
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मा मन्त्री खनाललाई भारतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर ले स्वागत गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण अवधिमा मन्त्री खनालले आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय हित, आपसी सहकार्य र क्षेत्रीय चासोका विषयमा वार्ता गर्नेछन्। साथै उनले विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटमा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ।
मन्त्री खनालको भ्रमण जेठ २४ गते सम्पन्न हुने र त्यसपछि स्वदेश फर्किने कार्यतालिका तय गरिएको मन्त्रालयले जनाएको छ।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने पनि भारतको पाँचदिने भ्रमण सकेर शुक्रबार नै नेपाल फर्किने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर, गृहमन्त्री अमित शाह तथा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेको बताइएको छ।
नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित यी भ्रमणहरूलाई दुवै देशबीचको कूटनीतिक संवाद र राजनीतिक सम्पर्क विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।




Facebook Comments