काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले नेता शेखर कोइरालाको महाधिवेशनसम्बन्धी प्रस्तावलाई केन्द्रीय कार्यसमिति बैठकमा बेवास्ता गरिएको बताएका छन्।

बुधबार सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकमा धारणा राख्दै पोखरेलले नियमित महाधिवेशनको आवश्यकता सबैले महसुस गरे पनि शेखरले उठाएको विषयलाई पर्याप्त ध्यान नदिइएको बताए।

ad

उनका अनुसार, कोइरालाले २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्छ भन्ने अडान लिँदा सभापतिसँग समेत नोकझोक भएको थियो। तर, अन्य नेताहरूले उनलाई साथ नदिँदा शेखर ‘एक्लो बृहस्पति’ बनेको पोखरेलको टिप्पणी थियो।

पोखरेलले भने, ‘केही उत्साहित साथीहरू र अग्रज नेताहरूले विशेष महाधिवेशनको माग गर्दै अभियान चलाइरहनुभएको छ। तर पार्टी कार्यालयमा हाल करिब ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षरसहित नियमित महाधिवेशनको तयारी वैधानिक रूपमा दर्ता भइसकेको छ।’

उनले महामन्त्री गगनकुमार थापाको प्रस्तावले सबैलाई एउटै विन्दुमा ल्याउने विश्वास व्यक्त गर्दै भने, ‘एकपटक गल्ती भए पनि अब गगनको कार्यतालिकाले पार्टीका नेताहरूलाई एउटै ठाउँमा उभ्याउने देखिन्छ।’

पोखरेलका अनुसार, जेनजी आन्दोलनले देशको राजनीति नयाँ दिशातर्फ मोडेको छ तर यही आन्दोलनकै प्रभावले धेरै नेताहरूले महाधिवेशन सार्ने मनोविज्ञान बनाएको पनि बताए।

उनले पार्टीभित्र अब मतभेद होइन, महाधिवेशनमार्फत एकता र विश्वासको पुनःस्थापना गर्नुपर्ने आवश्यकता औँल्याए।