काठमाडौँ । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान जारी छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७  सिट (सदस्य) रिक्त हुँदैछ ।

यसका लागि  बिहान ९ः०० बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिए। रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि आज निर्वाचन हुनलागेको हो । कोशी प्रदेशका खस आर्यतर्पmका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको थियो । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएको मतदानस्थल तथा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

ad

कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान सुरु भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान सुरु भएको उनले जानकारी दिए । 

जसमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् । नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध भएका थिए । यता एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रियसभामा १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस ९ र एमालेले ८ सिटमा भागवण्डा गरी उम्मेदवार उठाएका छन् । बाँकी एउटा पदमा लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरलाई कांग्रेस र एमालेका समर्थन छ । कांग्रेस र एमालेले भागवण्डा गरेका कारण सबै सिटमा उनीहरुकै उम्मेदवार विजयी हुने लगभग निश्चित छ । भागवण्डा अनुसार कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन् । मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन् । बागमती प्रदेशमा कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेम दंगाल उम्मेदवार छन् भने गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट र सम्झना देवकोटा उम्मेदवार रहेका छन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, एमालेबाट रामकुमारी झाक्री उम्मेदवार छन् ।

कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार छन् ।नेपाली कम्युनिस्ट पार्टीले भने सबै प्रदेशमा एकल उम्मेदवारी दिएको छ ।
फागुन २० मा पदावधि सकिने सांसदमा सबैभन्दा बढी नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ७ जना, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाका एक–एक जना रहेका छन् । त्यस्तै एक जना मनोनीत सांसद छन् ।
पदावधि सकिने एमालेका सांसदमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी छन् भने माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेका छन् । एकीकृत समाजवादीका डा. बेदुराम भुसाल र बामदेव गौतमको कार्यकाल सकिँदैछ । गौतम राष्ट्रपतिबाट मनोनित सांसद भए पनि हाल उनी एकिकृत समाजवादी हुँदै नेकपामा आवद्ध छन् । त्यस्तै जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोसपाका शेखरकुमार सिंहको पदावधि सकिदैछ ।

राष्ट्रियसभामा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख÷ उपप्रमुख भएको निर्वाचन मण्डलको मतभारका आधारमा निर्वाचित हुने व्यवस्था छ । प्रदेशसभाका सदस्य र पालिकाका प्रमुख÷उपप्रमुखको मतभार अलग–अलग हुन्छ । मतभार जनसंख्याका आधारमा निकालिन्छ । आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेशसभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख÷उपप्रमुखहरूको मतभार १९ तोकेको छ । यसअघि प्रदेशसभाको ४८ र पालिकाको मतभार १८ थियो ।

कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई हजारले भाग गर्दा निस्कने अंक नै मतभार हो । जस्तो, राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ । यसलाई सातवटै प्रदेशका कुल प्रदेश सांसद ५५० ले भाग गर्दा ५३,०२७ योगफल हुन्छ । यसलाई हजारले भाग गर्दा ५३ हुन आउँछ । यो संख्या नै प्रदेश सांसदको मतभार हो । त्यस्तै कुल ७५३ पालिकामा प्रमुख÷उपप्रमुख गरेर १५०६ मतदाता हुन्छन् । यसले कुल जनसंख्यालाई भाग गर्दा १९,३६६ हुन आउँछ । यसलाई हजारले भाग गर्दा १९ हुन आउँछ र यो नै पालिकाका प्रमुख÷उपप्रमुखको मतभार हो । 

 

बागमती प्रदेशमा १ सय १० सदस्यीय प्रदेश सभा छ भने १ सय १९ स्थानीय तह छन् । स्थानीय तहका २ सय ३८ प्रमुख उपप्रमुख तथा १ सय १० प्रदेश सांसद गरी ३ सय ४८ मतदाता रहेका छन् । यो प्रदेशमा कांग्रेस ३७ सिटसहित कांग्रेस बलियो अवस्थामा छ भने एमालेको २७, माओवादीका २१, एकीकृत समाजवादीको ७, राप्रपा १३, नेमकिपाको ३, हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् ।

स्थानीय तहतर्फ कांग्रेसका १ सय ८, एमालेका ६०, माओवादीका ५७ प्रमुख÷उपप्रमुख छन्। यो प्रदेशमा पनि कांग्रेस बलियो छ । 
यस्तै गण्डकी प्रदेशसभा ६० सदस्यीय प्रदेशसभामा कांग्रेस २७, एमालेका २२, माओवादी केन्द्रको ७, एकीकृत समाजवादी र राप्रपाको १÷१ प्रदेश सांसद छन् । यो प्रदेशमा ८५ स्थानीय तहको पालिका प्रमुख र उपप्रमुख गरेर १ सय ७० जना मतदाता हुन्छन् । जसमा कांग्रेसका ६७ एमालेका ६८ जना छन भने माओवादी केन्द्रका ३० जना छन् । यो प्रदेशमा पनि कांग्रेस अगाडि छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा छ भने १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ गरी कुल ३ सय ५ मतदाता छन । प्रदेशसभामा २९ सांसदसहित एमाले सबैभन्दा ठूलो दल छ । यो प्रदेशमा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ९, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४÷४ जना, जनमत पार्टी, जसपा र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र ३ जना स्वतन्त्र सांसद रहेका छन् ।
यस्तै कर्णाली प्रदेशमा ४० सदस्यीय प्रदेशसभा र ७९ स्थानीय तह रहेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ५८ र प्रदेशसभाका ४० सदस्य गरी १ सय ९८ मतदाता रहेका छन्।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्र र कांग्रेसका १४÷१४ सांसद छन् । एमालेका ९, एकीकृत समाजवादीका, राप्रपा र स्वतन्त्रका १÷१ सांसद छन् । यसैगरी स्थानीय तहमा कांग्रेसका ३२ प्रमुख र २७ उपप्रमुख छन् भने पालिका प्रमुख र उपप्रमुखमा गरी एमालेका ३५ र माओवादी केन्द्रका ४८ जना छन् ।

मधेस प्रदेशको प्रदेशसभामा १ सय ७ सदस्यीय छ भने १ सय ३६ स्थानीय तह छन् । १ सय ३६ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २ सय ७२ मतदाता हुन्छ। प्रदेशसभामा एमालेका २३, कांग्रेसका २२, जसपाका १५, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९, माओवादीका ८, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १÷१ प्रदेश सांसद छन्। ६ जना स्वतन्त्र प्रदेशसभा सदस्य पनि छन् ।

 
कोशी प्रदेश सभाको ९३ सिटमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेश सांसद छन् । कोशी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो । यो प्रदेशमा १ सय ३७ स्थानीय तह छन् । जसमा स्थानीय तहका प्रमुख र प्रमुख गरेर २ सय ७४ र प्रदेशसभा सदस्य ९३ गरी ३ सय ६७ मतदाता रहेका छन् । 
पालिका प्रमुख ४७ र उपप्रमुख ६३ गरेर एमालेका १ सय १० जना छन ्। कांग्रेसका प्रमुख ६९ र उपप्रमुख ४६ गरेर १ सय १५ तथा माओवादी केन्द्रको प्रमुख १२ र उपप्रमुख १९ गरेर ३१ जना छन्। स्थानीय तहमा कांग्रेसका धेरै मतदाता छन् ।  
सुदूरपश्चिममा प्रदेशसभा ५३ सदस्यीय छ । ८८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख पनि मतदाता हुनेछन् । प्रदेशसभामा कांग्रेस १९ सिटसहित ठूलो दल छ । माओवादी केन्द्र ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र राप्रपा र स्वतन्त्र १÷१ जना प्रदेशसभा सदस्य छन्। स्थानीय तहतर्फ कांग्रेसको प्रमुख ४० र ४६ उपप्रमुख छ भने एमालेले प्रमुख र उपप्रमुख गरेर ५०, माओवादी केन्द्रको २४ रहेको छ ।