
संसदीय लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त मुताविक व्यवस्थापिका (संसद्), कार्यपालिका र न्यायपालिका स्थापित अंग हुन्, त्यसमध्ये सबभन्दा महत्वपूर्ण र मुलुकलाई आवश्यक ऐन कानुन र नीतिनिर्माण गर्ने संवैधानिक एक अंग हो संसद् । जहाँ जनताका प्रतिनिधिको रूपमा निर्वाचित भएर गएका सांसदहरूले जनताको आवाज उठाउने, नीतिगत बहसमा सक्रिय सहभागिता जनाउने र सरकारलाई उत्तरदायी बनाउने अपेक्षा गरिन्छ । तर, पछिल्लो समय संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—तथा प्रदेशसभाका बैठकहरूमा सांसद र मन्त्रीहरूको अशोभनीय व्यवहारले संसद्को गरिमामाथि गम्भीर प्रश्नहरू उठ्न थालेको छ ।
महत्वपूर्ण विषयमा छलफल भइरहँदा मस्तसँग निदाउने, एकापसमा कानेखुसी, मोबाइल चलाउने, गुट्खा/खैनी खानेजस्ता व्यवहारले संसदीय मर्यादामाथि बारम्बार आँच पुगिरहेको छ । यस्ता गतिविधिहरू व्यक्तिगत अनुशासनको कमी मात्र नभई संसद्को गरिमा र संस्थागत मर्यादाको ठाडो उल्लंघन हो । यस्ता व्यवहारले जनताको विश्वास र लोकतान्त्रिक प्रणालीप्रति नै अवहेलना भएको देखिन्छ ।
गत बुधबार राष्ट्रिय सभा बैठकमा नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति (एलडीसी ग्र्याजुएसन)पछिको अवस्थाबारे महत्वपूर्ण छलफल भइरहँदा तीनजना मन्त्री—उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र भौतिकमन्त्री देवेन्द्र दाहाल—संसद्को पहिलो रोमा बसेर मस्त निद्रामा थिए । यस्तो दृश्यले उनीहरूको गैरजिम्मेवारीपनलाई प्रष्ट्याउँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका कुरा चाखपूर्वक सुनेर सम्बोधन गरिरहँदा मन्त्रीहरूको यस्तो व्यवहारले संसद्को गम्भीरतामाथि ठेस पुगेको छ । यस्तै, केही दिनअघि प्रतिनिधिसभाको बैठकमा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि मस्त निद्रामा थिए । प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले उनलाई नमस्कार गर्दा समेत गुरुङले कुनै प्रतिक्रिया दिएनन् । सामान्यतया, प्रधानमन्त्री संसद् कक्षमा प्रवेश गर्दा मन्त्रीहरू उठेर अभिवादन गर्छन्, तर गुरुङको निद्रा यति गहिरो थियो कि रक्षामन्त्री मानवीर राईको प्रयासले समेत उनको निद्रा खुलेन । यस्तो दृश्य सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल बन्यो, तर मन्त्रीहरूले आत्मालोचना गर्नुको सट्टा यस्ता घटनालाई हल्का मजाकको रूपमा लिए ।
संसद्मा यस्ता व्यवहारले जनताको विश्वासमा मात्र होइन, संसदीय प्रणालीको साखमाथि पनि गम्भीर आघात पुर्याउँछ । सांसदहरूले विधायन कार्यमा सक्रिय सहभागिता जनाउनु, नीति निर्माणमा योगदान दिनु र सरकारको कार्यसम्पादनमा निगरानी राख्नु प्रमुख कर्तव्य हो । तर, संसद जस्तो गरिमामय थलोमा मस्त निदाउनु वा गैरजिम्मेवार व्यवहार गर्नुले यी कर्तव्यहरूको अपमान हुन्छ । यस्ता गतिविधिहरूले जनप्रतिनिधिको भूमिकालाई कमजोर बनाउँछ र लोकतान्त्रिक प्रणालीप्रति जनताको विश्वास घटाउँछ । मन्त्री र सांसदहरूको यस्तो व्यवहारले संसद्लाई गम्भीर छलफलको थलोभन्दा पनि हल्का मनोरञ्जनको केन्द्रजस्तो बनाइरहेको छ ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस्ता दृश्यहरू भाइरल भएपछि जनस्तरबाट तीव्र आलोचना भएको छ । तर, मन्त्रीहरूले यस्ता आलोचनालाई गम्भीरतापूर्वक लिनुको सट्टा हल्का टिप्पणी गरेर उम्कने प्रयास गरेका छन् । यो व्यवहारले उनीहरूको गैरजिम्मेवारीपन र जनताप्रतिको जवाफदेहिताको कमी झल्काउँछ । संसद्मा लामो र प्रभावहीन बहस, समयमा नियमित बैठक नहुनु, व्यक्तिगत थकानजस्ता कारणले यस्ता अवस्था सिर्जना भएको हुन सक्छ । तर, यी समस्याहरूको समाधान खोज्न सांसद र मन्त्रीहरू स्वयंले पहल गर्नु आवश्यक छ । संसद्को मर्यादालाई कायम राख्न बैठकहरूलाई प्रभावकारी बनाउन, छलफललाई संक्षिप्त र परिणाममुखी बनाउन र सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न तत्काल सुधारका कदम चालिनुपर्छ ।
संसद्मा सांसदहरूको व्यवहारले लोकतन्त्रको स्वास्थ्यलाई झल्काउँछ । सांसदहरू जनताका प्रतिनिधि मात्र नभई लोकतन्त्रका पहरेदार पनि हुन् । त्यसैले उनीहरूको प्रत्येक व्यवहार र क्रियाकलापले संसद्को गरिमा र जनताको विश्वासलाई बलियो बनाउनुपर्छ ।
संसद्मा मस्त निदाउने, गैरजिम्मेवार व्यवहार गर्ने प्रवृत्तिलाई तत्काल रोक्न जरुरी छ । यसका लागि संसदीय आचारसंहिता कडाइका साथ लागू गर्नु, सांसद र मन्त्रीहरूलाई जवाफदेही बनाउनु र संसद्को कार्यसूचीलाई प्रभावकारी बनाउनु जरुरी छ ।
संसद्को मर्यादालाई कायम राख्न सांसदहरूले आत्मानुशासन अपनाउनुपर्छ । उनीहरूले आफूलाई जनताको विश्वासको प्रतिनिधिको रूपमा स्थापित गर्नुपर्छ । संसद्मा हुने छलफललाई रचनात्मक र परिणाममुखी बनाउन, नीति निर्माणमा सक्रिय सहभागिता जनाउन र सरकारको जवाफदेहितालाई सुनिश्चित गर्न सांसदहरूको भूमिका महत्वपूर्ण हुन्छ ।
मन्त्री र सांसदहरूले आफ्नो व्यवहार सुधारेर संसद्को गरिमालाई उकास्नुपर्छ । यदि यस्ता गैरजिम्मेवार व्यवहार दोहोरिरहने हो भने जनताको विश्वास र लोकतान्त्रिक प्रणालीमाथि नै गम्भीर संकट आउन सक्छ । त्यसैले, संसद्को मर्यादा कायम राख्न सबै सांसद र मन्त्रीहरूले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।









Facebook Comments