काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सागर ढकालले पार्टीको स्थापना, विस्तार र वर्तमान अवस्थासम्म आइपुग्न जेनजी पुस्ताको योगदान उल्लेखनीय रहेको बताएका छन्।

गुल्मी जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युवा पुस्ताको सक्रियता र समर्थनकै कारण रास्वपा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन सफल भएको बताए। साथै, पार्टीको नेतृत्व संरचना र आगामी निर्वाचन प्रक्रियामा जेनजी पुस्ताको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखे।

ad

ढकालले युवा पुस्ताले निरन्तर संघर्ष, समर्पण र सक्रिय सहभागितामार्फत पार्टीलाई देशव्यापी रूपमा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले जेनजी पुस्ताको योगदानको सम्मान गर्दै निर्णय तहमा उनीहरूको सहभागिता बढाउन आवश्यक रहेको बताए।

उनले रास्वपा पनि परम्परागत राजनीतिक दलहरूजस्तै बन्न नदिन युवाहरूले निरन्तर निगरानी र रचनात्मक दबाब कायम राख्नुपर्नेमा जोड दिए। साथै, पार्टीभित्र नेतृत्व चयनका प्रक्रियामा युवा पुस्तालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

ढकालले आगामी केन्द्रीय समिति बैठक तथा चितवनमा हुने महाधिवेशनमा जेनजी पुस्ताका लागि निश्चित प्रतिनिधित्व वा विशेष व्यवस्था सम्बन्धी प्रस्ताव उठाउने प्रतिबद्धता व्यक्त गरे। जिल्ला अधिवेशनदेखि आगामी निर्वाचनसम्मका गतिविधिमा पनि युवा पुस्तासँग निरन्तर संवाद र सहकार्य गरेर अघि बढ्ने योजना रहेको उनले बताए।