काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनको मितिलाई लिएर नेताहरूबीच अझै सहमति जुट्न सकेको छैन। बुधबार सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकमा नेताहरूले आ–आफ्नो अडान कायमै राखेपछि छलफल लम्बिएको हो।

बैठकमा संस्थापन पक्षका नेताहरूले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन् भने संस्थापनइतर समूहले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान दोहोर्याएका छन्।

ad

केही केन्द्रीय सदस्यहरूले भने विवाद समाधानका लागि विशेष महाधिवेशन बोलाएर पार्टीलाई एक ढिक्का बनाउने विकल्पसमेत अघि सारेका छन्।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा महाधिवेशन मितिसम्बन्धी एउटै प्रस्ताव पारित गर्ने सहमतिको प्रयास जारी छ। उनले भने, 'छलफल जारी छ। सहमति जुटेपछि एउटै प्रस्तावमा टुंग्याउने हाम्रो प्रयास हो।'

यसअघि मंगलबारको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग–अलग कार्यतालिका प्रस्तुत गरेका थिए। बुधबारको बैठकमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, जीवनबहादुर शाही, पद्मनारायण चौधरी, सुरेन्द्रराज पाण्डे र शंकर भण्डारी लगायतले आ–आफ्नो धारणा राखेका थिए।

पार्टी कार्यालयका अनुसार बैठक भोलि बिहीबार बिहान ११ः३० बजे पुनः बस्नेछ। महाधिवेशन मिति टुंगो लागेपछि कांग्रेसले संगठन विस्तारदेखि उम्मेदवार छनोटसम्मको तयारी गति दिने अपेक्षा गरिएको छ।