
चिसो हावासँगै चुनावी ताप मिसिएको छ यतिबेला जुम्लामा। सदरमुकाम खलंगाका पसलहरू बिस्तारै खुल्दै गर्दा चिया पसल र चौतारीमा राजनीतिक बहस बाक्लिँदै गएको देखिन्छ। घर–घरमा झण्डा, ब्यानर र चुनाव चिह्न झुन्डिएका छन्। बाहिर हेर्दा एकपक्षीय माहोल जस्तो देखिए पनि भित्रभित्रै प्रतिस्पर्धा कडा हुने संकेत मतदाताका अभिव्यक्तिले दिन थालेका छन्।
चन्दननाथ नगरपालिका–५ स्थित कृष्ण मन्दिर परिसरमा भेटिएका स्थानीयहरू खुलेरै चुनावी अंकगणित गर्न व्यस्त थिए। 'झण्डा धेरै देखिए पनि भोट कहाँ जान्छ भन्ने अन्तिम दिन थाहा हुन्छ,” एक स्थानीय व्यापारीले भने, “निर्णय कांग्रेसका मतले गर्छ।'
त्रिपक्षीय प्रतिस्पर्धा
प्रतिनिधिसभाका लागि जुम्लामा १० उम्मेदवार मैदानमा रहे पनि स्थानीय मतदाताको आकलनमा मुख्य प्रतिस्पर्धा तीन उम्मेदवारबीच सीमित छ— ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही (राप्रपा), दीपबहादुर शाही (नेपाली कांग्रेस) र नरेश भण्डारी (नेकपा) । तारा, रुख र हलो चुनाव चिह्नबीच कडा टक्कर हुने स्थानीयहरूको बुझाइ छ। एमाले समर्थक मतदाता भने सूर्य चिह्नको प्रभाव सीमित रहेको स्वीकार गर्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति युवामा चासो देखिए पनि संगठित उपस्थिति कमजोर देखिन्छ।
‘कांग्रेसको मत नै किङमेकर’
जुम्लाका विभिन्न पालिकामा गरिएको संवादमा एउटै निष्कर्ष दोहोरियो—कांग्रेसले आफ्नो मत जोगायो भने परिणाम उल्टिन सक्छ। कतिपय मतदाताले अघिल्लो निर्वाचनमा कांग्रेसको मत अन्य दलतर्फ सरेको स्मरण गर्दै यसपटक अन्तर्घात रोकिने–नरोकिने नै निर्णायक हुने बताए। “कांग्रेसले भोट सम्हाल्यो भने रुख अगाडि आउँछ, नत्र हलो बलियो हुन्छ,” तातोपानीका एक मतदाताले विश्लेषण गरे।
स्थानीय तहको पछिल्लो परिणाम हेर्दा पनि कांग्रेसको संगठन जुम्लामा कमजोर छैन। धेरै पालिकामा प्रमुख वा उपप्रमुख जितेको तथ्यांकले संघीय निर्वाचनमा उसको भूमिका निर्णायक बन्ने संकेत गर्छ।
ज्ञानेन्द्र शाहीको ‘क्रेज’ र चुनौती
२०७९ को निर्वाचनमा स्वतन्त्र छविका कारण लोकप्रिय बनेका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही ले अप्रत्याशित जित निकालेका थिए। संसदमा जुम्लाका मुद्दा उठाएको भन्दै युवापुस्तामाझ उनको प्रभाव अझै देखिन्छ। 'उसले जुम्लाको आवाज काठमाडौं पुर्यायो,” एक युवा मतदाताले भने, “तर यसपटक समीकरण फरक छ।'
इतिहास हेर्दा जुम्लाबाट लगातार एउटै उम्मेदवार दोहोरिएर विजयी भएको उदाहरण छैन। यसपटक शाहीले त्यो क्रम तोड्ने कि नतोड्ने भन्ने प्रश्न चुनावी बहसको केन्द्रमा छ।
विकासभन्दा प्रतिष्ठाको बहस
स्याउ उत्पादन र तिला नदीको किनारमा आधारित कृषिमा सीमित जुम्लाको विकास एजेन्डा चुनावी भाषणमा गौण जस्तै देखिन्छ। सडक, रोजगारी र युवा पलायन मुख्य समस्या भए पनि मतदाताको ध्यान व्यक्तित्व र दलगत समीकरणतर्फ बढी केन्द्रित छ।
युवाको संख्या गाउँमा घट्दो छ। बाँकी युवामध्ये केहीमा शाहीप्रति आकर्षण, केहीमा वैकल्पिक दलप्रति उत्साह र केहीमा परम्परागत दलप्रतिको निष्ठा देखिन्छ।
मतपेटिकामा लुकेको उत्तर
बाहिरबाट हेर्दा झण्डाको रङ्गले बजार रंगिएको देखिए पनि वास्तविक प्रतिस्पर्धा मतपेटिकाभित्र लुकेको छ। जुम्लामा यसपटकको निर्वाचन त्रिपक्षीय भिडन्तका रूपमा विकसित भएको छ, तर अन्तिम परिणाम कांग्रेस मतदाताको एकतामा निर्भर रहने धेरैको विश्लेषण छ।
२१ फागुन नजिकिँदै गर्दा जुम्लाको चिसो मौसमसँगै चुनावी तापक्रम पनि बढ्दो छ। अब प्रश्न एउटै छ—कांग्रेसले मत जोगाउँछ कि इतिहास दोहोरिन्छ ?










Facebook Comments