काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध, कुनै बेला ‘सच्चा मित्रता’को प्रतीक मानिन्थ्यो, तर पछिल्लो समय तनावपूर्ण बन्दै गएको छ । सन् २०१७ मा वासिङ्टनमा भएको पहिलो भेटदेखि सन् २०१९ मा ह्युस्टनको ‘हाउडी मोदी’ र सन् २०२०मा अहमदाबादको ‘नमस्ते ट्रम्प’जस्ता भव्य कार्यक्रमहरूले यो सम्बन्धको उचाइलाई प्रदर्शन गरेका थिए । तर, हालैका घटनाक्रमले यो सम्बन्धमा दरार देखिएको छ । ट्रम्पको व्यापार नीति, भारतको रुससँगको तेल कारोबार र क्षेत्रीय कूटनीतिमा देखिएको मतभेदले यो तनावको प्रमुख कारण बनेको विश्लेषण गरिएको छ ।

पछिल्लो समय भारत र अमेरिकाबीच व्यापारिक तनाव बढ्दै गएको छ । ट्रम्पले भारतीय सामानहरूमा २५ प्रतिशत भन्सार कर लगाउने र रुससँगको तेल खरिदलाई लिएर थप जरिवाना लगाउने घोषणा गरेका छन् । जस अनुसार भारतीय बस्तुमा ५० प्रतिशत कार लाग्नेछ । ट्रम्पले भारतको अर्थतन्त्रलाई ‘मृत’को संज्ञा दिँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् । यो कदमले भारतको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ ।

ad

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’मा भारतले रुसबाट ठूलो परिमाणमा तेल किनेर नाफा कमाइरहेको र युक्रेन युद्धप्रति उदासीन रहेको आरोप लगाएका छन् । उनले लेखे, ‘भारतलाई युक्रेनमा रुसी युद्ध मेसिनले कति मान्छे मारेको छ भन्ने वास्ता छैन । त्यसैले म भारतलाई तिर्ने भन्सार कर उल्लेखनीय रूपमा बढाउनेछु ।’ यो भनाइले भारत सरकारलाई असहज बनाएको छ, भारतले अमेरिकी बजारमा आफ्नो पहुँच कायम राख्न चाहन्छ ।

भारतका पूर्वविदेश नीति सल्लाहकार अशोक मलिकका अनुसार, ‘पछिल्ला २५ वर्षको निरन्तर प्रयासलाई ट्रम्पका अनियन्त्रित सामाजिक सञ्जाल पोस्टहरूले जोखिममा पारेका छन् ।’

भारतको रुससँगको तेल कारोबार ट्रम्प–मोदी सम्बन्धमा अर्को प्रमुख विवादको विषय बनेको छ । युक्रेन युद्ध सुरु भएपछि बाइडेन प्रशासनले भारतलाई रुसी तेल आयात नगर्न दबाब दिएको थियो । तर, भारतले रुसबाट तेल आयात बढाएर चीनपछि दोस्रो ठूलो खरिदकर्ता बनेको छ । यसले भारतलाई अर्बौं डलर बचत गर्न र आन्तरिक इन्धन मूल्य स्थिर राख्न सहयोग गरेको छ ।

ट्रम्पले यो विषयलाई पुनः उठाउँदै भारतमाथि रुसी युद्धलाई वित्तीय सहयोग गरेको आरोप लगाएका छन् । उनको प्रशासनका डेपुटी चिफ अफ स्टाफ स्टिफन मिलरले पनि भारतको रुसी तेल आयातलाई लिएर आलोचना गरेका छन् ।

ट्रम्पको पाकिस्तानप्रति देखिएको नरम दृष्टिकोणले पनि भारतलाई असहज बनाएको छ । कश्मीर विवादमा ट्रम्पले मध्यस्थता गर्ने प्रस्ताव बारम्बार दोहोर्‍याएका छन्, जुन भारतको कठोर पाकिस्तान नीतिविपरीत छ । ट्रम्पले पाकिस्तानसँग ‘विशाल’ तेल सम्झौता गरेको र एकजना वरिष्ठ पाकिस्तानी सैन्य अधिकारीलाई निजी भोजमा निम्त्याएको घटनाले भारतमा असन्तुष्टि पैदा गरेको छ ।

जिन्दल विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिला विज्ञ श्रीराम चौलियाले ट्रम्पको यस्तो व्यवहारले भारतमा ‘माहोल बिग्रिएको’ बताए । भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने रणनीति अपनाइरहेको बेला ट्रम्पको कदमले कूटनीतिक तनाव बढाएको छ ।

ट्रम्प प्रशासनले अवैध भारतीय आप्रवासीहरूलाई फिर्ता पठाउने कडा नीति अपनाएको छ । फेब्रुअरी ५ मा १०४ भारतीय आप्रवासीहरूलाई अमेरिकी सैन्य विमानमार्फत अमृतसर फिर्ता पठाइएको थियो । यो कदमले भारतमा चिन्ता र आक्रोश पैदा गरेको छ । कांग्रेस नेता शशि थरुरले यो मुद्दालाई भारतले वासिङ्टनसँग गम्भीर रूपमा उठाउनुपर्ने बताउँछन् ।

भारतले ट्रम्पको आलोचनालाई ‘अनुचित र अव्यावहारिक’ भन्दै खण्डन गरेको छ । विदेश मन्त्रालयले युक्रेन युद्धपछि युरोपमा तेल आपूर्ति मोडिएको कारण रुसबाट तेल आयात गर्नुपरेको र अन्य देशहरूले पनि रुससँग व्यापार गरिरहेको भन्दै दोहोरो मापदण्डको आलोचना गरेको छ । भारतका वाणिज्यमन्त्री पीयूष गोयलले ‘निष्पक्ष र पारस्परिक लाभदायी’ व्यापार सम्झौताको पक्षमा सजग प्रतिक्रिया दिएका छन् ।