
डा. ध्रुवचन्द्र गौतम
पुष्पपुरको जन्तीको स्वागत सत्कारमा सबै लागे । विरमिताका पितामाता सबैलाई भ्याई–नभ्याई थियो ।
उनीहरू प्रसन्न थिए, एक योग्य र वरमितालाई सुहाउँले रूपको । वरका लागि माला गाँस्ने चन्दन–बेसार आदिको लेप तयार गर्ने । उनका लागि मिष्ठानादि प्रबन्ध गर्ने आदि कार्यले गर्दा सबै व्यस्त थिए ।
कसैलाई कसैसँग बोल्न फुर्सद थिएन । त्यस गाउँको सबैभन्दा प्रतिष्ठित विवाह थियो । खासगरी छिमेकका सारा वरिष्ठ–कनिष्ठ युवा र युवती यस विवाहलाई स्मरणीय बनाउन दत्तचित्त थिए ।
वरमिताका केही खास ५–७ जना साथीहरू भने अनेक तरिकाले वरमितालाई जिस्क्याउँदै आ–आफ्नो अनुभव सुनाउँदै बसेका थिए । कन्याको मनोरञ्जनार्थ ती नानाथरी हास्य गीतटिप्पणी गर्दै बसेका थिए ।
एउटीले भनी– ‘बिहेपछि दुलाहासँग पहिलो भेट हुँदा के गर्छेस् नानी ?’
वरमिताले बनावटी रिस पोख्दै झर्केर भनी –‘छ्या, मोरी के को कुरा गर्छे । मलाई मन पर्दैन यस्ता कुरा ।’
अर्की साथीले छाडिन्– ‘कति अभिनय गर्न सकेको हेर न ! तलाईं थाहा छैन के गर्छेस् ?
वरमिताले उस्तै मुद्रामा भनी– ‘थाहा छैन । पहिलो विवाह हो, कसरी थाहा हुन्छ ?’
‘आहा ! सबको पहिलो विवाह त भएको हो नि । यहाँ को छ र दोस्रो विवाह गर्ने ?’
‘त्यसो भए तँलाई थाहा होला नि ?’
‘मलाइ त थाहा छ, मैले के गरे ?’
‘के गरिस् ?’
‘घुम्टो काढेर बसिरहेँ । उहाँ आएपछि उभिएँ । नाउँ सोध्नुभयो, नाउँ भने, त्यसपछि…..।’ ‘त्यसपछि ?’ यो प्रश्न वरमिताले होइन, अर्की साथीले गरेकी थिई ।
‘अघि विवाहको कुरा सुनाउँदा वाचाल केटीले केही नबोलेर त्यो केटीको कुममा प्याट्ट हिकाई ।’
हिर्काइएको केटीले भनी– ‘तैँले दुलाहालाई हिर्काइस् ?’
सबै गलल्ल हाँसे । वरमिताले भनी – नयाँ घर नयाँ ठाउँ, एकान्त वातावरण, एउटा अपरिचित युवक । म के गर्छु भन त ? ‘म केही पनि गर्दिनँ ।’
‘हो त बिचरी, यसले के गर्छे जे गर्छ, उसैले गर्छ नि !’
फेरि हाँसे ।
वरमिताले झर्केर भनी– ‘छिल्लएका केटीहरू ।’
घरमा खुसीको वातावरण व्याप्त थियो । लग्न भोलिको हो । त्यसैले सबै सत्कारको अभाव नहोस् भनेर सक्रिय थिए । त्यो घरमा त्यति प्रसन्नता अघि कहिल्यै देखिएको थिएन ।
तर त्यस्तो रमाइलो वातावरणमा पनि दुई व्यक्तिको अनुहारमा भने प्रसन्नता होइन, चिन्ताका रेखा स्पष्ट देखिन्थो । प्रसन्नता देखाउँदथे अन्यका सामु, तर वास्तवमा भित्र अत्यन्त चिन्तित र भयभीत पनि थिए । त्यो चिन्ता र भय तिनका अनुहारमा स्पष्ट देखिन्थ्यो ।
ती थिए, वरमिताका दुइ दाइ । ती किन चिन्तित थिए । केहीले अनुमान गरे, बहिनी बिदा हुने हुनाले बहिनीको स्नेहवश दुःखी–चिन्तित भएका होलान् ।
तर तिनको चिन्ताको कारण वास्तविक रूपमा कसैलाई थाहा थिएन ।
बिहेको लग्नको बेला थियो । गाउँमा र वरपर पनि जन्तीहरू आए–गएको देखिइरहन्थ्यो ।
एक–डेढ घण्टा बितेपछि टाढाबाट एउटा जन्ती आइरहेको देखियो । सबैले ठाने, यो लग्न अत्यन्त शुभ मानिएकोले, यसपालि धेरैको विवाह भइरहेको छ ।
तर, जुन जन्तीलाई देखेर तिनले त्यस्तो अड्कल गरेका थिए । त्यो जन्ती अझै नजिक आयो । त्यो गाउँको बाटो भएर जान आएको भन्ठाने । तर त्यो जन्ती आएर वरमिताको ढोकै अगाडि उभियो । दुलाहा ओर्लेर सरासर घरभित्रै पस्यो ।
सबै अचम्ममा थिए । यो के भयो ? त्योभन्दा पनि कसरी भयो । सारा अन्योलमा थिए । न स्वागत गर्नु न फर्काउनु कसैलाई केही थाहा भएन ।
अन्योलमाथि अन्योल थपिँदै गयो । वरमिताका पिता र आफन्तहरू यी जन्तीलाई के गर्ने हो भन्ने निर्णय गर्न सकिरहेका थिएनन् । त्यत्तिकैमा एउटा अर्को जन्ती आइरहेको देखियो । त्यसलाई भने त्यति ध्यान दिएनन् । किनभने ती आफ्नै अल्झोमा थिए । अन्य जन्तीबारे उत्सुकता देखाउने प्रश्नै भएन ।
तर अचम्म ! त्यो जन्ती पनि नजिक–नजिक यतैतिर आइरहेको देखियो । त्यति मात्र होइन, त्यो जन्ती पनि वरमिताकै द्वारमा आडियो । दुलाहा ओर्लेर उनीकहीँ आयो ।
‘कन्या एक वर तीन कसरी भयो ?
वरमिताका पिताले सोध्यो ‘यहाँहरू कताबाट पाल्नुभएको हो र कुन घरमा पाल्नुभएको हो ?’
त्यसपछि क्रमशः दोस्रो र तेस्रो जन्तीको दुलाहाले उत्तर दिए– ‘म कौडिन्य नगरबाट आएको हुँ । त्यहाँ कौडिन्य गोत्रका मानिसहरूको ठूलो वास भएको हुनाले त्यस नगरको नाउँ कौडिन्य नगर हुन गएको हो ।’
‘कण्व ग्रामबाट आएको हुँ । प्राचीन ऋषिले केही समय तप गरेका समयमा कण्व ऋषि थिए, त्यसैले हाम्रो ग्राम कण्व नामले प्रख्यात भयो । दुवैले क्रमशः भने वरामिताको रूप र गुणको चर्चा हामीले सुनका थियौँ । त्यतिकैमा हाम्रा लागि वरमितासँग विवाह गर्ने प्रस्ताव आयो र हामीले तत्काल स्वीकार गरेका हौँ । हामी त्यसै यहाँहरूलाई दुःख दिन आएका होइनौँ ।
पिताले सोधे ‘तपाईंहरूलाई भ्रम भयो होला ? वरमिता नाउँ गरेकी अन्य कन्या होलिन् र तिनको प्रस्ताव आएको होला ?’
तिनले क्रमशः भने होइन हामीलाई यिनै वरमिताको प्रस्ताव विधिवत् आएको हो । पण्डितले आजकै लग्न उत्तम भनी तोकेकाले हामी उत्तम लग्नमै विवाह होस् भन्ने आकांक्षा राखी यहाँहरूलाई सजिलो होस् भनेर समयमै आइपुगेका हौँ ।
वरमिता कन्या एक, वर भने तीन । बुझ्दा सब एकसे एक धनवान्, गुणवान्, रूपवान् । तर विवाह त एउटैसँग हुन सक्छ ?
त्योभन्दा पनि पिताको मूल चिन्ता र प्रश्न अर्को थियो । मैले त पुष्पपुरको वरमाला चयन गरेर आएको थिएँ । एकैपटक तीन–तीन वर कसरी उत्पन्न भए ?
खोज–तलास हुन थाल्यो । अन्त्यमा यसको रहस्य खुल्दा सबैले अचम्म माने ।
क्रमशः









Facebook Comments