काठमाडौं । पश्चिम एशियामा बढ्दै गएको युद्ध र भूराजनीतिक तनावको प्रभाव विश्व ऊर्जा बजार हुँदै घरायसी भान्छासम्म देखिन थालेको छ । खाना पकाउने एलपी ग्यासको आपूर्ति अस्थिर हुने आशंका र पेट्रोलियम पदार्थको आपूर्ति मार्ग प्रभावित हुन थालेपछि धेरै मुलुकका उपभोक्ताले वैकल्पिक प्रविधितर्फ ध्यान दिन थालेका छन् । यसको प्रत्यक्ष असर विद्युतीय चुलोको मागमा देखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय इन्डक्सन र इन्फ्रारेड चुलोको बिक्री तीव्र रूपमा बढिरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। केही देशमा त यस्ता चुलोको माग १० गुणासम्म बढेको उल्लेख गरिएको छ।

ad

बजार विश्लेषक संस्था ‘फ्युचर मार्केट इनसाइट्स’का अनुसार सन् २०२५ सम्म इन्डक्सन चुलोको विश्व बजार करिब २३.६ अर्ब अमेरिकी डलरको थियो। आगामी सन् २०३५ सम्ममा यो बजार बढेर करिब ३७ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। त्यस्तै इन्फ्रारेड चुलोको बजार सन् २०३३ सम्म करिब २३३ मिलियन अमेरिकी डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ।

ऊर्जा दक्षता, सुरक्षित प्रविधि, कम ताप उत्सर्जन तथा स्मार्ट किचेन प्रणालीको विस्तारका कारण पनि विद्युतीय चुलोको प्रयोग विश्वभर बढ्दै गएको छ।

तेल र ग्यासको आपूर्ति श्रृंखला प्रभावित भएपछि धेरै देशमा एलपी ग्यासको उपलब्धता अनिश्चित भएको छ। मूल्य बढ्ने सम्भावना र आपूर्ति संकटको आशंकाले गर्दा उपभोक्ताहरूले विद्युतीय चुलोलाई विकल्पका रूपमा प्रयोग गर्न थालेका छन्।

विशेषगरी भारतमा इन्डक्सन चुलोको बिक्री उल्लेखनीय रूपमा बढेको देखिएको छ। केही ई–कमर्स प्लेटफर्ममा त स्टक नै सकिने अवस्था आएको बताइएको छ। खुद्रा बजारमा पनि बिक्री उल्लेखनीय रूपमा वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार भारतमा ग्यास आपूर्ति संकट देखिएपछि घरपरिवार मात्र होइन, रेष्टुरेन्टहरूमा समेत विद्युतीय चुलोको प्रयोग बढेको छ। माग बढेसँगै उत्पादकहरूले उत्पादन क्षमता पनि बढाएका छन्। भारतका केही उत्पादक कम्पनीहरूले उत्पादन क्षमता ७० प्रतिशतबाट बढाएर पूर्ण क्षमतामा पुर्‍याएका छन्।

इन्डक्सन र इन्फ्रारेड चुलोको सबैभन्दा ठूलो उत्पादक मुलुक चीनमा पनि ग्यास आपूर्ति प्रभावित भएपछि यस्ता चुलोको माग उल्लेखनीय रूपमा बढेको छ। जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, थाइल्याण्ड, भियतनाम र इन्डोनेशियालगायतका देशमा पनि पछिल्लो समय विद्युतीय चुलोको प्रयोग दर बढ्दै गएको छ।

माग अत्यधिक बढेपछि विद्युतीय चुलोको मूल्य पनि बढ्न थालेको छ। युद्धअघि करिब ३ हजार ५ सय रुपैयाँमा पाइने सामान्य इन्डक्सन चुलो अहिले करिब ४ हजार ५ सय रुपैयाँसम्म पुगेको छ। मध्यम मोडेलको मूल्य ७ हजारबाट बढेर करिब ९ हजार रुपैयाँ पुगेको छ भने प्रिमियम मोडेलको मूल्य २० हजारबाट बढेर करिब २५ हजार रुपैयाँ पुगेको बताइएको छ।

इन्फ्रारेड चुलोको मूल्य पनि उकालो लागेको छ। ५ हजार रुपैयाँ पर्ने आधारभूत मोडेल करिब ६ हजार ५ सय रुपैयाँसम्म पुगेको छ भने मध्यम मोडेल ९ हजारबाट बढेर करिब १२ हजार रुपैयाँ पुगेको छ। व्यावसायिक प्रयोगका मोडेलको मूल्य पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ।

इन्डक्सन र इन्फ्रारेड चुलो मुख्यतः चीन, जापान, दक्षिण कोरिया, युरोपेली देशहरू र भारतमा उत्पादन हुने गर्छ। चीन विश्वको सबैभन्दा ठूलो उत्पादक हो। त्यसपछि जापान, दक्षिण कोरिया, युरोप र भारत रहेका छन्।

विश्वव्यापी रूपमा दैनिक लाखौं संख्यामा यस्ता चुलो उत्पादन हुने गरे पनि हाल बढ्दो मागका कारण धेरै उद्योगहरूले उत्पादन क्षमता पूर्ण रूपमा प्रयोग गरिरहेका छन्।

इन्डक्सन चुलो ऊर्जा खपत कम गर्ने, छिटो खाना पकाउने र सुरक्षित हुने भएकाले धेरै उपभोक्ताको रोजाइमा पर्छ। तर यसमा विशेष प्रकारका भाँडा प्रयोग गर्नुपर्ने भएकाले थप खर्च लाग्न सक्छ।

इन्फ्रारेड चुलोमा भने सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्छ र प्रयोग गर्न सजिलो हुन्छ। तर ऊर्जा खपत तुलनात्मक रूपमा बढी हुने र सतह धेरै तातो हुने भएकाले केही उपभोक्ताले सावधानी अपनाउनुपर्ने हुन्छ।

नेपालमा पनि ग्यास अभावको समयमा विद्युतीय चुलोप्रति उपभोक्ताको आकर्षण बढ्ने गरेको छ। विशेषगरी २०७२ सालको नाकाबन्दीका बेला इन्डक्सन चुलोको प्रयोग उल्लेखनीय रूपमा बढेको थियो।

पछिल्लो समय ग्यास आपूर्ति अस्थिर बन्दै गएपछि फेरि विद्युतीय चुलोतर्फ उपभोक्ताको चासो बढ्न थालेको देखिन्छ। बजारमा ग्यासका लागि लाइन लाग्ने अवस्था देखिन थालेपछि सरकारले पनि आधा तौलका सिलिण्डर उत्पादन र वितरण गर्ने नीति अघि सारेको छ।

ऊर्जा विज्ञहरूका अनुसार सरकारले विद्युतीय चुलोको आयातमा कर छुट, प्रयोगमा प्रोत्साहन तथा स्थानीय उत्पादनलाई सहयोग गर्ने नीति ल्याउन सके नेपालमा पनि यसको प्रयोग व्यापक हुन सक्छ। यसले ग्यास आयातमा निर्भरता घटाउँदै व्यापार घाटा कम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।