नैनसिंह महर
केन्द्रीय सदस्य नेका

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

ad

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख भइसकेपछि एक वर्षअगाडि मैले केन्द्रीय समितिमा शिक्षा नीति निर्माण गर्नुपर्छ, कांग्रेस पार्टीभित्र पनि छुट्टै शिक्षा नीति निर्माण गरिनुपर्छ भनेर प्रस्ताव राखेको थिएँ । शिक्षा नीति निर्माण गर्नका लागि केन्द्रीय समितिले सर्वसम्मतले निर्णय पास गरेको छ । त्यसैअनुसार अस्ति मात्रै २७ वटा शृंखलामा हामीले शिक्षा नीति बहसअन्तर्गत छलफल गर्‍यौँ । विभिन्न शीर्षकमा ग्लोबल एजुकेसनको प्याटर्न जो विश्व संसारको शिक्षासँग नेपालको शिक्षालाई कसरी तादम्य राख्न सकिन्छ र नेपालको शिक्षालाई कसरी गुणस्तरीय र सबैका लागि उपलब्ध हुने किसिमको वातावरण बनाउन सकिन्छ सबैको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ भन्ने अभियानमा लागेका छौँ ।

तपाईंले गरिरहेको कुरा त संविधानको मौलिक हकमै लेखिएको छ नि ?

मौलिक हकमा शिक्षा, स्वास्थ्य र खाद्यको कुरा उल्लेख छ । नेपालको संविधानमा सांस्कृतिक राज्यका निर्देशक सिद्धान्त र मौलिक अधिकारमा यी विषयहरू लेखिएको छ तर कार्यान्वयन हुन नसकेको अवस्था छ । त्यसकारणले कुनै पनि पार्टी सञ्चालन गर्नका लागि सानो संस्थाको त पोलिसी हुन्छ, कुन–कुन विषयमा कुन–कुन कुरालाई कसरी व्यवस्थित गर्ने, कार्यान्वयन कसरी गर्ने यसको इम्प्याक्ट के हुन्छ ? सबै कुरामा पार्टीको दृष्टिकोण अलग्गै छुट्याएको हुन्छ भने हामी २००७ सालको परिवर्तनदेखि आजसम्म साँच्चिकै शिक्षामा, स्वास्थ्यमा, सामाजिक परिवर्तनमा जे जति परिवर्तन भएको छ, त्यसमा नेपाली कांग्रेसको अग्रणी भूमिका रहेको छ । तर हामीसँग हरेक विषयलाई अलग–अलग तरिकाले कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छुट्टै पोलिसी छैन । त्यसकारण मैले पार्टीभित्र हरेक क्षेत्रमा नेपालको संविधानमा त छँदै छ । त्यसको र नेपाली कांग्रेसको विधानको कार्यान्वयन हुने गरी राजनीतिक पार्टीलाई समाजसँग अझ थप गहिरो प्रगाढ सम्बन्ध विस्तार गर्नका लागि साँच्चिकै राजनीति भनेको जनताकै लागि हो । जनताकै विषयवस्तु होस्, राजनीतिको कार्यक्षेत्र भन्ने कुरा हो भन्ने बुझेर त्यसलाई बढावा दिनका लागि नीतिनिर्माणमा र पार्टीको आन्तरिक जीवनलाई मजबुत गर्ने विषयले नै महत्व पाउँछ ।

अहिले शिक्षा विधेयक पनि अड्किराखेको छ ?

मैले व्यक्तिगत रूपमा नेपाल विद्यार्थी संघको लामो राजनीति गर्दै गर्दा, पार्टीको राजनीतिमा संलग्न हुँदै गर्दाखेरि दुइटा कुरामा मेरो स्पष्ट धारणा छ । बन्दुक बोक्ने सुरक्षाकर्मी र चक डस्टर (मार्कर) बोकेर क्लासमा जाने पढाउने गुरु टिचर जो छ, त्यो विद्यालयको होला, त्यो कलेजको होला अथवा त्योभन्दा अगाडि अलि प्रारम्भिक बालविकासको होला । तर उनीहरूको सेवासुविधा र उनीहरूलाई सम्मानित नबनाईकन शिक्षाको वातावरणका साथै राम्रा विद्यार्थीहरू र गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन । त्यसकारणले गुणस्तरीय शिक्षा प्राप्तिको मूल आधार भनेको, एउटा अब्बल विद्यार्थी उत्पादनको मूल आधार भनेको शिक्षक नै पहिलो हो । त्यसपछि विद्यार्थी र अभिभावक पर्नुहुन्छ । तसर्थ शिक्षकलाई आत्मसम्मानका साथ बाँच्ने वातावरण राज्यले दिनुपर्छ र उनीहरूलाई मैले पाउने जो मासिक तलब छ त्यसले मेरो जीवन पुग्छ कि पुग्दैन मेरा छोराछोरीले के खान्छन्, कसरी अगाडि बढ्ने भन्ने चिन्तामा पार्नुहुन्न । निश्चिन्त र आत्मसम्मानका साथ गुरुहरूलाई काम गर्नका लागि पर्याप्त सेवासुविधा र सम्मानको व्यवस्थापन राज्यका तर्फबाट समाजका तर्फबाट गर्न सकियो भने शिक्षाको क्वालिटीमा उहाँहरूले निश्चिन्त भएर आफ्नो योगदान दिन पाउनुहुन्छ । उहाँलाई थप चिन्ता कम हुन्छ र शिक्षाको गुणस्तरताको सवालमा चाहिँ एउटा फड्को मार्ने कोसिस स्थापित हुनसक्छ ।

अब पार्टीको कुरा गरौँ । अब नेपाली कांग्रेसको महाधिवेशन आउन त अझै समय तोक्या छैन महाधिवेशनको मिति । अहिले देखि नै महाधिवेशन लाग्या हो कांग्रेस पार्टीलाई ?

हाम्रोमा अलिकति समस्या छ । हुन त हाम्रो सामाजिक चरित्र भने पनि हुन्छ । तपाईंको भनाइभन्दा एक चरण अगाडि जान खोजेर भनेँ, पछिल्लोपटक मैले १८–१९ महिनामा ७४ जिल्ला करिबकरिब घुमेर राजनीतिक संवाद छलफल अथवा पोलिटिकल कार्यक्रममा सहभागिता जनाएर आएँ । मैले अहिले उठाएको विषय के हो भन्नुहुन्छ भने कुनै पनि बहुदलीय व्यवस्थामा लोकतान्त्रिक पद्धतिमा शासन गर्ने भनेको दलहरूले नै हो । दलका नेता कार्यकर्ताले नै हो । र अझ वार्ड सदस्यदेखि लिएर प्रधानमन्त्रीसम्म आउने प्रायः दलकै नेताकार्यकर्ता हुन्छन् । तर भोलि त्यो निर्वाचित भइसकेपछि शासन चलाउँदै दलमा जे–जे सिकाएका थियौँ, जस्तोजस्तो प्रवृत्ति जस्तोजस्तो पात्रहरूको हामीले उत्पादन गरेका थियौँ जसको उनीहरूको चरित्र, जीवन पद्धति अथवा रहनसहन जुन किसिमको राजनीतिक दलको नेता कार्यकर्ता हामीले उत्पादन गरेका थियौँ । त्यसको इम्प्रेसन त्यसको परावर्तन शासन सत्तामा देखिने हो । तपाईंले एउटा नैतिकवान् सिपालु भिजिनरी लिडरसिप पार्टीमा उत्पादन गर्नुभयो । पार्टीमा त्यस्तो किसिमको कल्चर एउटा स्थापित गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकार छ । समाजका बारेमा जानकार छ भने त्यसले भोलि शासनमा गइसकेपछि उतातिर पनि आफ्नो योग्यताअनुसारको काम गर्ने भयो । अब केही सिकाएनौँ अलिकति नैतिकताको पनि ह्रास आएको छ । हरेक किसिमका जीवन पद्धतिमा समस्या आएको नेताकार्यकर्ता यदि पार्टीभित्र छ भने शासन पनि त्यस्तै हुन्छ र अन्ततोगत्वा जनताले समेत त्यसबाट प्रताडित हुनुपर्ने अवस्था आउँछ । यदि अयोग्य शासक पर्‍यो भने ।

त्यसकारण बहुदलीय सिस्टममा पार्टी सुधारको प्रक्रिया नै पहिलो खुड्किलो हो । पार्टीलाई मान्छेले एकांकी रूपमा अलग्गै हो भन्ने बुझिराख्ने होइन । यदि कुनै पार्टीको सभापति कुनै पार्टीको महामन्त्री पार्टीको कुनै पदाधिकारी अथवा भोलि टिकट पाएर विजयी हुन सक्ने मान्छे त्यो यदि जस्तो किसिमको तपाईंले बनाउनुभयो, यदि त्यो भोलि गलत मानिस आएर शासनमा गयो भनेपछि पार्टी मात्र होइन जनताले समेत त्यसबाट प्रताडित हुनुपर्छ दुःख पाउने हुन्छ । जस्तो किसिमको त्यो छ त्यसैअनुसारको जनताले पनि शासन भोग्नुपर्ने भएको कारणले पार्टीमा योग्य मान्छेहरू, सिपालु मान्छेहरू, कल्चर्ड मान्छेहरू, नैतिकवान् मान्छेहरू हुनुपर्छ भनेर अभियान छ र चौधौँ महादिवेशनमा मैले यही विषयमा प्रशिक्षणको आधारमा मात्रै क्रियाशील सदस्यता वितरण, क्रियाशील सदस्य भनेको त हाम्रो नेता हो । जो आयो त्यसरी लेखिदिएको छ । सिकाएका छैनौँ । देश, राजनीति, अर्थतन्त्र, शिक्षा, समाज अथवा कुनै पनि नसिकाईकन भोलि शासनमा गएको नेता कार्यकर्ताले त्यति राम्रो गर्न सक्दैन । त्यसले जनताको अपेक्षाअनुसार काम गर्न सक्दैन भन्ने सोच हो । त्यसैअनुसारले म अगाडि बढ्ने विषयलाई साथीहरूको माझमा राख्न खोजेको छु । यस्तो किसिमको पार्टी बनाउनुपर्ने आजको दायित्व र जिम्मेवारी छ । तर हामीकहाँ यस्तो भइरहेको छ कि महाधिवेशन हुनेबित्तिकै हामी उम्मेदवार हुन्छौँ, प्रचारप्रसार गर्छौं, भोट हाल्छौँ, मत काउन्टिङ गर्छौं तबसम्म हामी लोकतन्त्रवादी हुन्छौँ । तर जब रिजल्ट आइपुग्छ नि जब नतिजा घोषणा हुन्छ त्यसपछि जित्नेले हार्नेलाई कसरी घोक्रेठ्याक लगाउने अनि पराजित हुनेले जित्नेलाई कसरी असफल बनाउने भन्ने धारणाले हामी ग्रसित हुन्छौँ । तब लोकतन्त्रबाटै लोकतन्त्रको नम्स खत्तम हुन्छ । दोस्रो कुरा अब जितेको मान्छेलाई असफल बनाउनका लागि र पराजित मान्छेलाई थप साइजमा ल्याउनका लागि अर्को महाधिवेशनमा यसलाई थप कमजोर पार्ने गरी काम गर्नुपर्छ, यसलाई थप असफल बनाउनुपर्छ भन्ने चिन्तनले रिजल्ट आएको आधा मिनेटभित्रै हामीले त्यो सोचको निर्माण गर्छौं र हाम्रा प्रजातान्त्रिक जो नम्स र मूल्य मान्यता भन्छौँ त्यसलाई बिर्सिने कोसिस गर्छौं । हाम्रो चुनाव महाधिवेशन नतिजा आएको रिजल्ट आएको आधा घण्टाभित्रै त्यो सोच विकास हुन्छ र त्यसैअनुसारले मान्छेले काम गर्छ । राजनीतिको सम्बन्ध समाजसँग कसरी स्थापित गर्ने पार्टीलाई बलियो पार्टीलाई राम्रो बनायो भने जनताको पार्टी बन्छ भन्ने कुरा होइन कि हामी व्यक्तिगत प्राप्तिका लागि रिजल्ट आएको बेलादेखि नै आफ्नो प्रोग्राममा राख्ने भएको कारणले अर्को चुनावको हामी तयारी गर्ने अभ्यास चाल्छौँ । त्यहीबेला मिटिङ गर्छौं, हामी किन पराजित भयौँ आन्तरिक गुट र समूहका मिटिङ गर्छौं । किन पराजित भयौँ पराजित हुनुपर्ने कारण नै के हो ? गल्ती कमजोरी कहाँ भयो भनेर समीक्षा गरेर । अर्को बेलाको लागि अब तयारी गर्ने हो भन्ने जो चरित्रले हामी लाग्छौँ नि त्यसले यहाँ पुर्‍याएको हो । यसमा केही करेक्सन गर्नुपर्ने छ । यसैका लागि मैले चौधौँ महाधिवेशनमा नेपाली कांग्रेसभित्रको समस्या गुट भयो । गुटको समूहको कारणले कांग्रेस समस्यामा गयो भन्ने सबैको कुरा छ ।

हामी तल्लो कमिटीबाट माथिल्लो सात–आठवटा तहमा चुनाव लड्छौँ । हामी प्रचार गर्छौं । गुट बनाउँछौँ, स्लिप बाँड्छौँ । अनि झैझगडा गर्छौं । त्यसपछि केन्द्रीय महाधिवेशनमा पनि गुटैगुटका बीचमा चुनाव लड्छौँ । त्यहाँ पनि झगडा गर्छौं । अब त्यहाँबाट आएको नेतृत्वले निष्पक्ष न्याय सम्पादन गर्न सक्छ भन्ने कुरामा त्यहाँ त अब धेरै प्रजातान्त्रिक आचरण र व्यवहार प्रस्तुत गर्न सके मात्रै हो । नभए त्यो त्यसरी आएको हरेक तहमा गुटगत छनोटबाट आएको नेतृत्वले राम्रो निष्पक्ष न्याय सम्पादन गर्न सक्छ भन्ने कुरा हुँदैन । तसर्थ के गर्नु कि वडा तहबाट नै चिर्कटो बाँडेर हामीले पर्चा बाँडेर फलाना फलानाको समूह भनेर हामीले भन्छौँ । खुल्लमखुल्ला समूह भनेर चुनाव लड्छौँ । यसको अन्त्य गर्नका लागि व्यक्तिगत रूपमा जुन कुनै ठाउँमा चुनाव लड्न पाउँछ, तर गुट निर्माण गर्न पाउँदैन भन्ने गर्नुपर्छ ।

भोलि पार्टीभित्र सबैले थाहा पाएर हाम्राप्रति मिडिया, सबै डिलिङ गर्दाखेरि यो फलाना गुटको मान्छे हो भन्ने स्पष्ट हुन्छ । अहिले पनि मन्त्रिमण्डल हेर्नुभयो भने फलानो मन्त्री फलाना गुटको हो भनेर संयुक्त सरकार भए पनि प्रधानमन्त्री स्वयंले अलग–अलग गुटसँग कतै न कतै कम्परमाइज गर्नका लागि कांग्रेसका तीन–चारवटा गुटसँग वार्ता गर्नुपर्ने बाध्यता छ । भित्रै–भित्रै त आफ्नो पक्षमा आफ्ना मान्छे ल्याउनका लागि मान्छेले गतिविधि गर्ला त्यो अलग कुरा हो । तर खुल्लमखुल्ला जुन समूह निर्माण गरेर हामी प्रतिस्पर्धा देखाउछौँ । त्यसलाई अन्त्य गर्न सकियो भने ८० प्रतिशतभन्दा बढी पार्टीको कलह कम हुन्छ र हाम्रो पार्टी स्वतन्त्रतापूर्वक अगाडि बढ्न सक्छ । बलियो हुन सक्छ । जनताको पार्टी हुन सक्छ ।

कांग्रेसको १४औँ महाधिवेशन अनुभवका आधारमा १५औँ महाधिवेशन कस्तो हुनुपर्छ ?

नेपाली कांग्रेस पार्टीले अहिले केही चुनौतीहरूको सामना गरिरहेको छ । पार्टीभित्र वैचारिक, संगठनात्मक र आर्थिक पक्षलाई बलियो बनाउन जरुरी छ । विगतमा बीपी कोइरालाले पार्टी सञ्चालनका लागि तीनवटा आधार (थिंक ट्यांक, संगठन र आर्थिक पारदर्शिता) तय गर्नुभएको थियो । विचारको नेतृत्व गर्नेहरू जस्तः कृष्णप्रसाद भट्टराई, प्रदीप गिरी, नरहरि आचार्यहरू हुनुभयो । संगठनको नेतृत्व गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, भीमबहादुर तामाङ, शेख इद्रिश, खुमबहारदुर खड्का, बलबहादुर राई, शेरबहादुर देउवाहरूले गर्नुभयो । आर्थिक पारदर्शिता र व्यवस्थापन सुवन शमशेर, द्वारिकादेवी ठकुरानीजस्ता व्यक्तित्वले सम्हाल्नुभयो । यी तीन आधारले पार्टी यहाँसम्म आइपुगेको हो । तर, अहिले यी तीनवटै आधार कमजोर भएका छन् । विचार, संगठन र आर्थिक पक्षमा सुधार नगरी पार्टी बलियो हुन सक्दैन । समाज र विश्व परिवर्तन भइसकेको छ । प्रविधि, विकास र जनताको अपेक्षा बदलिएको छ । यस्तोमा नेपाली कांग्रेसले नयाँ सोच र रणनीतिका साथ अगाडि बढ्नुपर्छ । हामीले जनताका मुद्दालाई प्राथमिकता दिँदै वैचारिक, संगठनात्मक र आर्थिक रूपमा बलियो पार्टी बनाउनुपर्छ ।

युवाहरूलाई पार्टीप्रति आकर्षित गर्न नयाँ पुस्ताको सोच र प्रविधिको उपयोग गरेर पार्टीको रणनीति बनाउनुपर्छ । विगतका चुनावहरूमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ, जसले युवा र जनताको समर्थन रहेको देखाउँछ । तर, अझै पनि युवाहरूलाई जोड्न र उनीहरूको अपेक्षा पूरा गर्न हामीले थप मिहिनेत गर्नुपर्छ । हामीले विचार, संगठन र पारदर्शितालाई बलियो बनाएर जनताको विश्वास जित्ने पार्टी बनाउनुपर्छ । यसका लागि हामीले नयाँ रणनीति बनाउँदै छौँ र आगामी महाधिवेशनसम्ममा यो बाटो तयार गर्नेछौँ ।

अब तपाईं १५औँ महाधिवेशनमा कुन पदमा उम्मेदवार बन्ने ?

तपाईंले गुटको कुरा उठाउनुभयो । म यहाँ स्पष्ट गर्न चाहन्छु कि नेपाली कांग्रेसभित्र हाल पाँच–सातजना नेताहरू सभापतिको दौडमा छन् । सभापति बन्नका लागि केही मापदण्ड पूरा गर्नुपर्छ । पहिलो, जनताको प्रिय हुनुपर्छ । दोस्रो, शासनको अनुभव हुनुपर्छ । तेस्रो, अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल हुनुपर्छ । चौथो, अनुभवले खारिएको हुनुपर्छ । पाँचौँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध व्यवस्थित गर्न सक्नुपर्छ । छैटौँ, पहिले नै प्रमाणित र विश्वसनीय व्यक्ति हुनुपर्छ । सातौँ, पार्टी र जनतामा उत्साह जगाउँदै विश्वासको केन्द्रविन्दु बन्न सक्नुपर्छ । यी मापदण्ड पूरा गर्ने वा अधिकतम मापदण्डमा खरो उत्रने नेता नै महाधिवेशनमा प्रतिनिधिहरूको आशाको केन्द्र बनेर सभापति बन्नेछन् । हाल नेताहरू यी मापदण्ड पूरा गर्न दौडधुपमा छन् । मलाई लाग्छ, पार्टीको हालको कार्यशैली र केन्द्रीय कार्यालयको कार्यसम्पादनलाई हेर्दा चार वर्षभित्र विधानअनुसार महाधिवेशन हुन सम्भव छैन । विगतमा पनि महाधिवेशन पाँच वर्षमा भएको छ । त्यसैले, अझै एक वर्ष समय थपिन सक्छ । यो अवधिमा मापदण्ड पूरा गर्ने नेताले सभापति बन्ने सम्भावना छ ।

मैले गुटविहीन नेपाली कांग्रेस बनाउने कुरालाई जोड दिएको छु । देशभरका निर्वाचन क्षेत्रहरूमा यो विषयलाई राजनीतिक एजेन्डाको रूपमा लिएर बहस गरिरहेको छु । गुटविहीनताको कुरा उठाउँदा पार्टी कमजोर हुन्छ भन्ने होइन, बरु गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने मेरो उद्देश्य हो । म अहिले कुनै गुटमा लाग्ने अवस्थामा छैन । तर, भविष्यमा सभापति उम्मेदवारको समूह बन्ने अवस्था आएमा त्यो बेला फरक कुरा होला । अहिलेलाई म गुटको प्रभावबाट मुक्त भएर सबैसँग राम्रो सम्बन्ध राख्दै, गुण–दोषका आधारमा काम गर्न चाहन्छु ।


तपाईं महामन्त्रीको उम्मेदवार हो रे त ?

रे होइन । नेपाली कांग्रेसको महामन्त्री बन्नका लागि केही मापदण्ड पूरा गर्नुपर्छ । मैले त्यसका लागि आवश्यक कामको ५०–६० प्रतिशत पूरा गरिसकेको छु । बाँकी उपलब्धिका लागि थप काम गर्न बाँकी छ । पहिलो चरणमा देशभरका नेता–कार्यकर्तासँग भेटघाट र छलफल गर्ने काम लगभग सकिएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा साथीहरूसँग छलफल गरिरहेको छु ।

महामन्त्रीका लागि हाम्रो पुस्तासँग अनुभव, क्षमता, त्याग र समर्पण छ । हामीले यो पार्टीमा सबै लगानी गरेका छौँ । नेपाली कांग्रेसले इमानदार नेतृत्वमार्फत सरकार सञ्चालन गरी जनताको पक्षमा काम गर्नुपर्छ । मेरो चाहना पनि यही हो — पार्टी र देशको नेतृत्व सम्हालेर जनताको पक्षमा काम गर्ने । मेरो उमेर र अनुभवले यो जिम्मेवारी सम्हाल्न सक्छु भन्ने विश्वास छ । म उत्साहित छु र दोस्रो विकल्प मसँग छैन ।

नेपाली कांग्रेसमा मभन्दा सिनियर नेताहरू धेरै हुनुहुन्छ । आठ लाख ८० हजार क्रियाशील सदस्य भएको यो पार्टीमा लाखौँ सिनियर नेताहरूको योगदान छ । म तिनीहरूको नेता बन्नेभन्दा पनि उत्तराधिकारी बन्न चाहन्छु । जसरी घरमा बाबुले छोरालाई उत्तराधिकारी बनाउँछन्, त्यसैगरी म पार्टीको बागडोर सम्हाल्न तयार छु । तर, यो जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने कुरा मैले प्रमाणित गर्नुपर्छ । म नेता बन्नेभन्दा उत्तराधिकारी बनेर पार्टी र देशको हितमा काम गर्न चाहन्छु ।
मेरो लक्ष्य १५औँ महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्री बन्ने हो । मलाई माया गर्ने साथीहरूको समर्थन छ । कसैले रोक्न खोजे पनि मलाई राम्रो काम गर्नबाट कसैले रोक्न सक्दैन ।