काठमाडौँ । बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूले नेपालमा सूचना प्रविधिको क्षेत्रमा लगानी र सहकार्यका सम्भावनाहरू रहेको बताएका छन् ।
लन्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल दक्षिण एसियाको लोकतान्त्रिक र समावेशी मुलुकमध्ये एक भएको बताए । उनले आर्थिक तथा नीतिगत सुधारको उल्लेख गर्दै नेपाल ऊर्जा निर्यात गर्ने र जीवन्त आइटी बजार भएको बताए ।
राजदूत घिमिरेले बेलायती कम्पनीहरूलाई नेपालको आइटी सेवा आउटसोर्स गर्न र लगानी गर्न आग्रह गर्नुभयो । नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा ब्रिटिश लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धि गर्न उपयुक्त समय आएको बताए । उनले आइटी र नवीकरणीय ऊर्जामा लगानीका लागि आधार तयार भएको र नेपाल–युकेबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको उल्लेख गरे ।
‘अल नेपाल पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष सांसद एलेक्स बेकरले नेपाल र युकेबीच सीधा हवाई सेवा सुरू गर्न आवश्यक रहेको बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकारले ऊर्जा, सूचना प्रविधि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानी, सात वर्षसम्म कर छुट र मुनाफा फिर्ता लैजाने सुविधा उपलब्ध गराइएको जानकारी दिए ।
उनले सातै प्रदेशमा आइटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आइटी प्रवद्र्धन बोर्ड स्थापना गर्ने योजना रहेको समेत बताए । डोल्मा इम्प्याक्ट फन्डका टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने सम्भावना रहेको बताउँदै हिमाली भेगको चिसो मौसम र स्वच्छ ऊर्जालाई विश्वस्तरीय डेटा सेन्टर निर्माणमा प्रयोग गर्न सकिने सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि र डिजिटल सेवालाई उदाउँदो क्षेत्रको रूपमा चित्रण गर्दै नेपालले विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको बताए । “हामी संयुक्त लगानी उद्यम, इ–शासन र साझेदारीका लागि खुला छौँ । डिजिटल भविष्य निर्माणमा सहकार्यको निम्तो दिन्छौँ,” उनले भने ।
जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा प्रदान गरिरहेको र लागत कम–गुणस्तर उच्चको संयोजन उपलब्ध रहेको बताए । नास आइटीका अध्यक्ष सन्तोष कोइरालाले नब्बे हजार युवा आइटी क्षेत्रमा कार्यरत रहेको र वार्षिक ८० करोड अमेरिकी डलर आम्दानी भएको जानकारी दिए ।
“हाम्रो निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ । अबको चार–पाँच वर्षमा ब्रिटेनमा बजार विस्तार गर्न चाहन्छौँ,” उनले भने । कार्यक्रममा आइएमई ग्रुपका हेमराज ढकाल, नेपाल क्लियरिङ हाउसका नीलेशमान सिंह प्रधानलगायतले नेपाल र युकेबीच व्यापार तथा लगानीका सम्भावना रहेको बताए ।
प्रतिक्रिया