
काठमाडौं । नेपाली कांग्रेस का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी ले पार्टीभित्र देखिएका समस्या केवल भाषण, गुटगत भेला र शक्ति प्रदर्शनबाट समाधान नहुने बताएका छन्। उनले कांग्रेसभित्र लामो समयदेखि चलिरहेको भागबन्डाको राजनीतिले इमानदार कार्यकर्ताहरूलाई निराश बनाएको टिप्पणी गरेका छन्।
भण्डारीले सत्ता र प्रतिपक्ष दुवै अवस्थामा कांग्रेसभित्र पद र प्रभावकै लागि संघर्ष भइरहने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको उल्लेख गरे। उनका अनुसार व्यक्तिगत महत्वाकांक्षा र गलत राजनीतिक निर्णयकै परिणामस्वरूप पार्टी अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको हो।
उनले पार्टीभित्रको निरन्तर गुटबन्दीले समर्पित कार्यकर्ताहरूलाई किनारामा पुर्याएको उल्लेख गर्दै नेतृत्व तहले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। भागबन्डाकै राजनीतिमा केन्द्रित हुँदा संगठनात्मक मूल्य र विचार कमजोर बनेको उनको धारणा थियो।
भण्डारीले अबको राजनीतिक परिस्थिति विगतभन्दा फरक रहेको पनि बताए। पहिले प्रजातान्त्रिक र वाम शक्तिबीच मात्रै प्रतिस्पर्धा हुने गरेकामा अहिले नयाँ राजनीतिक शक्तिहरू उदाएकाले परम्परागत शैलीले मात्र कांग्रेस अघि बढ्न नसक्ने उनको भनाइ छ।
उनले पार्टीको आगामी पन्ध्रौँ महाधिवेशनलाई सुधारको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए। वैचारिक स्पष्टता, संगठनात्मक पुनर्संरचना र नेतृत्व चयन प्रक्रियामा खुलापन आवश्यक रहेको उनको धारणा छ।
त्यस्तै उनले प्रविधिमैत्री, विवेकी र संवादमुखी राजनीति अपनाएर मात्रै पार्टीलाई नयाँ ढंगले अघि बढाउन सकिने बताए। भण्डारीले विगतमा सत्तामा रहेर अहिले आलोचना गर्ने नेताहरूले पनि आफ्नो भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्ने संकेत गरेका छन्।
उनका अनुसार समयको माग बुझ्न नसक्ने नेतृत्वलाई इतिहासले स्वीकार नगर्ने चेतावनीसमेत दिएका छन्।










Facebook Comments