राम सुन्दर बके 

नेपालको पर्यटन क्षेत्रमा पछिल्लो समय एउटा गम्भीर बहस सतहमा आएको छ । मानव–जनावर सम्बन्धको लामो इतिहास बोकेको हात्ती र त्यससँग गाँसिएको जंगल सफारी, हात्ती महोत्सव तथा पर्यटन अभ्यासमाथि विभिन्न पशु अधिकारकर्मी समूहहरूले प्रश्न उठाइरहेका छन् । उनीहरूको आवाजसँगै नेपालको पर्यटन पहिचानकै रूपमा विकसित हुँदै आएको हात्ती पर्यटन विस्थापित हुने खतरा देखिन थालेको छ । यही सन्दर्भमा इतिहास, संस्कृति, पर्यटन, रोजगारी र वातावरणीय सन्तुलनको दृष्टिले हात्तीको भूमिकालाई पुनः मूल्याङ्कन गर्नु आजको आवश्यकता बनेको छ ।

ad

मानव–हात्ती सम्बन्ध : सभ्यतासँग गाँसिएको इतिहास

मानव र हात्तीको सम्बन्ध कुनै नयाँ प्रयोग होइन । यो सम्बन्ध हजारौँ वर्ष पुरानो सभ्यतासँग गाँसिएको छ । हिन्दू सभ्यतामा देवताहरूका राजा इन्द्रको वाहन हात्ती हो । प्राचीन राज्य व्यवस्थामा हात्ती शक्ति, वैभव र समृद्धिको प्रतीक थियो । राजा–महाराजाहरूको सवारी, युद्धको अग्रपंक्ति र राज्यको सम्मानजनक उपहारका रूपमा हात्ती प्रयोग हुन्थ्यो । आज पनि कतिपय देशमा एक देशले अर्को देशलाई हात्ती उपहार दिने परम्परा जीवित छ, जसले हात्तीलाई मित्रता, सम्मान र कूटनीतिक सद्भावको प्रतीकका रूपमा स्थापित गरेको देखाउँछ ।

चितवन–सौराहा र हात्ती पर्यटन

नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा क्षेत्रलाई जीवन्त बनाउने मुख्य आधार नै हात्ती हो । सौराहा पुग्ने अधिकांश पर्यटकको मानसपटलमा हात्ती चढेर जंगल सफारी गर्ने अनुभव गहिरो रूपमा बसेको हुन्छ । ‘हात्ती सफारी’ नेपालकै अन्तर्राष्ट्रिय पर्यटन पहिचान बनेको छ । यही पहिचानलाई विदेशी दृष्टिकोण र केही अधिकारवादी अभियानका नाममा विस्थापित गर्न खोजिएको आरोप पर्यटन व्यवसायीहरूले लगाउँदै आएका छन् ।

हात्ती पाल्ने परम्परा र यसको यथार्थ

इतिहासमा फर्केर हेर्दा आधुनिक यातायात नहुँदा जंगल र दुर्गम बाटो पार गर्न हात्ती सबैभन्दा सुरक्षित सवारी मानिन्थ्यो । हात्ती पाल्नु साधारण कुरा थिएन । एउटा हात्तीको हेरचाहका लागि कम्तीमा तीन जना आवश्यक पर्थे । दैनिक १५० देखि २०० किलोसम्म घाँस, सखर, नुनलगायत आहार चाहिन्थ्यो । यही कारण हात्ती पहाडमा होइन, मुख्यतः तराईका भूभागमा पाल्ने चलन विकसित भयो ।

मानव–हात्ती सम्बन्ध कसरी सुरु भयो भन्ने विषयमा विभिन्न मान्यता छन् । कतिपयले भारी बोक्ने, यात्रामा सुरक्षा दिने आवश्यकताबाट जंगली हात्तीका बच्चा पालेको हुन सक्ने अनुमान गर्छन् । बाघबाट घाइते भएका बच्चा बचाएर पालेको कथा पनि सुनिन्छ । चेतनाको विकाससँगै हात्तीलाई उपयोगिताका आधारमा मानव जीवनसँग जोडिएको प्राणीका रूपमा स्वीकार गरियो । मानिसपछि सबैभन्दा बुद्धिमान प्राणीका रूपमा डल्फिनसँगै हात्तीलाई लिने गरिन्छ । मानिसको बोली, संकेत र भावना बुझ्ने अद्भुत क्षमता हात्तीमा देखिन्छ ।

पुरातात्विक र सांस्कृतिक प्रमाण

पुरातात्विक प्रमाणअनुसार मानव–हात्ती सम्बन्ध कम्तीमा ४ हजारदेखि ५ हजार वर्ष पुरानो छ । दक्षिण एसिया, नेपाल, भारत र दक्षिण–पूर्वी एसियाका सभ्यतामा हात्तीका चित्र, मूर्ति र लेख भेटिन्छन् । हिन्दू मन्दिरहरूमा हात्तीका मूर्ति सुरक्षाको प्रतीकका रूपमा राखिन्छन् । भक्तपुरको पाँचतले मन्दिर परिसरमा मानव मूर्तिभन्दा दस गुणा शक्तिशाली जनावरका रूपमा हात्तीको मूर्ति राखिएको उदाहरणले धार्मिक र सांस्कृतिक संरचनामा हात्तीको उच्च स्थान पुष्टि गर्छ ।

महाभारत र हात्तीको निर्णायक भूमिका

मानव–हात्ती सम्बन्ध धार्मिक र ऐतिहासिक रूपमा कति गहिरो छ भन्ने बुझ्न महाभारतको एक प्रसंग पर्याप्त छ । अस्वत्थामाको मृत्यु घोषणा र त्यससँग जोडिएको हात्तीको कथा केवल युद्ध रणनीति मात्र होइन, सत्य, धर्म र नैतिकताको गहिरो द्वन्द्व हो । अस्वत्थामा नाम मानिस र हात्ती दुवैसँग जोडिनु, भीमसेनद्वारा हात्ती अस्वत्थामाको वध, युधिष्ठिरको धर्मसंकट र द्रोणाचार्यको युद्ध त्याग—यी सबै घटनाले युद्धको दिशा मोडिदियो । यस प्रसंगमा हात्ती केवल जनावर रहेन, युद्धको निर्णायक शक्ति बन्यो ।

हात्ती पर्यटन : रोजगारी र अर्थतन्त्र

आजको दिनमा राज्यबाहेक कसैले सहजै हात्ती पाल्न सक्दैन । नेपालमा हाल करिब १७७ वटा हात्ती छन् । तीमध्ये ५३–५५ वटा सरकारी स्वामित्वमा छन् भने बाँकी १०० भन्दा बढी निजी क्षेत्रसँग छन् । यी हात्तीहरू मुख्यतः जंगल सफारी र पर्यटन प्रयोजनमा प्रयोग हुन्छन् । एउटा हात्तीले प्रत्यक्ष रूपमा कम्तीमा तीन जनालाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा अझ धेरैलाई । एउटा हात्तीको बजार मूल्य ८० लाखदेखि डेढ करोड रुपैयाँसम्म पर्छ । यसरी हेर्दा हात्ती पर्यटनसँग जोडिएको पूँजी एक अर्ब रुपैयाँभन्दा बढीको छ ।

वातावरणमैत्री अभ्यास

हात्ती सफारीलाई वातावरणमैत्री पर्यटन अभ्यासका रूपमा लिइन्छ । जीप सफारीले धुवाँ, ध्वनि प्रदूषण र जंगलमा प्रत्यक्ष क्षति पुर्‍याउँछ । तर हात्ती सफारीले प्रकृतिलाई हानी गर्दैन । हात्तीको मलमूत्रबाट किरा–फट्याङ्ग्रा जन्मन्छन्, चराहरूले आहार पाउँछन् र वनस्पतिले मल पाउँछ । यसरी प्राकृतिक चक्र सन्तुलित रहन्छ ।

संस्कृति, उत्सव र पहिचान

नेपालमा मात्र हुने हात्ती महोत्सव, हात्ती फुटबल र पोलो खेल विश्वप्रसिद्ध छन् । यी केवल मनोरञ्जन होइनन्, नेपाली संस्कृति, थारू समुदायको पहिचान र तराईको ऐतिहासिक गरिमासँग जोडिएका पर्व हुन् । सौराहाको हात्ती सफारी नेपाली र विदेशी पर्यटकको स्मृतिमा गहिरो रूपमा बसेको छ । यदि हात्ती सफारी हटाइयो भने सौराहाको पर्यटनमा अपूरणीय क्षति पुग्ने निश्चित छ ।

निष्कर्ष : भावनाभन्दा तथ्यमा आधारित बहस

आजको आवश्यकता भावनामा बग्ने होइन, तथ्य र इतिहासमा आधारित बहसको हो । हात्ती संस्कृति जोगाउनु भनेको केवल एउटा व्यवसाय जोगाउनु मात्र होइन । यो नेपालको पर्यटन, रोजगारी, वातावरणीय सन्तुलन र सांस्कृतिक पहिचान जोगाउने सवाल हो । हात्तीमाथि गलत दृष्टि पर्न नदिऔँ । ‘हात्ती संस्कृति बचाऔँ’ आजको साझा आवश्यकता हो ।

(बके पर्यटन व्यवसायी हुन्)