
काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक असहजता अन्त्य गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने विषयमा पार्टी सभापति गगन थापासँग पूर्व संस्थापन निकट नेताहरूले छलफल गरेका छन्।
नेता गोविन्द भट्टराईको नेतृत्वमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेको टोलीले सभापति थापासँग भेट गरी आगामी महाधिवेशनसम्म सबै पक्षलाई समेटेर पार्टीलाई सुदृढ बनाउने विषयमा विचारविमर्श गरेको हो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले पार्टीभित्र व्यापक एकताको वातावरण निर्माण गर्ने विषयमा सकारात्मक संवाद भएको बताए। उनका अनुसार छलफलले पार्टीभित्र सहकार्य र समझदारीको सम्भावना थप बलियो बनाएको छ।
भेटमा उमेशजंग रायमाझी, गीता गुरुङलगायत नेताहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा सभापति थापाले पार्टीका सबै धार र समूहलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
भेटपश्चात् सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले कांग्रेसभित्र देखिएको असहज अवस्था अन्त्य गरी बृहत् एकता कायम गर्ने विषयमा रचनात्मक र सकारात्मक संवाद भएको उल्लेख गरेका छन्। उनले छिट्टै साझा निष्कर्षमा पुग्ने अपेक्षा व्यक्त गर्दै पार्टीभित्र एकताको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन्।










Facebook Comments