
अघिल्लो आलेखमा मैले पूर्वीय दर्शनमा सूचना तथा सञ्चारका बारेमा वर्णन गरेका केही सन्दर्भहरूको चर्चा गरे । ऋग्वेद, डामरतन्त्र, महाभारत, भागवत गीता र श्रीस्वस्थानी व्रतकथाजस्ता ग्रन्थमा पात्र विशेषका क्षमतामा आधारित दिव्यदृष्टिका विषयमा चर्चा गरे । अनि सर्वसाधारण व्यक्तिले पनि आफ्नो शुद्धता र आदर्श जीवनबाट हासिल गर्न सक्ने सञ्चारका विभिन्न आयामका बारेमा चर्चा गरे ।
इन्ट्रा पर्सनल कम्युनिकेसन, इन्टरपर्सनल कम्युनिकेसनका साथै टेलिप्याथीलगायत बारेमा ऋग्वेद, डामरतन्त्र, महाभारत, भगवत्गीता र श्री स्वस्थानी व्रतकथा आदिमा उल्लेखित वर्णनको सरल भाषामा व्याख्या गरे । ऋग्वेद, डामरतन्त्र, महाभारत र भगवत्गीतामा दिव्यदृष्टि र श्रीस्वस्थानी व्रत कथामा ध्यान दृष्टि र चाल पाउनुजस्ता शब्दमार्फत सञ्चारका सन्देश दिइएको बताए । यी विषयवस्तुलाई अहिले पृथ्वीमा रहेका हामी चेतनशील प्राणीले के–कस्तो विज्ञान र प्रविधि उपयोग गरी प्रयोगमा ल्याउन सक्छौँ, त्यसको व्यापक अध्ययन आवश्यक छ ।
यसका लागि सनातन पूर्वीय सभ्यताको खोज केन्द्र नेपाल नै हुने हो ।
यहाँको सप्तऋषि सभ्यता करिब नौ हजार वर्षभन्दा अगाडिको हो । हामी नेपालीले सनातन सभ्यतामा उपलब्ध इतिहास र स्रोतबाट अनुसन्धान गर्नुपर्छ । तर आजसम्म पनि हामी नेपाल राष्ट्रको सार्वभौमिकताको रक्षाका नाममा भूगोल संरक्षण र राजनीतिक अस्थिरतामा नै अल्झिरहेका छौँ । युरोपियनहरूले चौधौँ शताब्दीदेखि नै आधुनिक विकासका लागि प्रविधि अनुसन्धान र आविष्कारको चरणमा पुगेका देखिन्छन् । तर भारत वर्ष हिमवत् खण्ड नेपाल भने अंशबन्डाको राजनीति र राजासहितको परम्पराको रक्षामा नै साँघुरिइरहेको छ ।
यसमा विश्व राजनीतिअनुसार सीमा निर्धारण र विशाल भूगोल नेपालको निर्माणमा पनि गोरखनाथ संस्कृति अँगालेर तत्कालीन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणको सुरुवात गरेको स्पष्ट छ । यो क्रमलाई छलकपटको जगमा उभिएको सुगौली सन्धिले नयाँ मोड दिएको थियो । सन् १८१६ को सुगौली सन्धिपश्चात् नेपालले न त सनातन सभ्यताको रक्षा नै गर्न सफल भयो न त आध्यात्मिक क्षेत्रको विकासमा अगाडि बढ्न सफल भयो ।
विस्तारै–विस्तारै मौलिक संस्कृति, सम्पदा र परम्पराको संरक्षणमा ध्यान पु¥याउन नसकेकोमा विचार गर्न छाडेर लगभग तन्त्र विज्ञानबाट निर्माण भएको दिव्येश्वरी मन्दिर नै अन्तिम मन्दिर हुने गरी नयाँ शिक्षा र संस्कृतितिर समाज लैजान सुरु भयो श्री ३ राणा चन्द्रशमशेरको पालामा । त्यस राजनीतिक शिक्षा पद्धतिपश्चात् आधुनिक विज्ञानलाई नेपालमा उपलब्ध स्रोतले दिन सक्ने केही आविष्कारका अवसरहरूको त ढोका नै बन्द गरिदियो । त्यसैले अब म यी कुराहरूलाई मिथक मान्दै अनुसन्धान र खोजबाट भेटिएका सनातन पूर्वीय सभ्यता पछिको ई.पू.४५०० वर्षदेखि सुरु भएर करिब ई.पू.१९४० सम्म कायम रहेको सुमेरियन सभ्यताको चर्चा गर्छु ।
यो सभ्यता आजको इराकको दक्षिण भाग मेसोपोटामिया क्षेत्रमा विकसित भएको सभ्यता हो । यो सुमेरियन सभ्यताका बेलाको साहित्यलाई नै लगभग पहिलो साहित्य मान्दा त्यतिखेर पनि सूचना तथा सञ्चारको विकास भएको देखिन्छ । पृथ्वीमा पाइएको पहिलो प्रिन्टेड पुस्तक डाइमन्ड सूत्र सुमेरियन साहित्यको पुस्तकभन्दा करिब २९६८ वर्ष पछिको पुस्तक हो । ई.पू. ४५०० मा सुमेर क्षेत्रमा पहिलो वस्ती उरुक, उर, लार्सा आदि विकसित हुन थालेको थियो र त्यसको केही समयपछि ई.पू. ३५०० मा सुमेरियनहरूले लेखन प्रणाली (Cuneiform script) विकास भएको थियो ।
यसलाई नै मानव इतिहासको पहिलो लेखन प्रणाली हो भन्न पनि सकिन्छ । तर यो सञ्चारको विकासक्रम ई.पू. १९४०मा एलामाइट आक्रमणपछि सुमेरको अन्त्य सँगै विस्तारै समाप्त भयो र बीचमा हामीले त्यस्तो केही भएको उत्खनन र प्रमाणित गर्न सकेका पनि छैनौँ ।
अनि पन्ध्रौँ शताब्दीमा गुटेनबर्गले आविष्कार गरेको हाते प्रिन्टिङ प्रेसपछि अहिलेसम्म निरन्तर विकास भइरहेको सञ्चार प्रविधिले हामीलाई एआईसम्म पु¥याइसकेको छ ।
एआईसम्म पुग्दा हामीलाई अध्ययन अनुसन्धान गर्न धेरै सस्तो र सहज बनाइसकेको छ । त्यसैले पनि नेपालको परिचय संरक्षण गर्न संस्कृत भाषा र पुराना प्रविधिको खोज गणतन्त्र नेपालको पहिलो बाटो हुनुपर्दछ । विश्वले पन्ध्रौँ शताब्दीपश्चात् सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गरेका विकासका चर्चा आउँदो आलेखमा गर्नेछु ।
क्रमशः









Facebook Comments