
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकको सन्देश के हो ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक नबसेको लामो समय पनि भएको थियो । पार्टीका प्रतिनिधिहरू सयदिने अभियान लिएर पनि जानुभएको थियो । जिल्ला जिल्ला पार्टीको परिस्थिति, जिल्लाको भावना, ग्रासरुटको के छ, अहिलेसम्मको पार्टीको संरचनामा कसरी काम भइरहेको छ, पार्टीका साथीहरूको के–के असन्तुष्टि छ अथवा सन्तुष्टि छ, आन्तरिक छलफल र पार्टी संगठन सुदृढीकरणका लागि हामीले अभियान तयार गरेका थियौँ । त्यसैअनुसार जिल्ला–जिल्लामा बुझ्नलाई गएका हौँ । अहिलेको राष्ट्रिय राजनीतिमा गठबन्धनका सम्बन्धमा एमाले र कांग्रेसको बीचमा फाटो ल्याउने जुन हरकतहरू भए, ती प्रयत्न गलत भएको छ । अहिले गठबन्धनको सरकारमा कुनै समस्या छैन । आपसी समझदारीमै काम पनि भइरहेको छ भन्ने सन्देश दिने काम गरेको छ ।
सन्देश त त्यो भयो, रिजल्ट के आयो केन्द्रीय कार्यसमितिको बैठकबाट ?
गठबन्धनलाई निरन्तरता दिने । यसमा कुनै द्विविधा नराख्ने, समस्या छैन भन्ने हामीले सन्देश दिएका छौँ । यसैगरी हाम्रा भ्रातृसंस्थाहरूको महाधिवेशनका कुरालाई अब कसरी लैजाने भन्ने हो । हामीले १३ वटा एजेन्डा बनाए पनि मुख्य रूपमा यिनै विषयमा छलफल केन्द्रित भएको थियो । यसैगरी, अनुशासन समितिको पनि प्रस्ताव पेस भएको थियो । आएका उजुरी र यसलाई कसरी छानबिन गर्ने भन्ने कुरा पनि पेस भएको थियो । राष्ट्रिय रूपमा भएका गतिविधिको विश्लेषण र त्यसबाट एउटा निक्र्योल निकाल्ने काम केन्द्रीय कार्यसमितिमा भएको छ ।
यो सयदिने अभियानको एकदमै ढिला गरी समीक्षा गर्नुभयो नि ?
हो । त्यो कुराचाहिँ हामीले पदाधिकारीको बैठकमा पनि गरेकै हौँ । अरू विविध कारणले अलमलिएकाले हाम्रो बैठक नै नियमित भएको थिएन । विधानअनुसार दुई महिनामा राख्ने भन्ने भए पनि यसपटक ढिला गरी भएकाले त्यो समीक्षा गर्न पनि ढिला नै भयो ।
गाउँ–वडा तहमा गुटबन्दी, असन्तुष्टि र नेता–कार्यकर्ताबीचको सम्बन्धमा खाडलको समस्या सम्बोधन गर्न केन्द्रीय कार्यसमितिबाट निर्णय किन आउन सकेन ?
अहिले केन्द्रीय कार्य समितिले फेरि पनि भनेको छ । क्रियाशील सदस्यताको विषयमा पनि कुरा उठेको छ । र अब यसलाई नियमन गर्ने क्रियाशील सदस्यको प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाउने र वडा तहसम्म तपाईंले भन्नुभएको जस्तै असन्तुष्टि पनि छ । जिल्लामा काम गर्ने मान्छे जिल्लामै काम गरिराखेका छन् । तर केन्द्रमा बसेर खुराफाती गर्नेहरू पनि त्यत्तिकै छन् भन्ने कुरा पनि रियलाइजेसन भएको छ । त्यसकारण तल्लो निकायलाई नै कसरी स्ट्रङ बनाउने र तल्लो निकायलाई विधिवत् रूपमा पार्टीको विधानगत रूपमा कसरी संगठित गर्ने भन्ने कुरा त सर्वसम्मत रूपमा सबैले रियलाइजेसन नै गरेको हो । त्यसकारण अब अहिले क्रियाशीलको जुन अवधि दिएको छ, क्रियाशील सदस्यता प्राप्त भइसकेपछि त्यसलाई नयाँ क्रियाशील दिने विषयमा निर्णय हुन्छ । त्यसपछि पार्टीको संरचना तल्लो निकायदेखि नै स्ट्रंग हुन्छ । जथाभावी क्रियाशील दिँदैमा संगठन सुदृढ हुँदो रहेनछ भन्ने कुरा पनि रियलाइजेसन भएको छ । त्यसकारण क्रियाशील सदस्यता भन्ने कुरा पार्टीको जुझारु क्रियाशील सदस्यहरूले मात्रै लिने, क्षमता अभिवृद्धि गर्ने, ट्रेनिङ दिने पार्टीको अवधारणा र सैद्धान्तिक विचारलाई तल्लो तहसम्म कसरी लाने भन्ने कुरामा बहस त सधैँ नै हुन्छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा अनुशासनमा फलानो फलानोलाई कारबाही गर्ने हो भनेर सबैको नामावली प्रस्तुत भएको थियो ?
प्रस्तुत भएको थिएन । यति मान्छे छन् । अनुशासनको कारबाहीका लागि परेका उजुरी हजारौँ छन् भनेर मात्रै भनिएको थियो । मान्छेहरूको नामभन्दा पनि यो पदहरूको यसरी उजुरी छ भनेर पेस भएको थियो । त्यसै सन्दर्भमा सबैले बोल्नुभो । अब कारबाहीको प्रक्रिया अगाडि त बढाउनै पर्छ । तर, तथ्य र सत्य के हो भन्ने अनुशासन समितिले अझ सशक्त छानबिन गर्नुपर्छ भन्ने मान्यता मेरो पनि हो ।
कारबाहीको लिस्ट सार्वजनिक भएको छ नि यसमा तपाईंको धारणा के हो ?
अब यो कारबाही जसरी गरिएको छ । योचाहिँ मलाई पनि चित्त बुझेको छैन । यसरी कारबाही गर्ने नै होइन । केन्द्रीय समितिमा नल्याईकन अनुशासन समितिले गरेको छ । केन्द्रीय समितिमा पेस मात्रै गरिएको हो । छलफल भएको छैन । यसको सत्यता के हो भन्ने कुरा पनि आएको छैन । त्यसकारण कसैलाई गर्ने, कसैको उजुरीमाथि छानबिन गर्ने, कसैको उजुरीमाथि छानबिन नगर्ने भन्ने कुराचाहिँ गलत हो । र स्पष्ट भन्न सक्नुपथ्र्यो । कसको छानबिन भयो, कसको भएन भन्ने कुराचाहिँ अनुशासन समितिले क्लियर गर्नैपर्छ । केन्द्रीय समितिमा छानबिन गरेर नसियत भन्ने कुरा सबैलाई दिनुपर्छ । कसैलाई दिने कसैलाई नदिने भन्ने कुरा हुँदैन । नसियत र सचेत गराउनुपर्छ भन्नेचाहिँ मेरो पनि मान्यता हो । मैले पनि बोलेको हुँ, केन्द्रीय समितिमा । त्यसकारण सचेत नगराईकन कसैलाई कारबाही नै ठोक्ने, कसैलाई चाहिँ केही पनि गरिएको छैन भन्ने जस्तो देखाउँदाखेरि चाहिँ यो संगठन बलियो हुँदैन भन्ने मेरो पनि धारणा हो । त्यसकारण यसरी (कारबाही) गरिएकोमा चाहिँ मेरो पनि असहमति हो ।
यो कारबाही एक अर्थमा गुटगत भयो भनेर बुझ्दा ठिकै हुन्छ ?
अब यो गुटगत भयो कि भएन भन्ने मलाई ठ्याक्कै थाहा छैन । मैले पनि न्युजमा पढेको हो । न्युजमा पढ्दाखेरि अधिकांश भन्ने आएको छ । अधिकांश एउटा पक्षकालाई कारबाही भनेर आएको छ । पूर्ण रूपमा गुटगत हो कि होइन त्यो पनि थाहा भएन । तर मेरो पनि भनाइ के हो भने को–को माथि छानबिन गरियो ? को–कोलाई स्पष्टीकरण सोधियो ? स्पष्टीकरणको जवाफमा कसले के भने भन्ने कुरा त उजुरी दिनेलाई त थाहा हुनुपर्यो नि त । कमसेकम उनीहरूलाई त बोलाएर छलफलमा राख्नुपथ्र्यो नि त । त्यो नगरीकन कसैलाई कारबाही गर्ने कसैलाई नगर्नेचाहिँ पक्षपात हो भन्ने कुरा मैले पनि स्पष्ट भनिरा’को छु, बोल्छु पनि ।
शेखर कोइराला पक्षले पूर्वाग्रही भयो विधानअनुसार पनि भएन भनेको छ । ६ महिनामा टुंग्याउनुपर्ने कुरा यतिबेला आएको छ, यसप्रति तपाईंको टिप्पणी ?
विधानतः ६ महिनाको कुरा हो । धेरै कुराहरू विधानले भनेको ठ्याक्कै पनि भएको छैन ।
नेपाली कांग्रेस कहाँ विधानबाट चल्छ र ?
तपाईंले भन्नुभएको जस्तो विधानतः नचलेको पनि होइन, केन्द्रीय समिति सर्वोच्च निकाय हो नि, त्यसकारण कतिपय ढिला भएका कुराहरूलाई केन्द्रीय समितिले सच्याउन सक्ने अधिकार त छँदै छ । तर तपाईंले भनेको जस्तो समयमा गर्दिएको भए तातो–तातो पनि थियो । सबैलाई हौसला हुन्थ्यो होला अथवा अहिलेको समयसम्म उनीहरूले पनि रियलाइजेसन गरेर पार्टीलाई संगठित गर्न हिँडिसक्थे होला अथवा के हुन्थ्यो ? समयमा नहुनु राम्रो होइन । तर, जे भयो जति उहाँ (अनुशासन समिति)ले गर्नुभयो, त्यो पनि प्रक्रियागत भएन । र त्यो चित्तबुझ्दो भएन भन्ने मेरो टिप्पणी हो ।
कारबाहीको सूची हेर्दा त ०८४ को निर्वाचन आउँदै छ । त्योभन्दा अगाडि १५औँ महाधिवेशन आउँदै छ । कसरी एक पक्षले अर्कालाई सक्काउने भनेर लागेको हो ?
त्यो पनि हुन सक्छ, मलाई थाहा छैन । त्यो मात्र पनि होइन । कतिपय ठाउँमा प्रमाणित पनि हुन्छ । कतिपय ठाउँमा गलत पनि भएको छ नि । तपाईंले बुझ्नुपर्ने के हो भने नेपाली कांग्रेसमा थोरै मात्र मतबाट हार्नेको संख्या धैरै छ । यो संविधानले कुनै पनि पार्टीलाई बहुमत दिँदैन भन्ने एउटा भाष्य तयार गरिएको छ, बाहिर । तर यो गलत हो । हाम्रो पार्टीमा उपसभापति पूर्णबहादुर खड्काले बोलिसक्नुभएको छ । केन्द्रमा रहेका हामी ३० जना हाम्रै कारणले हारेका छौँ । प्रदेशमा हामी ६० जना आफ्नै साथीहरूका कारणले हारेका छौँ भन्ने कुरा उहाँले नै बोल्नुभएको छ भने त्यो ठाउँ कहाँ कुन–कुन हो त ? कहाँ कारबाही गर्नुपर्ने, कहाँ सचेत गराउनुुपर्ने भन्ने कुराचाहिँ विश्लेषण नगर्ने त हामीले ? र्यान्डम्ली कारबाही गर्ने हो त ? होइन नि त । पार्टी उपसभापतिले बोल्नुभएको कुरा तपाईंले रेकर्डमा पनि हेर्न सक्नुहुन्छ । ३० जना केन्द्रीय संसद्मा हार्नुभएको छ र प्रदेशमा ६० । भन्दाखेरि हाम्रो बहुमत नआउने हो रैछ त ? धेरैत हाम्रै कारणले हारेका रहेछन् । त्यसकारण त्यहाँ ट्रिटमेन्ट गर्नुपर्यो भन्ने मेरो भनाइ हो । जहाँ–जहाँ त्यस्तो भएको छ, त्यहाँ ट्रिटमेन्ट गर्नुपर्यो ।
अघिल्लो हप्ता मैले दिनेश कोइरालाको अन्तरवार्ता गरेको थिएँ, उहाँको शब्द सापटी लिन्छु– गठबन्धन ७९ मा भयो । त्यतिबेलाको गठबन्धनमा माओवादीसँग थियौँ । उसले धोका दिएर गइसक्यो । अहिले हामी एमालेसँग छौँ । त्यतिबेलाको कारबाही अब किन गर्ने ?
उहाँको कुरा ठाउँ विशेषको मात्रै भयो । उहाँको भनाइले के मा इंगित गर्यो भने जहाँ माओवादीको उम्मेदवार थियो, त्यहाँ पार्टीको साथीहरूले विद्रोह गर्नुभयो अथवा जहाँ एस पार्टीको उम्मेदवार थियो, त्यहाँ साथीहरूले विद्रोह गर्नुभयो । त्यसकारण तिनीहरूलाई कारबाही गर्न मिल्दैन भन्ने उहाँको धारणा हो । त्यहाँ मात्रैको कुरा होइन । त्यो पनि एक पक्षबाट सही होला अथवा के होला ? सचेत त गराउनैपर्छ । त्यहाँ पनि गराउनपर्छ किनभने पार्टीले गरेको निर्णयको विरुद्धमा हो नि त, हैन ? त्यसकारण उहाँहरूलाई सचेत गराउनु अथवा उहाँहरूलाई नसियत दिनु स्वभाविकै पनि हुन्छ । तर मैले अघि तपाईंलाई भनेको कुराचाहिँ कहाँ हो ? जहाँ हाम्रो कमजोरी छ त्यहाँ पो हामीले काम गर्ने त जहाँ कमजोरी नै छैन त्यहाँ काम गर्नुको अर्थ छैन भन्ने मेरो भनाइ हो । जहाँ चुनाव हारेर हाम्रो केन्द्रमा संख्या घट्नुपर्ने अवस्थामा छ, त्यहाँचाहिँ हामीले काम गर्ने कि नगर्ने त अनुशासन समितिले त्यस्तो ठाउँ पत्ता लगाएर ? भन्ने मेरो प्रश्न हो के ।
चुनाव हारेको साथीहरू आफ्नै कारणले हो/होइन हामीले रोग पत्ता लाउने अनि त्यो रोगलाई उपचार गर्ने कि, जहाँ रोग हुँदाहुँदै पनि हामी माथि आइसक्यौँ भने त त्यहाँका साथीहरूलाई बोलाएर पार्टीले आइन्दा यो नगर्नू भन्ने हो नि त । तर जहाँ समस्या छ त्यो समस्या छोड्दिनु भयो नि त उहाँहरूले ।
अब तपाईंहरू १५औँ महाधिवेशन कहिले गर्नुहुन्छ ? कसरी गर्नुहुन्छ ?
१५औँ महाधिवेशनको सवालमा बाहिर मिडियामा पनि देखिरहनुभा’छ, तपाईंले पनि देख्नुभा’छ । समय–समय मा भन्नु पनि भा’छ, तर अहिलेसम्म नेपाली कांग्रेसको इतिहास हेर्नुभयो भने वैधानिक रूपले थप्न पाउने एक वर्ष अहिलेसम्म कसैले नथप्या छैन, कुनै सभापतिले नथपेको छैन, कुनै पनि कार्यकालमा नथपेको छैन । त्यसकारण यो एक वर्ष थप गर्नु त हाम्रो वैधानिक परम्परा नै हो । त्यसकारण (महाधिवेशन) अब ०८३ को मंसिरमा हो । त्यसैकारणले अहिलेको यो (०८२) मंसिरसम्म हाम्रा क्रियाशीलता प्रक्रियाहरू सबै सक्ने भन्ने महामन्त्रीको स्टेटमेन्ट पनि छ । तपाईंले सुनिरहनुभा होला । त्यसकारण मंसिरसम्ममा हामीले क्रियाशीलको काम सम्पन्न गर्यौँ भने अर्को मंसिरमा हुन सक्छ ।
फेरि संविधानले दिएको ६ महिना थप गरिदिने कि ?
अब त्योचाहिँ परिस्थिति हेरेर हुन्छ । जस्तो अब स्थानीय निकायको निर्वाचनका कुरा छन् । स्थानीय निर्वाचनभन्दा अगाडि गर्न त राम्रो हुँदैन । त्यसकारण मलाई जहाँसम्म लाग्छ, ८३ को मंसिरमा हामीले सकाउनैपर्छ । त्यसपछि वैशाखमा हाम्रो स्थानीय निर्वाचन सुरु हुन्छ । त्यसकारण वैशाखसम्म हामीले लान सक्दैनौँ पार्टीको यो निर्वाचनलाई ।
अब १५औँ महाधिवेशनमा कांग्रेसको सिनारियो के हो ? वर्तमान सभापति त अब रेसआउट भइसक्नु भयो । उहाँले आफैँ पनि घोषणा गर्नुभयो र विधानअनुसार उहाँलाई मिल्दैन पनि ?
कांग्रेसमा समस्या त सधैँ आइजान्छ । तर अब हाम्रो पार्टीमा व्यक्तिभन्दा पनि कांग्रेसलाई कसरी ड्राइभ गर्ने, हाम्रो सिद्धान्त, हाम्रो विचारलाई कसरी ड्राइभ गर्ने भन्ने कुरा हो । यो पार्टीमा सबै दुःख गरेका नेताहरू छन् । त्यसकारण जो भए पनि भोलि पार्टीलाई यही विचार यही आधारमा नै अगाडि बढाउनुहुन्छ । सबै मान्छे सशक्त बनेर आइसकेका छन् । काम गर्न अब सफल छन् । त्यसकारण अब मान्छे नै छैन । देउवा पछि केही छैन भन्ने कुरा पनि होइन । अब उहाँले राम्रो गर्नुभयो, दुई कार्यकाल राम्ररी सम्पन्न गराउनुभयो, सबै सन्तुष्ट छन् । हिजो गाली गर्नेहरूले पनि आज उहाँकै कारण पार्टी सशक्त बनाउन सकियो भन्ने पनि प्रशंसा हामीले सुन्यौँ नि त केन्द्रीय समितिमा । हिजो बाहिर तथानाम गाली गर्नेहरूले पनि आज सभापतिज्यूलाई त प्रशंसा नै गरे । त्यसकारण भोलि उहाँको पदचाप लगाएर अर्कोले पनि सम्हालेर लान्छ सम्हाल्नुपर्छ भन्ने हो । र अर्को महत्वपूर्ण कुरा के हो भने पार्टी सभापतिले म छोड्दै गर्दा म पार्टीलाई एकताबद्ध बनाएर लान्छु पनि भन्नुभएको छ । त्यसकारण अझै एक/डेढ वर्ष समय छ, पार्टी सभापतिले सबैलाई मिलाएर लाने वातावरण तयार गर्नुहुन्छ भन्ने मलाई त विश्वास छ ।
एक बनाउने व्यक्ति कोही छ पार्टीमा ? कस्तो लाग्छ तपाईंलाई ?
भोलि हुन सक्छ, किन नहुने ? सक्छ नि ! मैले अघि पनि भनेँ, काम गरेका प्रशस्त मान्छेहरू छन् नि त पार्टीमा तपाईं हेर्नु न शेरबहादुर दाइ सँगैको दोस्रो लेयर्सका सबै नेताहरू त एकसेएक छन् । उहाँहरूले युनिटी देखाएर भोलि कार्य विभाजनमा हामी यसरी काम गरौँ भन्दाखेरि एक नहुने के छ र । हुन त प्रतिस्पर्धाको राजनीतिमा चुनाव पनि होला, तर हाम्रो इतिहासमा त्यस्तो असहयोग गर्ने, पार्टीलाई नै धराशायी पार्ने गरेको अहिलेसम्म मैले देखिनँ । हिजो पनि गिरिजाबाबुदेखि नै लड्दै आउनुभएको शेरबहादुर दाइ, लडेर पनि उहाँले सहयोगै गर्नुभयो, सुशील दाइसँग हार्नुभयो, त्यसकारण अब पनि त्यो एउटा संस्कार त सबैले सिकिरहनुभएको छ नि !
हार्दै गर्दा पनि फेरि प्रतिशतमा भागबन्डा त जहिले पनि झाँगियो नि ?
प्रतिशतै भन्ने पनि मैले देख्दिनँ, कहिले प्रतिशतजस्तो देखिन्छ, कहिले होइन जस्तो पनि देखिन्छ । हाम्रो पार्टीमा मूल्यांकन प्रविधिलाई चाहिँ हामीले अझै दुरुस्त बनाउन सक्या छैनौँ । मूल्यांकन प्रविधि के हो भन्ने कुरा हामीले बनाउन सकेका छैनौँ । हुन त संसारमै आर्थिक क्षेत्रलाई प्रायोरिटी दिने, आर्थिक कारणले निर्वाचनमा खर्च बढ्ने, यी प्रक्रिया बढेको कारणले केही हदसम्म पार्टीलाई पनि अप्ठ्यारो अवस्था हुन सक्छ । भएको हुन सक्छ । त्यसलाई कम्प्रोमाइज गर्ने वातावरणचाहिँ भएको हो । हामीले निर्वाचनलाई खर्चिलो बनाउन रोक्ने प्रविधिमा ध्यान दिनुपर्छ । पार्टीमा मूल्यांकन प्रविधिलाई पनि बिस्तारै चुस्तदुरुस्त गराउन सकिन्छ । त्यसकारण निर्वाचन पद्धतिलाई मितव्ययी बनाउने पोलिसी सरकारबाट, पार्टीबाट गर्नुपर्यो भन्ने सधैँ मैले बोलिराको कुरा हुन् ।
महाधिवेशन आउन झन्डै डेढ वर्ष छ, तपाईंको तयारी कहाँनिर हो ?
म सधैँ अहिलेसम्म पार्टीको चुनाव जित्दै आएको हुँ । अब अहिले सहमहामन्त्री छु, मेरो चाहना अपग्रेड हुने नै हो, योभन्दा माथि जाने मेरो सोच हो । तर अब पार्टीको टिमको कुराहरू हुन्छ, टिममा के गर्दाखेरि सहज हुन्छ त्यसैलाई हामीले अपनाउने हो । योभन्दा अगाडि पनि त्यही भाको हो, टिमकै छलफलबाट यो पद त्यो पद भन्ने नै हामीले डिसिजन गरेको हो । त्यसकारण अब चाहना अपग्रेड हुने हो । योभन्दा माथिल्लो पदमा जाने नै हो । तर भोलिका दिनमा परिस्थितिले कहाँ लान्छ, त्यो त अहिले मैले भन्न सक्दिनँ ।
अब शेरबहादुर दाइ चुनाव नलड्ने भएपछि तपाईंको टिम के हुन्छ ?
हाँस्दै । दाइले जे भन्नुहुन्छ, उहाँकै टिमबाट हामीले निकाल्छौँ नि त नेता ।
ए ! त्यहीँबाट निकाल्नुहुन्छ ?
हाम्रो टिमबाट नेता निकालिहाल्छौँ नि हामी ।
अनि तपाईं तरुण दलको महाधिवेशन निर्देशक समितिको संयोजक पनि हुनुहुन्छ, फेरि अवधि थप्दिनुभएछ है ?
म्याद मैले थप्या हैन । एउटा कुरा बुझ्नुपर्ने के छ भने केन्द्रीय कार्यसमितिले नै त्यसलाई ‘वन’ गरेर अधिवेशन गराउने भनेर पदाधिकारीहरू बसेर यो मितिसम्म हामी जसरी नि गर्ने, कुनै पनि हालतमा हस्तक्षेपकारी भूमिका गरेर भए पनि अधिवेशन गर्ने भनेर पदाधिकारीहरूमा छलफल भएपछि बैठकमा त्यो प्रस्ताव आएको हो । त्यसकारण अब भातृसंस्थाहरूको अधिवेशन गर्नुपर्छ । तरुण दलको सन्दर्भमा सबै भ्रातृसंस्थामा यस्तै भएको हो ।
मुख्य चासो त तरुण दल, नेविसंघ र महिला संघ तीनवटा मात्रै हो नि ?
अरूमा त भइ पनि सक्या छ । अब पाँच–सातवटा बाँकी छ । मेजर तपाईंले भन्नुभएको जस्तै तीनवटामा हो । तरुण दलका सन्दर्भमा हिजो हामीले चैतको मसान्तसम्म नभए स्वतः खारेज हुन्छ, अथवा भंग हुन्छ भन्ने जुन हामीले भन्यौँ त्यो नै गलत थियो । देशभरिका साथीहरूलाई भंग भइहाल्छ, यो चार–पाँच महिनामा कसरी गराउन सक्ला र भनेर हौसला नै नभएको मैले जिल्ला–जिल्लामा जाँदा बुझेँ । कतिपय जिल्लामा चाहिँ अब हामी धेरै लामो समयसम्म बसिसक्यौँ । अब हस्तान्तरण गरेरै जाने हो । हामी एक्जिटै हुने हो भनेर काम गर्नुभएको देखेँ । अधिवेशन गर्न सक्ने प्रशस्त समय छ, केही मान्छेहरू अधिवेशन नहोस् भनेर लाग्ने पनि छन् पार्टीभित्रै । तर, अहिले जिल्ला–जिल्लामा साथीहरू जाग्नुभएको छ । म त क्रमागत मिटिङ सकेको भोलिपल्टदेखि नै यो छलफल र बहसमा लागिरहेको छु बिहानदेखि बेलुकासम्म । हिजो जस्तो काठमाडौंको तरुण दलका सबै क्षेत्रीय सभापति बसेर हामीले छलफल गर्दा उहाँहरू एकदमै तयार हुनुहुन्छ । तर मान्छेहरूले भन्देको छ, अधिवेशन हुँदैन भनेर । उहाँहरूले हामी छिटै नै अधिवेशन सम्पन्न गर्छौं भन्नुभयो । धेरै ठाउँमा हामी छिटो सकाउँछौँ भनेर मिति दिइसक्नुभयो । जुम्ला, धादिङलगायत धेरै ठाउँबाट हामीलाई अधिवेशनको मिति पनि दिइरहनुभएको छ । त्यसकारण तरुण दलमा अधिवेशन हुन्छ र अरूमा पनि यही रफ्तारमा गइरहेको छ भन्ने मैले बुझिरहेको छु ।
भ्रातृसंस्थाहरूको अधिवेशन गराउनुको साटो केन्द्रीय सभापति पार्टीको जो हुन्छ, त्यसले मनोनीत गर्ने सिस्टम बनाए के हुन्छ ?
हामीले चुनावको अभ्यास गर्दै आएका छौँ । पहिलादेखि नै नेपाल विद्यार्थी संघको पञ्चायतकालमा त अधिवेशन भएको छ । हामीले खालि एउटा ट्रयाकमा राख्न नसकेर समस्या भएको हो । तरुण दल त पछि मात्रै भएको हो । बालकृष्ण खाण दाइ हुनुभयो । पहिला थियो, त्यसपछि बीचमा थिएन । यसलाई हामीले रेगुलर गर्ने वातावरण गर्नुपर्छ । पार्टी सभापतिले मनोनीत गर्नेभन्दा फेरि जिल्लामा के हुन्छ ? फेरि जिल्ला सभापतिले गर्ने भन्यो भने त यो संरचना नै हुँदैन, केन्द्रको कमान्डमा हुँदैन, यो छुट्टै संरचना जस्तो देखिँदैन । त्यसमा समस्या नै छ, तपाईंले भनेको नि एउटा जायज नै हो, यो कुरा नउठेको होइन, उठेकै छ, तर अब यसलाई कसरी सिस्टमेटिक बनाउने भन्ने कुरामै अझै हामी गैसकेका छैनौँ । हिजोदेखि नै भइरहेको कारणले यसलाई चाहिँ अधिवेशनै गर्यो भने राम्रो, अझ प्रतिस्पर्धी जुझारु मान्छेहरू आउँछन् कि भन्ने कन्सेप्ट पनि हो अहिलेसम्म । अब हेरौँ के–के हुन्छ ।
केन्द्रीय कार्यसमितिले संविधान संशोधनसम्बन्धी ‘इनिसिएसन’ लिने भन्नेर निर्णय छ, गत वर्षको असार १७ मा भएको सातबुँदे सहमति एक वर्षपछि आएर बल्ल तात्दै हुनुहुन्छ ?
पहिला पनि उठेको छ । संविधान संशोधन संशोधनको विषय दुईतिहाइ बहुमतले गर्नुपर्छ । त्यसकारण अहिले हामीसँग दुईतिहाई बहुमत पनि छैन । छलफल र बहस नगरीकन संविधान संशोधन हुँदैन । नेपाली कांग्रेस पहिलो पार्टी भएको हुनाले अब हामी नै तात्नुपर्छ । विभिन्न राजनीतिक पार्टीसँग संवाद र छलफल गर्ने जिम्मेवारी पनि हाम्रै पार्टीको हो । अरूले गर्न सक्दैनन् । नेपाली कांग्रेसले नै गर्छ भन्ने लागेको छ । पहिलादेखि नै हामी छलफलमा छौँ । यसलाई मेजर एजेन्डा मात्रै नबनाएको हो । यो सरकारले गर्ने काम हो भन्ने कुरामा हाम्रो पनि दृष्टिकोण थियो । सरकारले दलबाट अथवा दुई दल मिलेर नै यसलाई अगाडि बढाउँछ भन्ने थियो । हिजो पनि हामीले स्वामित्व लिइसकेको कुरा हो । अब यसलाई अगाडि बढाउन पार्टीले नै स्वामित्व लिनुपर्छ भनेर त्यो निर्णय गरेको हो ।
अहिले गठबन्धनमा एमाले–कांग्रेसको सम्बन्ध एकदम राम्रो हो ?
राम्रो छ । अब सरकारमा गएका मन्त्रीज्यूहरूलाई काम गर्न अप्ठ्यारो छैन भने राम्रो हो नि !
तर कार्यशैलीबाट तपाईंहरू सन्तुष्ट हो ?
हैन कतिपय कुराहरूमा असन्तुष्टि त होला । तर सरकारले गर्न खोजिरहेको छ, काम गरिरहेको छ । बेला–बेलामा विवादमा आउने कतिपय कुराहरू त्यो नबुझेर आउने स्वभाविकै हो । कसैले राम्रो पनि गर्नुभएको छ । कसैले गर्न नसकेको कुरालाई बाहिर धेरै ‘हाइलाइट’ भएको पनि छ । त्यसकारण अब यो सरकारको गति भनेको यस्तै हो । योभन्दा अगाडि पनि यस्तै थियो । तर अब मेजर कामहरूमा फोकस भयो कि भएन भनेर हामीले मूल्यांकन गर्नुपर्छ । र आमसर्वसाधारणलाई हामीले डेलिभरी दिन सकेको छ कि छैन भन्ने कुरामा चाहिँ सरकार सचेत हुनैपर्छ । सरकारले गरेको कामप्रति जनता सन्तुष्ट किन भएनन् भन्ने प्रश्नचाहिँ मेरो पनि हो ।
कतिपय ठाउँमा काम गर्दागर्दै पनि गलत नतिजा आएका छन् । मन्त्रीहरू व्यक्तिवादी भएको पनि मैलेचाहिँ महसुस गरेँ । हामीले नीतिगत पोलिसी लेभलबाट काम गर्न सक्यौँ भने पब्लिक सिम्प्याथी लिन सक्छौँ । जस्तो अहिले धेरै प्रदेशहरूमा र केन्द्रको बजेटमा पनि वितरण प्रणालीप्रति मानिसहरू साह्रै असन्तुष्ट भएको मैले देखेँ । अब यसलाई हामीले नीतिगत रूपमा ढाल्नैपर्छ । हामीले त्यसलाई मूलधारमा राख्न सकेनौँ । वडा तहलाई कसरी स्ट्रंग बनाउने, वडाबाट कस्ता कार्यक्रम सिफारिस भएर आएका छन्, हामीले सिस्टमेटिक रूपमा वितरण प्रणाली र डेभलपमेन्टको इस्युजहरूलाई छान्न सकेनौँ । को–को व्यक्ति आउँछन्, हजार निवेदन दिन्छन् अनि त्यही निवेदनका आधारमा बजेट वितरण गर्दा नतिजा नआएको हो । किनभने एकजनालाई दिँदा अर्को त असन्तुष्ट भइहाल्छ नि ! त्यसकारण हामीले तलबाटै के विकास निर्माणको आवश्यक छ, जनतालाई कसरी प्रभाव पार्न सकिन्छ भन्ने कुरालाई हामीले समय दिने । जस्तो पहिले गाउँसभा हुन्थ्यो । अहिले पनि छ, पालिका सभा हुन्थ्यो । त्यहाँबाट आएकाहरूलाई इम्पोर्टेन्स के हो भनेर दिनुपर्नेमा अहिले व्यक्तिगत रूपमा बढी गएको कारणले व्यापक असन्तुष्टि बढेको हो ।
त्यसकारण नीतिगत धारणाबाटै सरकार, प्रदेश सरकार, स्थानीय सरकार चल्यो भने केन्द्रदेखि सबै सरकार चल्यो भने त्यो जनतालाई पनि मान्य हुन्छ । तर अब अहिले चाहिँ तपाईंले भन्नुभएझैँ र्यान्डम काम भइरहेको छ । यो र्यान्डम कामप्रति हाम्रो पनि असन्तुष्टि हो ।
अन्तिम प्रश्न, बजारमा के हल्ला छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकपछाडि मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, मन्त्रीहरू फेरिन्छन् ?
खोइ केही पनि आएन । अब कसैले पनि भन्नुभएन मलाई । मैले पनि हल्लै सुनेको तपाईंले जस्तै । पार्टीमा त्यो विषयमा कुरा आएन । पदाधिकारी लेभलमा त कमसेकम केही हिन्ट्स हुन्थ्यो होला । त्यो आको छैन, त्यसकारण यो हल्ला मात्र हो कि जस्तो लाग्यो मलाई ।









Facebook Comments