
काठमाडौं । विश्व फुटबलको वर्तमान चित्रमा चार पटकको विश्वकप च्याम्पियन जर्मनी र नवप्रवेशी कुराकाओ फरक ध्रुवमा देखिन्छन् । तर जुन ११ बाट सुरु हुने विश्वकपमा यी दुई टिम समूह ‘इ’ अन्तर्गतको खेलमा आमनेसामने हुँदैछन् ।
जर्मनी र कुराकाओ रहेको समूहमा आइभोरी कोष्ट र इक्वेडर पनि छन् । तर यहाँ धेरैको चासो चार पटकको पूर्व विजेताले आफ्नो छविअनुसार प्रदर्शन गर्न सक्ला की नसक्ला भन्नेमा जति हुनेछ । त्यतिनै नवप्रवेशी कुराकाओले पहिलो पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा आफूलाई कसरी प्रस्तुत गर्ला भन्नेमा फुटबलप्रेमीको ध्यान केन्द्रित हुनेछ ।
चार पटकको च्याम्पियन र अन्तर्राष्ट्रिय फुटबलमा प्रभावशाली इतिहास भए पनि उत्तर अमेरिकी विश्वकपमा जर्मनी ठूलो दबाबमा हुनेछ । जर्मनीको दबाब तत्कालका लागि पाँचौं उपाधि जितेर ब्राजिलसँग बराबरी गर्ने भन्दा पनि समूह चरण पार गर्ने विषयमा हुनेछ । किनकी सन् २०१४ मा विश्वकप जितेयता लगातार दुई पटक टोली समूह चरणबाटै बाहिरिएको थियो ।
जर्मनी
लिभरपुलका प्लेमेकर फ्लोरियन रिट्ज प्रशिक्षक जुलियन नागेल्सम्यानको टोलीले सबभन्दा बढि आशा गरेका खेलाडी हुन् । विश्वकै सर्वोत्कृष्ट आक्रामक मिड्फिल्डरमध्ये एक मानिने रिट्जलाई नै केन्द्रमा राखेर नागेल्सम्यानले टिम र रणनीति तयार गरिरहेका छन् ।
रिट्जसँगै जर्मनीको टोलीमा नागेल्सम्यानसँग रहेका अर्का प्रभावकारी हतियार हुन्, ६ फिट ६ इन्च अग्ला स्ट्राइकर निक वोल्टेमेड । वोल्टेमेडलाई रोक्नु जुनसुकै विपक्षी टोलीका रक्षापंक्तिको लागि सधै चुनौतीपूर्ण हुने गर्छ । यसैगरी १८ वर्षे मिड्फिल्डर लेनार्ट कार्ल आसन्न विश्वकपमार्फत जर्मनीले विश्व फुटबललाई दिने नयाँ स्टार बन्न सक्छन् ।
आक्रमणमा जर्मनीसँग विश्वास गर्न लायक खेलाडीको उपस्थिती भए पनि रक्षापंक्तिमा भने युरोपेली महारथीले पछिल्लो समय आफूलाई प्रमाणित गर्न सकिरहेको छैन । मार्चमा स्विट्जरल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा ४–३ को जित हासिल गरे पनि खाएका तीन गोलले रक्षापंक्तिमा समस्या रहेको देखाएको थियो । सँगै रियाल मड्रिडका सेन्टर ब्याक एन्टोनियो रुडिगरलाई बेन्चमा राख्ने नागेल्सम्यानको निर्णयमाथि पनि त्यो नतिजाले प्रश्न उठाएको थियो ।
जर्मनीले गत वर्ष फ्रान्स र पोर्चुगलसँग पराजय भोगेयता शीर्ष स्तरका विपक्षीसँग सामना गरेको छैन ।
रक्षापंक्तिमा समस्या भोगिरहँदा पोष्ट सम्हाल्ने हकमा पनि टोलीसँग अझैसम्म म्यानुअल नुयुरको विकल्प बन्न सक्ने भरपर्दो गोलकिपरको अभाव छ । पिडुलाको चोटका कारण बायर्न म्युनिखका लागि जर्मन कपको फाइनल खेल्न नसकेका नुयुरको विश्वकपमा पनि पुनरागमन अझै पक्का ुहन सकेको छैन ।
रक्षक नाथानिल ब्राउन यस्ता खेलाडी हुन्, जसको सम्बन्ध जर्मनीसँगै अमेरिकासँग पनि जोडिन्छ । अमेरिकाबाट खेल्नका लागि पनि योग्य रहेका उनले अन्तिम समयमा जर्मनी रोजेका छन् ।
टिम जर्मनी
गोलकिपरः ओलिभर बाउम्यान (होफेनहेम), म्यानुअल नुयुर (बायर्न म्युनिख), एलेक्जेन्डर नुबेल (बायर्न म्युनिख)
रक्षकः वाल्डेमार एन्टन (बोरुसिया डर्टमण्ड), नाथानियल ब्राउन (इन्ट्रयाक्ट फ्रयांकफर्ट, डेविड राउम (आरबी लाइपजिग), एन्टोनियो रुडिगर (रियाल मड्रिड), निको शोटरबेक (बोरुसिया डर्टमण्ड), जोनाथन टाह (बायर्न म्युनिख), मालिक थियाउ (न्युक्यासल)
मिड्फिल्डरः पास्कल ग्रस (ब्राइटन), जोसुआ किमिच (बायर्न म्युनिख), फेलिक्स एनमेचा (बोरुसिया डर्टमण्ड), एलेक्जेन्डर पाभ्लोभिच (बायर्न म्युनिख), एन्जेलो स्टिलर (स्टुटगार्ट), लियोन गोरेट्ज्का (बायर्न म्युनिख), फ्लोरियन रिट्ज (लिभरपुल), जेमी लेलेलिङ (स्टुटगार्ट)
फरवार्डः म्याक्सिमिलियन बेइर (बोरुसिया डर्टमण्ड), काइ हार्भेट्ज (आर्सनल), लेनार्ट कार्ल (बायर्न म्युनिख), जमाल मुसियाला (बायर्न म्युनिख), लेरोए साने (गालाटासरे), डेनिज उन्डाभ (स्टुटगार्ट), निक उल्टेमाडे (न्युक्यासल)
प्रशिक्षकः जुलियन नागेल्सम्यान
कुराकाओ
१ लाख ५६ हजार मात्र जनसंख्या रहेको कुराकाओ इतिहासमै विश्वकपका लागि छनोट भएको सबभन्दा सानो देश हो । जहाँ टोलीले आफ्नो पहिलो खेल जर्मनीविरुद्ध खेल्दै विश्वकपको यात्रा थाल्नेछ ।
छोरीको स्वास्थ्य समस्याका कारण भेट्रान डच प्रशिक्षक डिक एड्भोकेटले फेब्रुअरीमा राजीनामा दिएपछि कुराकाओले विश्वकपका लागि विशेष खालको योजना भने बनाउन पाएको छैन ।
एड्भोकेटलाई एफसी ट्वेन्टे, पिएसभी आइन्डहोभन, फेयर्नुड तथा साल्के ०४ का पूर्व प्रशिक्षक फ्रेड रुटेनले स्थानान्तरण गरेका छन् । सताव्दीयौदेखि डच औपनिवेसिक कानूनबाट चल्दै आएको क्यारेबियन टापुको देश कुराकाओले धेरैजसो नेदरल्यान्ड्समै जन्मिएका र हुर्किएका खेलाडीहरुमा विश्वास गर्दै आएको छ ।
टिम कुराकाओ
गोलकिपरः टाइरिक बोडाक (एससी टेल्स्टार), ट्रेभर डर्नबस्क (भिभिभी भेन्लो), इलोए रुम (मियामी एफसी)
रक्षकः रिचेड्ली बाजोइर (कोन्यास्पर), जेसुआ ब्रेनेट (काइसेरिस्पर), रोसोन भान इज्मा (आरकेसी वालविज्क), सेरेल फ्लोरानुस (पिइसी ज्वोले), डेभेरोन फोन्भिले (एनइसी निज्मेजेन), जुरियन गारी (अभा क्लब), अर्मान्डो ओबिस्पो (पिएसभी आइन्डहोभन), सुरान्डी साम्बो (स्पार्टा रोटरडाम)
मिड्फिल्डरः जुनिन्हो बाकुना (एफसी भोलेन्डाम), लियाान्ड्रो बाकुना (इग्डिर), लिभानो कोमेनेन्सिया (एफसी जुरिच), केभिन फेलिडा (एफसी डेन बोस्क), आरजानी मार्था (रोथेरहाम), टाइरेस नोस्लिन (एससी टेलस्टार), गडफ्रिड रोमेराटो (आरकेसी वालविज्क)
फरवार्डः जेरेमी एन्टोनिसे (एई किफिसिया), ताहिथ चङ (शेफिल्ड युनाइटेड), केन्जी गोरे (मकाबी हाइफा), सोन्जे हान्सेन (मिडिल्सब्रो), गाभाने कास्टानिर (टेरेङ्गानु एफसी), ब्राण्डली कुवास (एफसी भोलेनडाम), योर्गान लोकाडिया (मायमी एफसी), जिर्ल मार्गारिथा (एसके बेभेरेन)
प्रशिक्षकः डिक एड्भोकेट
आइभोरी कोष्ट
आइभोरी कोष्ट भन्नेवित्तिकै विश्व फुटबलका समर्थकहरुले सम्झने नाम हो, त्यहाँका सुपरस्टार खेलाडीद्धय डिडियर ड्रोग्बा र याया टाउरे । अहिले दुवै खेलाडीले संन्यास लिइसकेका छन् । र, उनीहरुको टोली सन् २०१४ पछि पहिलो पटक विश्वकपमा पुनरागमन जनाउने तयारीमा छ ।
आइभोरी कोष्टको फुटबलले अहिले नयाँ पुश्ताका स्टारहरु जन्माइसकेको छ । जसको प्रभावमा टोलीले सन् २०२४ मा अफ्रिका कप अफ नेशन्सको उपाधि जित्यो र लामो समयपछि विश्वकपमा पुनरागमन पक्का गर्यो, त्यो पनि छनोट प्रतियोगितामा आफ्नो समूहको विजेता बनेर ।
आइभोरी कोष्टले अहिलेसम्म विश्वकपमा तीन पटक सहभागिता जनाएको छ । सन् २००६, २०१० र २०१४ मा लगातार तीन पटक विश्वकपलाई छनोट भए पनि टोली समूह चरण पार गर्न भने तीनै पटक सफल भएन् ।
प्रशिक्षक इमर्स फाईलाई आइभोरी कोष्टले सन् २०२४ मा अफ्रिका कप अफ नेशन्स चलिरहँदा टिममा अनुबन्ध गरेको थियो । उनको नेतृत्वमा टिमले महादेशीय फुटबलको सबभन्दा ठूलो प्रतियोगिता जित्यो ।
फाईबाट विश्वकपमा पनि त्यस्तै प्रेरणादायी नेतृत्व आइभोरी कोष्टका समर्थकले अपेक्षा गरेका छन् । जहाँ फाईलाई आइभोरी कोष्टको फुटबलले उत्पादन गरेको नयाँ पुश्ताका स्टार म्यानचेस्टर युनाइटेडका फरवार्ड अमाद डियालोको साथ हुनेछ ।
टिम आइभोरी कोष्ट
गोलकिपरः याहिया फोफाना (काएकुर रिजेस्पर), मोहमेद कोने (चार्लेरोइ), अल्बान लाफन्ट (पानाथिनाइकोस)
रक्षकः इमानुअल ओग्बाडोउ (बेसिक्टास), क्लेमेन्ट अक्पा (अजुरे), औसमान डियोमान्डे (स्र्पोटिङ), गुइला डोउ (स्ट्रासबर्ग), घिस्लाइन कोनामन (जिल भिसेन्टे), ओडिलोन कोसोनो (एट्लान्टा), इभान एनडिच्का (एएस रोमा), विल्फ्रिड सिंगो (गालाटासरे)
मिड्फिल्डरः सेको फोफाना (एफसी पोर्टो), पार्फाइट गुयाजोन (चार्लेरोइ), क्रिस्ट इनाओ औलाइ (ट्राब्जोन्सपर), फ्रयांक केसी (अल आहली), इब्राहिम सान्गेरे (नटिङ्घम फरेस्ट), जिन मिचेल सेरी (मारिबोर)
फरवार्डः सिमोन एडिन्ग्रा (मोनाको), एङ्गे योन बोनी (इन्टर मिलान), अमाद डियालो (म्यानचेस्टर युनाइटेड), औमार डियाकिटे (सर्कल ब्रुगे), यान डियोमेन्डे (आरबी लाइपजिग), इभान वाही (निस)
प्रशिक्षकः इमर्स फाइ
इक्वेडर
सन् २०२३ मा १४६ मिलियन डलरमा ब्राइटनबाट चेल्सी सरुवा हुँदा मोइसेस काइसेडो बेलायती फुटबल इतिहासकै सबभन्दा महंगो खेलाडी बनेका थिए ।
तिनै काइसेडो इक्वेडरले विश्वकपका लागि उत्तर अमेरिकाको यात्रा गरिरहँदा पूरा टिमको भरोसाको केन्द्र बन्नेछन् । टोलीले इतिहासमै दोस्रो पटक तथा २० वर्षमा पहिलो पटक समूह चरण पार गर्ने लक्ष्य उनकै प्रेरणादायी उपस्थितीका कारण राखेको हो ।
दक्षिण अमेरिकी छनोट प्रतियोगितामा साविक विजेता अर्जेन्टिनाभन्दा मात्र पछि रहेको इक्वेडर उपविजेता भएर विश्वकपलाई छानिएको हो । विश्वकप २०२२ को विश्वकप छनोटमा पासपोर्ट लिनका लागि एक जना खेलाडीको फर्जी कागजात पेश गरेका कारण सुरुमै तीन अंक खोसिए पनि ठूला सफल टिमहरुको बीचबाट उपविजेता हुनुले इक्वेडरको वर्तमान फर्मको संकेत गर्छ ।
काइसेडोसँगै फरवार्ड इनर भ्यालेन्सिया इक्वेडरको टोलीमा रहेका अर्का स्टार खेलाडी हुन् । टोलीको छनोट अभियानमा भ्यालेन्सियाले सर्वाधिक ६ गोल गरेका थिए ।
टिम इक्वेडर
गोलकिपरः हर्नान गालिन्डेज (हुराकेन), मोसेस रामिरेज (किफिसिया), गोन्जालो भाले (एलडियु क्विटो)
रक्षकः पिएरो हिन्कापी (आर्सनल), विलियन पाचो (पिएसजी आइन्डहोभन), पेर्भिस इस्टुपिनान (एसी मिलान), फेलिक्स टोरेस (इन्टरनेसनल), जोइल ओर्डोनेज (क्लब ब्रुगे), ज्याक्सन पोरोजो (टिजुआना), एन्जेलो प्रेसियाडो (एट्लेटिको मिनेइरो)
मिड्फिल्डरः मोसेस काइसेडो (चेल्सी), एलान फ्रांको (एट्लेटिको मिनेइरो), केन्ड्री पाइज (चेल्सीबाट लोनमा रिभरप्लेट), पेड्रो भिटे (युएनएएम), जोर्डी अल्सिभार (इन्डिपेन्टेन्ट डेल भाले), डेनिल कास्टिलो (मिड्जिल्यान्ड), याइमार मेडिना (जेन्क)
फरवार्डः इनर भ्यालेन्सिया (पाचुका), केभिन रोड्रिग्वेज (युनियन सेन्ट जिलोइसे), जोर्डी काइसेडो (हुरिकान), निल्सन एङ्गुलो (सन्डरल्यान्ड), एन्थोनी भ्यालेन्सिया (एन्टवेर्प), जेरेमी एरेभालो (स्टुटगार्ट)
प्रशिक्षकः सेवास्टिन बेकासेसे
समूह ‘इ’ खेलतालिका (नेपाली समयअनुसार)
– जर्मनी विरुद्ध कुराकाओ, १४ जुन, राती २२ः४५ बजे, एनआरजी रंगशाला (ह्युस्टन)
– आइभोरी कोष्ट विरुद्ध इक्वेडर, १५ जुन, बिहान ०४ः४५ बजे, लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया)
– जर्मनी विरुद्ध आइभोरी कोष्ट, २१ जुन, बिहान ०१ः४५ बजे, बिएमओ फिल्ड (टोरन्टो)
– इक्वेडर विरुद्ध कुराकाओ, २१ जुन, बिहान ०५ः४५ बजे, केन्सास सिटी रंगशाला (केन्सास)
– कुराकाओ विरुद्ध आइभोरी कोष्ट, २६ जुन, बिहान ०१ः४५ बजे, लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया)
– इक्वेडर विरुद्ध जर्मनी, २६ जुन, बिहान ०१ः४५ बजे, मेटलाइफ रंगशाला (न्यु जर्सी)









Facebook Comments