विकास, नयाँ प्रविधि अवलम्बन र त्यसको नमुना निर्माणअन्तर्गत सञ्चालित विभिन्न गतिविधि तथा प्रविधिको अवलोकन पनि गरिएको छ । यसपछि संगठनका वरिष्ठ अधिकारीहरूसँगको छलफलका क्रममा नेपालको रेल यातायातको विकासमा भारत सरकारमार्फत संगठनले गर्नसक्ने सहयोगबारे विचारविमर्श गरिएको थियो ।

सन् १९५९ मा स्थापना भएको केन्द्रीय औषधीय एवं सगंध पौधा संस्थान भारत सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जीवशास्त्र र रसायन विज्ञानसम्बन्धी उच्च गुणस्तरयुक्त अनुसन्धान तथा किसान एवं व्यवसायीलाई औषधीय र सुगन्धयुक्त वनस्पति उत्पादन, त्यस्ता वनस्पति उत्पादनसम्बन्धी प्रविधि र सेवा प्रदान गर्ने संस्था हो । हिन्दूस्तान एरोनटिक्स लिमिटेड सन् १९४० मा स्थापना भएको ठूला हवाइजहाज, वायुयान, रकेट तथा सैनिक वायुयान निर्माण गर्ने विश्वका पुराना सार्वजनिक निकायमध्ये एक हो ।

ad

यस संस्थाले सन् १९४२ बाट हवाईजहाज निर्माण गर्न सुरु गरेको थियो । यसले भारतीय वायुसेनाका लागि विभिन्न लडाकु र अन्य विमान निर्माण गरेको छ । यसका ११ वटा अनुसन्धान र विकास केन्द्र रहेका छन् । तीमध्ये लखनउस्थित अनुसन्धान केन्द्र पनि एक हो ।

राजकीय भवन दृश्यावलोकन

भारत परिचयात्मक भ्रमणको सिलसिलामा पत्रकारको प्रमण्डलले संघीय राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवन र उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउस्थित विधानसभा भवन परिसर, भवनमा रहेका विभिन्न कक्ष तथा महत्वपूर्ण स्मारकहरूको अवलोकन गरेको थियो ।

भारतका राष्ट्रपतिको निवास र कार्यालय रहेको राष्ट्रपति भवन परिसर १३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । राष्ट्रपति भवनको मुख्य भवनमा ३४० कक्ष रहेका छन् । क्षेत्रफलका आधारमा भारतको राष्ट्रपति भवन र यसको परिसर इटलीका राष्ट्राध्यक्ष बस्ने कुइरिनल दरबारपछिको दोस्रो ठूलो हो । भारत स्वतन्त्र हुनुभन्दाअघि यो भवन सन् १९३१ देखि १९३७ सम्म तत्कालीन बेलायती शासनका प्रतिनिधि गभर्नर बस्ने ‘भिसेरोय हाउस’का रूपमा चिनिन्थ्यो भने यो भवन सन् १९४७ देखि १९५० सम्म गभर्नमेन्ट हाउसका रूपमा रहेको थियो ।

राष्ट्रपति भवनमा विभिन्न ऐतिहासिक तस्बिर, पुरातात्विक सामग्री, कलात्मक चित्र र मूर्तिहरू रहेका छन् । भारतीय र रोमन वास्तुकला शैलीमा निर्मित मुख्य भवनको छत गुम्बज आकारको रहेको छ । वर्तमान राष्ट्रपति द्रोपदी मुर्मु र उहाँका पूर्ववर्ती प्रणव मुखर्जीले राष्ट्रपति भवनमा क्रमशः जनजातीय संग्र्रहालय र लोककला संग्र्रहालय कक्षको स्थापना गरेका छन् । यसले भारतको राष्ट्रिय एकतालाई थप सबल पारेको त्यहाँका उच्चपदस्थ कर्मचारीले बताएका छन् ।

त्यसैगरी, पत्रकारको भ्रमण टोलीले उत्तर प्रदेश राज्यको लखनउस्थित विधानसभा भवन, भवनका विभिन्न कक्ष तथा परिसरको अवलोकन गरेको थियो । उत्तर प्रदेश राज्यमा दुई सदनात्मक व्यवस्थापिका संसद् छ । त्यहाँको माथिल्लो सदनलाई विधान परिषद् तथा तल्लो सदनलाई विधानसभा भनिन्छ । उत्तर प्रदेश विधानसभामा ४०३ निर्वाचित सदस्य छन् र यो भारतको सबैभन्दा ठूलो विधायिका हो । त्यस्तै विधायिकी परिषद्मा १०० सदस्य छन् ।

विधानसभाको कार्यकाल पाँच वर्षको हुन्छ । उत्तर प्रदेशको पहिलो विधानसभाको गठन सन् १९५२ मा भएको थियो । त्यसपश्चात् यो १८औँ पटक गठन भएको छ । विधानसभा भवन युरोपियन तथा अवधि वास्तुकलाको मिश्रित शैलीमा निर्माण गरिएको छ ।

विपद् उत्थानशील पूर्वाधारका लागि गठबन्धन

सीडीआरआई भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सन् २०१९ को संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा घोषणा गरिएको एउटा विश्वव्यापी साझेदारी संस्था हो । यसमा राष्ट्रिय सरकारहरू, राष्ट्रसंघका निकाय तथा कार्यक्रम, बहुपक्षीय विकास बैंक, निजी क्षेत्र र प्राज्ञिक संस्था संलग्न छन् । यो संस्थाको प्रमुख उद्देश्यमा जलवायु परिवर्तन र विपद् उत्थानशील पूर्वाधारको प्रवद्र्धनमार्फत दिगो विकासमा सघाउ पु¥याउनु हो ।

संस्थाको उत्थानशील कार्यक्रम सहकार्यात्मक र समावेशीकरणका कार्यगत सिद्धान्तबाट निर्देशित छ । संस्थाले जलवायु विषमता र विपद्को तीव्र रूपमा बढ्दो परिवेशका सन्दर्भमा अति जोखिममा रहेका सदस्य राष्ट्र र समुदायका आसन्न प्राथमिकतामा केन्द्रित रहेर आफ्नो कार्य गरिरहेको छ ।

नेपालसहित चार देश तथा आठ अन्तर्राष्ट्रिय संस्था सीडीआरआईका सदस्य रहेका छन् । विपद् उत्थानशील पूर्वाधार, पूर्वाधार उत्थानशील तीव्रता कोष, महत्वपूर्ण पूर्वाधार उत्थानशीलता कार्यक्रम, भूगोल सान्दर्भिक उत्थानशील पहल, ज्ञानकेन्द्रित पहल एवं सबलीकरण संयन्त्र तथा अन्तरसम्बन्धित विषयसम्बन्धी नतिजा सीडीआरआईका प्रमुख कार्यक्रम हुन् । भारतको नयाँदिल्लीमा मुख्य कार्यालय रहेको सीडीआरआईले विभिन्न १८३ परियोजनामा दुई करोड १८ लाख अमेरिकी डलर आर्थिक सहायता प्रदान गरेको छ ।

संस्थाद्वारा आयोजना गरिएको संक्षिप्त छलफल कार्यक्रममा यसका पदाधिकारीले संस्थाको परिचयका साथै यसको प्रमुख उद्देश्य र कार्यकाबारेमा जानकारी गराएका थिए । सम्पूर्ण विश्व र खासगरी दक्षिण एसियाका पहाडी मुलुक एवं तटीय राज्यहरू जलवायु प्रकोप र विपदको चपेटामा परिरहेका सन्दर्भमा सीडीआरआईजस्ता संस्थाको अहम् भूमिका रहेको सो छलफलमा जोड दिइएको थियो ।

एसियन न्युज इन्टरनेसनल (एएनआई) भ्रमण

पत्रकारको टोलीले नयाँदिल्लीस्थित एसियन न्युज इन्टरनेसनलको पनि अवलोकन भ्रमण गरेको थियो । एएनआई भारतको एउटा समाचार संस्था (न्युज एजेन्सी) हो । यसले भारतका विभिन्न सञ्चारमाध्यमलाई समाचार प्रदान गर्छ । प्रेम प्रकाशले सन् १९७१ मा एएनआईको स्थापना गर्नुभएको थियो । एएनआई भारतको सबैभन्दा ठूलो टेलिभिजन न्युज एजेन्सी हो । यसले आफ्ना ग्राहकलाई भिडियो, तस्बिर र समाचार प्रदान गर्छ । पत्रकारको टोलीले एएनआई भ्रमणका क्रममा संस्थाको समाचार संकलन र सम्पादन कक्षको अवलोकन गर्नुका साथै समाचार संकलन, सम्पादन र सम्प्रेषण प्रक्रियाका बारेमा पनि जानकारी लिएको थियो ।

यसका अतिरिक्त पत्रकारको भ्रमण दलले नयाँदिल्लीस्थित दिल्ली हाट र आगरास्थित विश्वको सातौँ आश्चर्य ताजमहलको पनि भ्रमण गरेको थियो । दिल्ली हाट विशाल क्षेत्रमा फैलिएको भारतको ग्रामीण हाटबजारको झझल्को दिने बजार हो । यहाँ हस्तकलालगायत सामग्री पाइन्छन् । भारतका विभिन्न राज्यका व्यापारी र शिल्पीले आफ्ना उत्पादन राजधानीमा ल्याएर बेच्ने अवसर प्राप्त गरेका छन् ।

द्विपक्षीय सम्बन्ध र सहयोग विस्तारका कुरा

भ्रमणको सिलसिलामा पत्रकारको प्रमण्डलले भारतको विदेश मन्त्रालयअन्तर्गत उत्तरी शाखा हेर्ने अतिरिक्त सचिव मुनु, महवरसँग साउथ ब्लकस्थित मन्त्रालयमा भेट गरेको थियो । त्यस अवसरमा आयोजित संक्षिप्त अन्तरक्रियामा महवरले भारत सरकारले आफ्नो छिमेक पहिला नीतिअनुरूप नेपाल र भुटानसँगको सम्बन्धलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले भारत सरकारले नेपाललाई दिने सहायतामा पछिल्ला वर्षमा वृद्धि भएको तथा सहयोगका क्षेत्र पनि विस्तार भएको उल्लेख गर्नुभयो । अतिरिक्त सचिव महवरले भारत (नेपाल द्वीपक्षीय सम्बन्ध विशेष रहेको र यो सम्बन्ध अझै झाँगिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

साथै, उहाँले नेपाल र भुटानले भारतले गरेको आर्थिक विकासबाट भरपुर लाभ उठाउन सक्नुपर्नेमा जोड दिनुभयो । महवरले नेपालले भारतीय लगानी आकर्षण गर्ने निश्चित क्षेत्रको पहिचान र लगानीमैत्री नीति र वातावरणको निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो । त्यस्तै दुई देशबीच यातायात सम्पर्क विस्तारमा पनि जोड दिनुभयो ।

त्यस्तै, फेडेरेसन अफ इन्डियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (एफआइसिसिआई)का पदाधिकारीसँगको भेटका अवसरमा नेपाल–भारत द्विपक्षीय व्यापार र वाणिज्य क्षेत्रका बारेमा परिचर्चा भएको थियो । यस क्रममा नेपालले भारतसितको व्यापारमा बेहोर्नु परेको व्यापार घाटा न्यूनीकरणका उपायको बारेमा पनि छलफल भएको थियो ।

साथै, भारतीय निजी क्षेत्रको लगानीका प्राथमिकता र त्यसको वृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो । जलविद्युत्, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा भारतीय लगानी भित्र्याउन सकिने सम्भावनामाथि पनि चर्चा गरिएको थियो ।

भारत भ्रमणका क्रममा पत्रकारको टोली त्यहाँको सरकारी टेलिभिजन प्रसारण संस्था दूरदर्शनले ‘इन्डियन डिप्लोमेसी ः भ्वाइसेस फ्रम भुटान एन्ड नेपाल’ शीर्षकमा आयोजना गरेको अन्तरक्रियामा सहभागी भएको थियो । अन्तरक्रियामा नेपाल र भारत सम्बन्धका विविध पक्षका साथै दुई देशबीचको जनस्तरमा विद्यमान सम्बन्धका बारेमा परिचर्चा गरिएको थियो ।

त्यस्तै, अन्तरक्रियामा त्रिदेशीय सांस्कृतिक र सभ्यतागत निकटताको महत्व र सान्दर्भिकता, जनस्तरको अन्तरक्रियाले प्रवद्र्धन गरेको मित्रतालगायत कसरी द्विपक्षीय तथा त्रिपक्षीय व्यापार, लगानी तथा विकास सहायतालाई बढावा दिन सकिन्छ, भन्ने विषयमा पनि विचार मन्थन भएको थियो । साथै, नेपाल, भुटान र भारतले जलवायु परिवर्तनबाट हुने असर र विपद्को कसरी मिलेर सामना गर्न सक्छन् भन्ने विषयमा सो अवसरमा चर्चा गरिएको थियो ।

अन्त्यमा मित्रराष्ट्र भारतले पछिल्ला वर्षहरूमा आर्थिक, सामाजिक, विज्ञान–प्रविधि, स्वास्थ्य र पूर्वाधार विकासमा ठूलो प्रगति हासिल गरेको छ । एउटा निकट छिमेकी र भारतसँग ‘रोटीबेटी’को विशिष्ट सम्बन्ध रहेको नेपालले आफ्नो दक्षिणी छिमेकी र विश्वको उदीयमान आर्थिक शक्ति भारतको प्रगति र विकासबाट सक्दो फाइदा लिन सक्नुपर्छ । यसका लागि नेपालको राजनीतिक नेतृत्वले मनन गर्नु आवश्यक छ ।