पाइने १ सय ७२ प्रजातिका माछा, १९० प्रजातिका चरा, लोपोन्मुख प्रजातिका गोही, झन्डै दुई प्रतिशत बिरुवा, एकसिंगे गैँडालगायत केही स्तनधारी जीवको वासस्थान सिमसार क्षेत्रमा रहेको छ । तराईका सिमसार क्षेत्रमा पाइने ३२ प्रजातिका चराहरूमध्ये १५ प्रजाति दुर्लभ श्रेणीमा पर्छन् भने नौ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइने गरेको छ । सिमसार क्षेत्रमा पाइने उत्पादनहरू निरपेक्ष गरिबीको रेखामुनि परेका स्थानीय आदिवासी जनजातिहरूका लागि परम्परागत रूपले जीवन निर्वाहको आधार रही आएको छ । एक सर्वेक्षणअनुसार नेपालको मधेस र तराईका विभिन्न २० जनजाति सिमसारसँग सम्बन्धित रहेका छन् ।


सन् १९७१ को २ फेब्रुअरीका दिन क्यास्पियन सागरको तटमा रहेको इरानको रामसार सहरमा सम्पन्न महासन्धिलाई रामसार महासन्धि भन्ने चलन छ । यो बहुराष्ट्रिय अभिसन्धि हो । यस महासन्धिको मूल लक्ष्य पानीमा आश्रित पक्षीको वासस्थानको सुरक्षा गर्नु हो । यसको उद्देश्य भनेको हजारौँ किलोमिटरको यात्रा तय गर्ने पक्षीहरूलाई उनीहरूको उडानमार्गमा आवश्यक वासस्थानको सुविधा प्रदान गर्नु हो । त्यसैले अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार मात्र रामसार सूचीमा समावेश हुने गरेका छन् । रामसार सूचीमा पर्न सिमसार ठूलो क्षेत्र ओगटेको हुनुपर्दैन, तर महत्वपूर्ण हुनुपर्छ । महासन्धिमा हस्ताक्षर गरेका प्रत्येक राष्ट्रले आफ्नो देशमा कम्तीमा एउटा सिमसार रामसार सूचीमा समावेश गर्नुपर्ने प्रावधान छ । यस्ता सिमसारलाई रामसारस्थल भन्ने गरिन्छ । सन् १९८७ देखि नेपाल रामसार महासन्धिको पक्षधर बन्दै आएको हो । नेपालको कोशी टप्पु वनजन्तु आरक्ष रामसार सूचीमा दर्ता गरिएको छ । यो आरक्ष दुर्लभ अर्नाका लागि निर्धारित क्षेत्र हो, तर सप्तकोशीले निर्माण गरेको यहाँको सिमसार चराचुरुंगीलाई आश्रय दिने अनुपमस्थलका रूपमा स्थापित भएको छ । अहिलेसम्म रामसार सूचीमा नेपालका नौवटा सिमसार क्षेत्र सूचीकृत भइसकेका छन् ।


नेपालमा सिमसार क्षेत्रका बारे यकिन आँकडा नभए पनि प्राथमिकताअनुसार सिमसारको अध्ययन र संरक्षणका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने देखिन्छ । सिमसार क्षेत्र बहुआयमिक र सर्वपक्षीय सरोकारका क्षेत्र भएकाले यसको संरक्षण र समुचित व्यवस्थापनमा अझ ध्यान दिनुपर्ने आवश्यकता छ । सिमसार क्षेत्रको संरक्षणका लागि समयमा नै स्थानीय र राष्ट्रिय स्तरमा योजनाबद्ध कार्यक्रम ल्याउनु जरुरी भइसकेको छ । संरक्षण र विकासका लागि कार्यक्रम नल्याए कतिपय सिमसार क्षेत्र अतिक्रमणको सिकार भई अस्तित्व नै समाप्त हुने सम्भावना पनि बढेको छ ।

विभिन्न कारणले गर्दा अहिले सिमसार क्षेत्र संकटमा परेको छ । यो नेपालको मात्र समस्या नभई विश्वकै समस्या हो । विश्वमा झन्डै ५० प्रतिशत सिमसार विस्थापित भएको तथ्यांक रहेको छ । वन फँडानी, बढ्दो अतिक्रमण, प्राकृतिक स्रोतको अनियन्त्रित प्रयोग, कृषि उत्पादनमा कीटनाशक विषादीको अत्यधिक प्रयोग तथा अव्यवस्थित भौतिक निर्माणलगायत कारण सिमसार क्षेत्र संकटमा परेका छन् । यसबाट प्रदूषण बढेको छ भने जैविक विविधताको नाश भएको छ । विशेषगरी नेपालका मध्यपहाडी र हिमाली क्षेत्रका सिमसार क्षेत्रभन्दा तराईका सिमसार क्षेत्रहरूको स्थिति जीर्ण छ । यसको संरक्षण र विकासका लागि सबै तह र तप्काले सहयोग गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको छ ।