
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई गति दिन ७ वटै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाएको छ ।
कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका सभापति प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले केन्द्रीय नेतालाई देशका ७ वटै प्रदेशमा खटाउने निर्णय गरेको हो। बैठकमा कांग्रेस सभापति गगन थापा पनि सहभागी थिए।
कांग्रेसले कोसीमा डा. डिला संग्रौला, मधेसमा पार्टीका प्रवक्ता समेत रहेका देवराज चालिसे, बागमतीमा बहादुरसिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिममा उदयशमशेर राणालाई खटाएको छ।
उनीहरूलाई विशेष जिम्मेवारीसहित प्रदेशमा खटाइएको कांग्रेसका कार्यवाहक कार्यालय सचिव कृष्णप्रसाद दुललाले जनाएका छन्।
यस्तै बैठकले विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएका व्यक्तिहरूका हकमा सदस्यताबारे समस्या समाधान गर्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिको तर्फबाट १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
जस अनुसार गोपाल दहितलाई बारा, आङ्गेलु शेर्पालाई सिराहा, अब्दुल सत्तारलाई धनुषा, राजीव ढुंगानालाई सप्तरी, कुसुम थापालाई सोलुखुम्बु, देवप्रसाद तिमिल्सिनालाई सर्लाही, तिलक रानाभाटलाई सुर्खेत, प्रमोदहरि गुरागाईँलाई महोत्तरी, टेकराज पौडेललाई कपिलवस्तु, जगदीश नरसिंह केसीलाई सुनसरी, कमलकिशोर घिमिरेलाई रौतहट, कृष्ण रिजाललाई पर्सा, ईश्वर अधिकारीलाई काठमाडौंमा खटाइएको छ।
कांग्रेस जनसम्पर्क समितिको हकमा अधिवेशन सम्पन्न भइसकेका ७ देशको जनसम्पर्क समितिबारे क्रियाशील अद्यावधिक प्रक्रियाका लागि अनुमति दिने निर्णय गरेको छ ।
क्रियाशील सदस्यताबारे समस्या नदेखिएका १५ देशका जनसम्पर्क समितिका हकमा क्रियाशील सदस्यता अद्यावधिक गरी अधिवेशन सम्पन्न गर्ने समय तालिका केन्द्रीय कार्यालयमा पेस गर्न परिपत्र गर्ने निर्णय भएको हो।
बैठकले १४ औं महाधिवेशन पश्चात विविध कारणले केन्द्रीय कार्यालयसँग कम सम्पर्क भएका ७ देशका जनसम्पर्क समितिको हकमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न परिपत्र गर्ने निर्णय पनि गरेको छ ।
क्रियाशील सदस्यताबारे समस्या भएका ८ देशका जनसम्पर्क समितिका हकमा अध्ययन गरी समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि भएको छ।










Facebook Comments