काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री राजेन्द्र पाण्डेले प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले सार्वजनिक मञ्च र संसद्मार्फत नियमित रूपमा आफ्नो धारणा राख्नुपर्ने बताएका छन्। प्रधानमन्त्री केवल व्यक्ति नभई राष्ट्रको प्रतिनिधि र अन्तर्राष्ट्रिय समुदायका लागि देशको प्रतिबिम्ब हुने भएकाले देशको अवस्था, सरकारको सोच र आगामी दिशा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।

पाण्डेका अनुसार मुलुकको अर्थतन्त्र, जनजीविकाका समस्या तथा सरकारले अघि बढाउन खोजेका नीति र योजनाबारे प्रधानमन्त्री स्वयंले नागरिकलाई जानकारी गराउनु आवश्यक छ। उनले बलियो जनमतसहित नेतृत्वमा पुगेका प्रधानमन्त्रीले मौन बस्ने प्रवृत्तिले सकारात्मक सन्देश नदिने उल्लेख गरे।

ad

“देशको प्रधानमन्त्री संसद्मा नबोल्ने, गणतन्त्र दिवसजस्ता राष्ट्रिय कार्यक्रममा पनि मौन रहने कुरा उपयुक्त होइन,” उनले भने, “किन टाढा बस्ने, किन नबोल्ने भन्ने प्रश्न उठ्छ।”

‘कम बोल्ने तर काम गर्ने प्रधानमन्त्री’ भन्ने धारणा अत्यधिक प्रचार गरिएको भन्दै पाण्डेले त्यसलाई नाटकीय राजनीतिक शैलीको संज्ञा दिए। जनताले निर्वाचित नेतृत्वबाट स्पष्ट अभिव्यक्ति र प्रत्यक्ष संवाद अपेक्षा गर्ने उनको तर्क छ। प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो दृष्टिकोण राख्न नसक्दा अन्ततः राष्ट्रकै हितमा असर पर्न सक्ने उनले बताए।

उनले थपे, “आज जनताले एक दल वा व्यक्तिलाई नेतृत्वमा पुर्‍याउँछन्, भोलि अर्को शक्तिलाई अवसर दिन सक्छन्। तर राष्ट्रको हित कमजोर हुनु हुँदैन।”

यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहँदा पनि बालेन साहले गणतन्त्र दिवसका औपचारिक समारोहमा दूरी कायम गर्दै आएका थिए। यही सन्दर्भमा आगामी जेठ १५ गते आयोजना हुने गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्री साहले सम्बोधन नगर्ने जानकारी सार्वजनिक भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति कार्यालय शीतलनिवासलाई पत्र पठाउँदै समारोहमा राष्ट्रपतिबाट मात्रै सम्बोधन गराउने व्यवस्था मिलाउन आग्रह गरेको बताइएको छ। 

गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपतिको संस्था भएकाले राष्ट्रपतिले नै औपचारिक सम्बोधन गर्नु उपयुक्त हुने तर्क सरकारको रहेको जनाइएको छ।